एफिसी 1:1-23 NNRV2012 - Bible AI

1परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावलबाट, ख्रीष्‍ट येशूमा विश्‍वासी एफिससमा भएका सन्‍तहरूलाई:

2हाम्रा परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।

3हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ।

4उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो।

5उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो,

6यस हेतुले कि उहाँले हामीलाई आफ्‍ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्‍नो महिमामय अनुग्रहको प्रशंसा होस्‌।

7उहाँको अपार अनुग्रहअनुसार ख्रीष्‍टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं,

8जुन अनुग्रह उहाँले हामीलाई प्रशस्‍त मात्रामा दिनुभयो।

9किनकि सम्‍पूर्ण बुद्धि र आन्‍तरिक समझमा ख्रीष्‍टमा राख्‍नुभएको उद्देश्‍यअनुसार उहाँले आफ्‍नो इच्‍छाको रहस्‍य हामीलाई जान्‍न दिनुभएको छ,

10ताकि समय पूरा भएपछि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनमा आऊन्‌।

11उहाँमा, जसले सबै कुरा आफ्‍नो इच्‍छाको योजनाअनुसार पूरा गर्नुहुन्‍छ, आफ्‍नो अभिप्रायअनुसार

12हामी ख्रीष्‍टमा पहिलेदेखि आशा राख्‍नेहरूलाई उहाँले आफ्‍नो महिमाको प्रशंसाको निम्‍ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्‍नुभएको छ।

13तिमीहरू, जसले सत्‍यको वचन, अर्थात्‌ आफ्‍नो मुक्तिको सुसमाचार सुन्‍यौ, र उहाँमा विश्‍वास गर्‍यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्‍माको छाप लगाइएको थियो।

14परमेश्‍वरको आफ्‍नो सम्‍पत्ति, अर्थात्‌ हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्‍म उहाँका महिमाको प्रशंसाको निम्‍ति पवित्र आत्‍मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्‍छ।

15प्रभु येशूप्रति रहेको तिमीहरूको विश्‍वास र सबै सन्‍तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै,

16मेरो प्रार्थनामा तिमीहरूलाई सम्‍झना गर्दै तिमीहरूका निम्‍ति धन्‍यवाद दिन म थामिन्‍नँ।

17म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन्‌।

18म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक।

19अनि हामी विश्‍वास गर्नेहरूका निम्‍ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्‍न सक। त्‍यो शक्ति उहाँको महान्‌ सामर्थ्‍यको काम नै हो,

20जो उहाँले ख्रीष्‍टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्‍टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा आफ्‍नै दाहिने बाहुलीपट्टि बसाल्‍नुभयो।

21सबै शासन, र अधिकार, र शक्ति र राज्‍यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबैमाथि उहाँलाई राख्‍नुभयो,

22र परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्‍डलीको [1] निम्‍ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो,

23जुन मण्‍डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्‍छ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>