गन्ती 36:1-13 NNRV2012 - Bible AI

1योसेफका पनाति, मनश्‍शेका नाति, माकीरका छोरा गिलादको वंशका मुखियाहरू‍ले मोशा र इस्राएली नायकहरूका सामुन्‍ने आएर भने,

2“परमप्रभुले इस्राएलीहरूलाई चिट्ठा हालेर देश अधिकारमा दिन हजूरलाई आज्ञा गर्नुभएको थियो, अनि हाम्रा भाइ सलोफादको अधिकार तिनका छोरीहरूलाई दिनू भनी परमप्रभुबाट हजूरलाई आज्ञा भएको थियो।

3अब यदि तिनीहरूले इस्राएलीहरूका अरू कुलका पुरुषहरूसित विवाह गरे भने, तिनीहरूको अधिकार पुरुषहरूको अधिकारमा थपिनेछ। यसरी हाम्रो पैतृक-सम्‍पत्ति हराएर जानेछ।

4इस्राएलीहरूका पुनर्स्‍थापनाको वर्ष आउँदा ती स्‍त्रीहरूको पैतृक-सम्‍पत्ति पनि विवाह गरेर गएको कुलकै सम्‍पत्तिमा थपिनेछ। यसरी हाम्रा पुर्खाको कुलको पैतृक-सम्‍पत्ति हामी गुमाउनेछौं।”

5तब परमप्रभुको आज्ञाअनुसार मोशाले इस्राएलीहरूलाई यसो भनेर आदेश दिए: “योसेफका छोराहरूको कुलले भनेको कुरा ठीकै हो।

6सलोफादका छोरीहरूका विषयमा परमप्रभुले यो आज्ञा दिनुभएको छ: ‘आफ्‍नो बुबापट्टिका कुलका परिवारसँगको जससँग मन लाग्‍छ त्‍यससँग मात्र तिनीहरूले विवाह गरून्‌।

7यसो गर्नाले इस्राएलीहरूको कुनै उत्तराधिकार एक कुलबाट अर्को कुलमा जान पाउनेछैन। हरेक इस्राएली आफ्‍नै पैतृक-सम्‍पत्तिभित्रै बसोस्‌।

8इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको हिस्‍सा पाउने युवतीले त्‍यसकै बुबापट्टिको कुलमा विवाह गरोस्, र हरेक इस्राएलीले आफ्‍नै पैतृक-सम्‍पत्तिको हिस्‍सा पाओस्‌।

9कुनै पनि पैतृकसम्‍पत्ति एउटा कुलबाट अर्को कुलमा नसारिओस्, तर हरेक इस्राएली आफ्‍नै पुर्खाका कुलको पैतृक-सम्‍पत्तिभित्रै बसोस्‌।”

10परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सलोफादका छोरीहरूले गरे।

11सलोफादका छोरीहरू महला, तिर्सा, होग्‍ला, मिल्‍का र नोआहले आफ्‍ना बुबाका दाजुभाइका छोराहरूसित विवाह गरे।

12तिनीहरूको विवाह योसेफका छोरा मनश्‍शेका सन्‍तानका वंशहरूमा नै भए। यसरी तिनीहरूको पैतृक-सम्‍पत्ति तिनकै पुर्खाहरूका कुलभित्रै रह्यो।

13यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएका आज्ञा र विधिहरू यी नै हुन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>