गन्ती 30:1-16 NNRV2012 - Bible AI

1मोशाले इस्राएली कुलनायकहरूलाई यसो भने, “परमप्रभुले आज्ञा गर्नुभएको कुरो यही हो:

2कुनै मानिसले परमप्रभुको निम्‍ति भाकल गर्‍यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्‍यसले आफ्‍नो वचन भङ्ग गर्नुहुँदैन। त्‍यसको मुखबाट जुन वचन निस्‍केको थियो, त्‍यो त्‍यसले गर्नैपर्छ।

3“आफ्‍ना बुबाको घरमा हुँदा कुनै युवतीले जब परमप्रभुको निम्‍ति भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्‍छे,

4र त्‍यो भाकल वा वाचाबन्‍धन सुनेर पनि त्‍यसका बुबा चूप लागी बस्‍छन्, तब त्‍यो शपथ वा वाचाबन्‍धन कायम रहनेछ।

5तर बुबाले त्‍यो सुनेको दिन त्‍यसको विरोध गर्‍यो भने, त्‍यसको शपथ अथवा वाचाबन्‍धन रद्द हुनेछ। त्‍यसका बुबाले नै विरोध जनाएका हुनाले परमप्रभुले त्‍यसलाई क्षमा गर्नुहुनेछ।

6“त्‍यसले भाकल गरिसकेर, अथवा विनासोच-विचार गरेको वाचा बाँधेर त्‍यसको विवाह भयो,

7अनि त्‍यसको पतिले त्‍यो चाल पाएको दिनमा चूप लागी बस्‍यो भने, त्‍यो भाकल वा वाचाबन्‍धन कायम रहनेछ।

8तर त्‍यसको पतिले त्‍यो चाल पाएको दिन आफ्‍नो विरोध जाहेर गर्‍यो भने, त्‍यसको भाकल वा वाचाबन्‍धन रद्द हुनेछ, अनि परमप्रभुले त्‍यस स्‍त्रीलाई क्षमा गर्नुहुनेछ।

9“विधवा र पतिसँग छुट्टिएकी स्‍त्रीले गरेको भाकल वा वाचाबन्‍धनचाहिँ कायम रहनेछ।

10“कुनै स्‍त्रीले आफ्‍नो पतिको घरमा आइसकेर कुनै भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्‍छे,

11र त्‍यो भाकल वा वाचाबन्‍धन सुनेर पनि त्‍यसको पति चूपै लागेर विरोध गर्दैन भने, त्‍यो भाकल वा वाचाबन्‍धन कायम रहनेछ।

12तर त्‍यसको पतिले त्‍यो सुनेको दिनमा त्‍यसको भाकल वा वाचाबन्‍धन रद्द गर्छ भने, त्‍यसको मुखबाट निस्‍केको वचन निरर्थक हुनेछ। परमप्रभुले त्‍यस स्‍त्रीलाई क्षमा गर्नुहुनेछ।

13पत्‍नीले आफैलाई इन्‍कार गर्न कुनै भाकल वा वाचाबन्‍धनलाई त्‍यसको पतिले अनुमोदन गर्न वा रद्द गर्न सक्‍छ।

14तर यदि त्‍यसको पतिले आफ्‍नी पत्‍नीको भाकल वा वाचाबन्‍धनको बारेमा दिनदिनै चूपै रहन्‍छ भने, उसले त्‍यो पक्‍का गर्छ। सुनेपछि पनि ऊ चूप लागेको हुनाले त्‍यो स्‍वीकृति दिएको बराबर हो।

15तर सुनेको अलिक समयपछि त्‍यो कुरा उसले रद्द गर्‍यो भने, त्‍यस स्‍त्रीको दोषको उत्तरदायी ऊ नै हुनेछ।”

16पति, पत्‍नी र आमा-बुबाको घरमा बसेकी जवान छोरीको सम्‍बन्‍धमा परमप्रभुले मोशालाई दिनुभएका विधिहरू यी नै हुन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>