जकरिया 13:1-9 NNRV2012 - Bible AI

1“त्‍यस दिन तिनीहरूको पाप र अशुद्धता सफा गर्नलाई दाऊदको घराना र यरूशलेमका बासिन्‍दाहरूका निम्‍ति पानीको एउटा मूल फुटेर निस्‍कनेछ।

2सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म त्‍यस दिन देशबाट देवताहरूको नाउँनिशानै मेटिदिनेछु, र तिनीहरूको सम्‍झना नै हुनेछैन। अगमवक्ताहरू र अशुद्ध आत्‍मालाई पनि देशबाट म निकालिदिनेछु।

3अनि अझै कसैले अगमवाणी गर्‍यो भने, त्‍यसलाई जन्‍माउने बुबा-आमाले त्‍यसलाई भन्‍नेछन्, ‘तँ मर्नैपर्छ, किनभने तैंले परमप्रभुको नाउँमा झूटा बोलेको छस्‌।’ त्‍यसले अगमवाणी गर्दा त्‍यसलाई जन्‍माउने बुबा-आमाले त्‍यसलाई वारपार घोचिदिनेछन्‌।

4“त्‍यस दिन हरेक अगमवक्ता आफ्‍नै अगमवाणीको दर्शनदेखि लजाउनेछ, र धोका दिनलाई अगमवक्ताले लाउने रौँका लुगा त्‍यसले लाउनेछैन।

5त्‍यसले भन्‍नेछ, ‘म त अगमवक्ता होइनँ, तर किसान मात्र हुँ, किनकि जवान अवस्‍थादेखि नै जमिनबाट मेरो जीविका चलेको छ’।

6कसैले त्‍यसलाई ‘तिम्रो शरीरमा भएका यी चोटचाहिँ के हुन्‌?’ भनी सोधे भने, त्‍यसले जवाफ दिनेछ, ‘यी मेरा मित्रहरूको घरमा मैले पाएका चोटहरू हुन्‌।’

7“ए तरवार, मेरो गोठालाको विरुद्धमा उठ्, नजिकका मानिसको विरुद्धमा, जो मेरो सङ्गी हो,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “गोठालालाई हिर्का, र भेड़ाहरू तितरबितर हुनेछन्, र मेरो हात सानाहरूका विरुद्धमा म उठाउनेछु।”

8परमप्रभु भन्‍नुहुन्‍छ, “समस्‍त देशमा दुई-तिहाइ मारिनेछन्, र नष्‍ट हुनेछन्, तापनि एक-तिहाइचाहिँ छोड़िनेछन्‌।

9त्‍यस एक-तिहाइलाई म आगोमा ल्‍याउनेछु। चाँदी निखारेझैँ म तिनीहरूलाई निखार्नेछु, र सुन जाँचेझैँ जाँच्‍नेछु। तिनीहरूले मेरो नाउँको पुकारा गर्नेछन्, र म तिनीहरूलाई जवाफ दिनेछु। ‘यिनीहरू मेरा प्रजा हुन्,’ भनी म भन्‍नेछु, र तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ’।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>