कलस्सी 4:1-18 NNRV2012 - Bible AI

1मालिक हो, तिमीहरूका पनि स्‍वर्गमा मालिक हुनुहुन्‍छ भन्‍ने जानेर आफ्‍ना कमाराहरूसँग न्‍यायसङ्गत र उचित व्‍यवहार गर।

2सतर्क भएर धन्‍यवादसहित स्‍थिर भई प्रार्थनामा लागिरहो।

3हाम्रा निम्‍ति पनि प्रार्थना गर, ताकि ख्रीष्‍टको त्‍यो रहस्‍य प्रचार गर्नलाई परमेश्‍वरले हामीलाई वचनको निम्‍ति एउटा ढोका खोलिदेऊन्, जसको निम्‍ति म थुनामा परेको छु,

4र मैले बोल्‍नुपर्ने वचन खुलस्‍त पार्न सकूँ।

5समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्‍यवहार गर।

6नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।

7मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्‍वासी धर्म-सेवक र प्रभुमा सङ्गी-दास तुखिकसले तिमीहरूलाई भन्‍नेछन्‌।

8यस अभिप्रायले नै मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ, कि तिमीहरूले हाम्रो विषयमा थाहा पाओ, र तिनले तिमीहरूका हृदयलाई प्रोत्‍साहित तुल्‍याऊन्‌।

9तिनीसँग ओनेसिमस आउँदैछन्, जो तिमीहरूमध्‍येका एक जना हुन्, र तिनी हाम्रा विश्‍वासी र प्रिय भाइ हुन्‌। यहाँको सबै हालखबर तिनीहरूले तिमीहरूलाई बताउनेछन्‌।

10मेरा सङ्गी-कैदी, अरिस्‍तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। बारनाबासको भानिज मर्कूसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ— तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्‍वागत गर।

11युस्‍तस नाउँ भएका येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌। परमेश्‍वरका राज्‍यको निम्‍ति मेरा सहकर्मीहरूमध्‍ये यहूदी विश्‍वासीहरू यिनीहरू मात्र हुन्‌। यिनीहरूद्वारा मलाई सान्‍त्‍वना मिलेको छ।

12तिमीहरूमध्‍येका एक जना ख्रीष्‍ट येशूका दास इपाफ्रासले पनि अभिवादन पठाएका छन्‌। तिनले आफ्‍ना प्रार्थनामा परिश्रमसाथ सधैँ तिमीहरूलाई स्‍मरण गर्छन्, ताकि तिमीहरू परिपक्‍व होओ, र परमेश्‍वरका सारा इच्‍छामा सम्‍पूर्ण रूपले निर्धक्‍क भई बस्‍न सक।

13किनकि म तिनको निम्‍ति गवाही दिन्‍छु, कि तिमीहरू र लाउडिकिया र हिरापोलिसमा हुनेहरूका निम्‍ति तिनले घोर परिश्रम गरेका छन्‌।

14प्रिय वैद्य लूका र डेमासले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

15लाउडिकियाका भाइहरू र नुम्‍फास र तिनका घरमा भएका मण्‍डलीलाई मेरो अभिवादन देओ।

16तिमीहरूका बीचमा यो पत्र पढ़िएपछि लाउडिकियाका मण्‍डलीमा पनि यो पढ्‌न लगाओ, र लाउडिकियाको चिट्ठी पनि तिमीहरूले पढ़।

17“तिमीले प्रभुबाट पाएका सेवाको काम पूरा गर” भनी अर्खिप्‍पसलाई भनिदेओ।

18म पावल, यो अभिवादनचाहिँ आफ्‍नै हातले लेख्‍दैछु। मेरा साङ्‌लाहरूलाई याद राख। तिमीहरूसँग अनुग्रह रहोस्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>