1यसैकारण म पावल, तिमी अन्यजातिहरूका पक्षमा ख्रीष्ट येशूको कैदी—
2तिमीहरूका निम्ति मलाई सुम्पिएको परमेश्वरका अनुग्रहको जिम्मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्ने मलाई लागेको छ।
3जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ।
4जब तिमीहरू यो पढ्छौ, ख्रीष्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ, सो तिमीहरू बुझ्न सक्छौ।
5जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ, त्यो अरू पुस्ताका मानिसहरूलाई जनाइएको थिएन,
6अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्।
7उहाँका शक्तिको कार्यअनुसार मलाई दिइएका परमेश्वरको त्यस अनुग्रहको वरदानबमोजिम यस सुसमाचारको म सेवक बनाइएको थिएँ।
8सबै सन्तहरूमा म अत्यन्त तुच्छ भए तापनि ख्रीष्टको अगम्य सम्पत्तिको सुसमाचार अन्यजातिहरूलाई प्रचार गरूँ भनेर मलाई यो अनुग्रह दिइयो।
9सबै कुरा सृजनुहुने परमेश्वरमा युग-युगदेखि लुप्त रहेका रहस्यको योजना के हो, सो सबै मानिसलाई खुलस्त गराउने अनुग्रह मलाई दिइयो,
10ताकि यसरी मण्डलीद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरिओस्।
11योचाहिँ ख्रीष्ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्त उद्देश्यअनुसार थियो।
12उहाँमाथि राखिएको हाम्रो विश्वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्वरमा प्रवेश पाउँछौं।
13यसैकारण म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूका निम्ति मैले भोगिरहेको कष्टमा तिमीहरू हताश नहोओ। यी तिमीहरूका गौरव हुन्।
14यसैकारण म पिताको सामने आफ्ना घुँड़ा टेक्तछु,
15जसद्वारा स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ।
16म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्पत्तिअनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारून्,
17र विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर,
18सबै सन्तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक,
19र ज्ञानलाई माथ गर्ने ख्रीष्टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।
20उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ,
21उहाँलाई नै पुस्ता-पुस्तासम्म मण्डली र ख्रीष्ट येशूमा सदासर्वदा महिमा होस्। आमेन।