1परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
2“इस्राएलीहरू प्रत्येकले आफ्नो परिवारको ध्वजाको साथमा आ-आफ्नो झन्डाको मुन्तिर पाल टाँगोस्। तिनीहरूले भेट हुने पालका चारैतिर आ-आफ्नो पाल टाँगून्।”
3पूर्वतिर घाम झुल्कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्डाको मुन्तिर छाउनी हालून्। यहूदाका मानिसहरूका कुलनायक अम्मीनादाबका छोरा नहशोन होऊन्।
4गन्तीअनुसार तिनको दल ७४,६०० छन्।
5तिनको नजिकै इस्साखारको कुलले पाल ठड़्याओस्। इस्साखारका कुलनायक सूआरका छोरा नतनेल होऊन्।
6गन्तीअनुसार तिनको दल ५४,००० छन्।
7त्यसपछि जबूलूनको कुल होस्। जबूलूनका कुलनायक हेलोनका छोरा एलीआब होऊन्।
8गन्तीअनुसार तिनको दल ५७,४०० छन्।
9यहूदाको शिविरमा गनिएकाहरूको जम्मै संख्या आ-आफ्नो दलअनुसार १,८६,४०० छ। यिनीहरू नै अगिअगि हिँड़ेर जानेछन्।
10दक्षिणतिर रूबेनको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्।
11रूबेनका मानिसहरूको कुलनायक शदेऊरका छोरा एलीसूर होऊन्। गन्तीअनुसार तिनको दल ४६,५०० छन्।
12तिनको नजिकै शिमियोनको कुलले पाल ठड़्याओस्। शिमियोनका मानिसहरूका कुलनायक सूरीशद्दैका छोरा शलूमीएल होऊन्।
13गन्तीअनुसार तिनको दल ५९,३०० छन्।
14त्यसपछि गादको कुल होस्। गादका मानिसहरूका कुलनायक दूएलका छोरा एल्यासाप होऊन्।
15गन्तीअनुसार तिनको दल ४५,६५० छन्।
16रूबेनको शिविरमा गनिएकाहरूको जम्मै संख्या आ-आफ्नो दलअनुसार १,५१,४५० छ। यिनीहरू दोस्रो लश्करमा हिँड्नेछन्।
17तब छाउनीहरूका बीचमा लेवीहरूको छाउनीको साथसाथै भेट हुने पाल हिँड़ोस्। तिनीहरूले पाल टाँगेअनुसार आ-आफ्नो झन्डामुनि हरेक मानिस आ-आफ्नो ठाउँमा हिँड़ोस्।
18पश्चिमतिर एफ्राइमको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्।
19एफ्राइमका मानिसहरूका कुलको कुलनायक अम्मीहूदका छोरा एलीशामा होऊन्। गन्तीअनुसार तिनको दल ४०,५०० छन्।
20तिनको नजिक मनश्शेको कुल होस्। मनश्शेका मानिसहरूका कुलनायक पदासूरका छोरा गमलिएल होऊन्।
21गन्तीअनुसार तिनको दल ३२,२०० छन्।
22त्यसपछि बेन्यामीनको कुल होस्। बेन्यामीनका मानिसहरूका कुलनायक गिदेओनीका छोरा अबीदान होऊन्।
23गन्तीअनुसार तिनको दल ३५,४०० छन्।
24एफ्राइमको शिविरमा गनिएकाहरूको जम्मै संख्या आ-आफ्नो दलअनुसार १,०८,१०० छ। यिनीहरू तेस्रो लश्करमा हिँड्नेछन्।
25उत्तरतिर दानको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्। दानका मानिसहरूका कुलनायक अम्मीशद्दैका छोरा अहीएजेर होऊन्।
26गन्तीअनुसार तिनको दल ६२,७०० छन्।
27तिनको नजिकै आशेरको कुलले पाल ठड़्याओस्। आशेरका मानिसहरूका कुलनायक ओक्रानका छोरा पगीएल होऊन्।
28गन्तीअनुसार तिनको दल ४१,५०० छन्।
29त्यसपछि नप्तालीको कुल होस्। नप्तालीका मानिसहरूका कुलनायक एनानका छोरा अहीरा होऊन्।
30गन्तीअनुसार तिनको दल ५३,४०० छन्।
31दानको शिविरमा गनिएकाहरूको जम्मै संख्या १,५७,६०० छ। यिनीहरूचाहिँ आ-आफ्नो झन्डामुनि सबैभन्दा पछाड़ि हिँड्नेछन्।
32इस्राएलीहरूका आ-आफ्ना परिवारअनुसार गनिएका यी नै हुन्। आ-आफ्ना दलअनुसार छाउनीछाउनीमा गनिएकाहरू जम्मा ६,०३,५५० छन्।
33तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक इस्राएलीहरूका साथमा लेवीहरू गनिएका थिएनन्।
34परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलीहरूले आ-आफ्नो झन्डाको नजिक पाल टाँग्ने गरे। त्यसै गरी आ-आफ्ना वंश र परिवारअनुसार तिनीहरू हिँड्ने गरे।