1त्यस रात सारा समुदाय कराई-कराई रोए।
2सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्रदेशमा नै मरेका भए असल हुनेथियो, अथवा यस उजाड़-स्थानमा मरेका भए पनि हुन्थ्यो।
3किन परमेश्वरले हामीलाई तरवारले मर्नलाई यस ठाउँमा ल्याउनुहुँदैछ? हाम्रा जहान र बालबच्चा लूट स्वरूप पक्रिनेछन्। अब मिश्रदेशमा नै फर्कन हामीलाई उचित होइन र?”
4अनि तिनीहरूले आपसमा भने, “हामी एउटा अगुवा चुनेर मिश्रदेश फर्कौं।”
5तब मोशा र हारून इस्राएलीका सारा समुदायका सामुन्ने घोप्टो परे।
6देशको भेद लिन गएकाहरूमध्येका नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आ-आफ्ना लुगा च्याते,
7र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्यन्तै असल देश छ।
8यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने, उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ, र त्यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ।
9केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। र त्यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्छ। उनीहरूसित नडराओ।”
10तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्नुपर्छ भनी मतो गरे। त्यस बेला परमप्रभुको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्यो।
11अनि परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले मलाई कतिसम्म तिरस्कार गरिरहनेछन्? यिनीहरूका बीचमा मैले गरेका चिन्हहरू देखेर पनि यिनीहरूले कतिसम्म ममाथि अविश्वास गर्नेछन्?
12यिनीहरूलाई म रूढ़ीले नाश गर्नेछु, तर तँबाटै यिनीहरूभन्दा ठूलो र शक्तिशाली जाति बनाउनेछु।”
13मोशाले परमप्रभुलाई भने, “मिश्रीहरूले यो सुने भने के भन्लान्? उनीहरूका बीचबाट आफ्नो शक्ति देखाएर तपाईंले नै यिनीहरूलाई ल्याउनुभएको हो।
14यस देशका बासिन्दाहरूलाई मिश्रीहरूले यो कुरा बताउनेछन्। तपाईं परमप्रभु यिनीहरूका बीचमा हुनुहुन्छ भन्ने कुरो उनीहरूले सुनिसकेका छन्, तपाईं आमनेसामने नै देखा पर्नुभएको छ, र तपाईंको बादल यिनीहरूमाथि खड़ा हुन्छ र दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तपाईं यिनीहरूका अगिअगि जानुहुन्छ।
15अब तपाईंले यस जातिलाई एकै पटकमा मार्नुभयो भने त तपाईंको कीर्ति सुन्ने जातिहरूले यसो भनेर कुरा गर्नेछन्,
16‘परमप्रभुले ती मानिसहरूलाई दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन सक्नुभएन, यसैकारण तिनीहरूलाई उजाड़-स्थानमा मारिदिनुभयो’।
17“यसैले परमप्रभु, आफ्नो महामहिमा प्रकट गर्नुहोस्, जसरी तपाईंले भन्नुभएको छ:
18‘परमप्रभु रीस गर्नमा धैर्यवान् र अति करुणामय, अधर्म र अपराध क्षमा गर्ने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता-पुर्खाका अधर्मको सजाय उनीहरूका तेस्रो र चौथो पुस्तासम्म पनि दिने हुनुहुन्छ।’
19बिन्ती छ, तपाईंको महान् करुणाअनुसार, र मिश्रदेशदेखि अहिलेसम्म क्षमा गरिरहनुभएझैँ यी मानिसहरूको अधर्म क्षमा गर्नुहोस्।”
20तब परमप्रभुले भन्नुभयो, “तैंले भनेबमोजिम मैले यिनीहरूलाई क्षमा गरिदिएको छु।
21तापनि, जस्तो म जीवित छु र जसरी मेरो महिमाले पृथ्वी भरिएको छ,
22मिश्र र उजाड़-स्थानमा मेरा महिमा र आश्चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले
23तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्नेछैन। मलाई तिरस्कार गर्नेले त्यो कहिल्यै देख्नेछैन।
24तर मेरो दास कालेबमा अर्कै आत्मा छ, र त्यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ। यसैकारण त्यो पसेर आएको देशमा म त्यसलाई लैजानेछु र त्यसका सन्तानले त्यो अधिकार गर्नेछन्।
25अमालेकी र कनानीहरू बेँसीहरूमा बसेका हुनाले भोलि नै तिमीहरू फर्क र लाल समुद्रको बाटो भएर उजाड़-स्थानतिर जाओ।”
26परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
27“मेरो विरुद्धमा यस दुष्ट समुदायले कतिसम्म गनगनाउने? तिनीहरूले मेरो विरुद्धमा गनगनाएका मैले सुनेको छु।
28तिनीहरूलाई भनिदेओ, ‘जस्तो म जीवित छु, परमप्रभु घोषणा गर्नुहुन्छ, मैले सुन्ने गरी तिमीहरूले जे-जे भनेका थियौ, म त्यही नै गर्नेछु।
29तिमीहरूका लाश यही उजाड़-स्थानमा छोड़िनेछन्,
30अनि यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक गणना भएको र मेरो विरुद्धमा गनगनाउने बीस वर्षदेखि उँभोको कोही पनि वासको निम्ति दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा जान पाउनेछैन।
31लूट स्वरूप पक्रिनेछन् भनी तिमीहरूले भनेका तिमीहरूका छोराछोरीहरूलाई चाहिँ म त्यहाँ पुर्याउनेछु, र तिमीहरूले अवहेलना गरेको ठाउँ तिनीहरूले प्राप्त गर्नेछन्।
32तर तिमीहरूका लाशचाहिँ यही उजाड़-स्थानमा छोड़िनेछन्।
33तिमीहरूमध्येको अन्तिम मानिसको मृत्यु नभएसम्म तिमीहरूको अविश्वासको कारण आफ्ना छोराछोरीहरू चालीस वर्षसम्म गोठाला भएर उजाड़-स्थानमा डुल्नेछन्।
34तिमीहरूले त्यस देशको भेद लिन चालीस दिन बिताएका थियौ, यसकारण दिनको एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्नो अधर्मको फल भोग्दै रहनेछौ, र तिमीहरूप्रति म नाराज भएको तिमीहरूले थाहा पाउनेछौ’।
35यो बोल्ने म परमप्रभु हुँ, र मेरो विरुद्ध भेला हुने यस दुष्ट समुदायलाई म यसै गर्नेछु। यसै उजाड़-स्थानमा तिनीहरू मरेर मेटिजानेछन्।”
36मोशाले भेद लिन पठाउँदा आएर खराब समाचार दिने मानिसहरू परमप्रभुको सामुन्ने रूढ़ीले मरे,
37किनभने तिनीहरूले अशुभ खबर ल्याएर जम्मै समुदायलाई मोशाको विरुद्धमा बोल्न लाएका थिए।
38देशको भेद लिन जाने मानिसहरूमध्ये खालि नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेब मात्र जीवित रहे।
39जब मोशाले सबै इस्राएलीहरूलाई यी कुरा बताइदिए, तब मानिसहरूले ज्यादै बिलौना गर्न लागे।
40तिनीहरू बिहान सबेरै उठेर यसो भन्दै पहाड़ी क्षेत्रतिर उक्लन लागे, “हेर, हामीहरू यहाँबाट अब परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँमा उक्लिजाऔं, किनकि हामीले त पाप गरेछौं।”
41तर मोशाले भने, “तिमीहरू किन परमप्रभुको आज्ञा उल्लङ्घन गर्छौ? यो सफल हुनेछैन।
42नउक्ल, नत्रता शत्रुहरूले तिमीहरूलाई मार्नेछन्, किनभने परमप्रभु तिमीहरूका बीचमा हुनुहुन्न।
43त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूलाई सामना गर्नेछन्, र उनीहरूद्वारा तिमीहरू परास्त हुनेछौ। तिमीहरू परमप्रभुको पछि लाग्न छोड़्यौ। यसकारण परमप्रभु तिमीहरूका साथमा हुनुहुनेछैन, तर तिमीहरू तरवारद्वारा मर्नेछौ।”
44तापनि कुरै नसुनी तिनीहरू पहाड़ी क्षेत्रतिर अगि बढ़े। तर परमप्रभुका करारको सन्दूक र मोशाचाहिँ छाउनीबाट निस्केनन्।
45तब त्यस पहाड़मा बस्ने अमालेकी र कनानीहरू तल ओर्लेर तिनीहरूलाई होर्मासम्मै मार्दै र खेद्दै ल्याए।