जकरिया 2:1-13 NNRV2012 - Bible AI

1तब मैले माथि हेरें, र मेरो अगि हातमा एउटा नाप्‍ने डोरी लिएका एक जना मानिस थिए।

2मैले सोधें, “तपाईं कहाँ जाँदैहुनुहुन्‍छ?”

2तिनले मलाई जवाफ दिए, “यरूशलेम नाप्‍न, त्‍यसको चौड़ाइ र लमाइ कति रहेछ हेर्न जाँदैछु।”

3तब मसित कुरा गरिरहने ती स्‍वर्गदूत गइहाले, र अर्का स्‍वर्गदूत तिनलाई भेट्‌नलाई आए,

4र तिनलाई भने, “दगुरिगएर त्‍यस जवान मानिसलाई भन, ‘मानिसहरू र पशुहरू संख्‍यामा ज्‍यादै भएका हुनाले यरूशलेम विनापर्खालको सहर हुनेछ।

5अनि म स्‍वयम्‌ त्‍यसको चारैतिर आगोको पर्खाल हुनेछु’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘र त्‍यसभित्रको महिमा म नै हुनेछु’।

6“आओ, आओ, उत्तरको देशदेखि भागिआओ” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासमा तितरबितर पारेको छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

7“आओ, हे सियोन! उम्‍किआओ, तिमीहरू, जो बेबिलोनकी छोरीसित बस्‍दछौ।”

8किनकि सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “त्‍यसले मेरो आदर गरेर तिमीहरूलाई लुट्‌ने जातिहरूका विरुद्धमा मलाई पठाएपछि— किनभने जसले तिमीहरूलाई छुन्‍छ त्‍यसले उहाँका आँखाको नानीलाई छुन्‍छ—

9निश्‍चय नै म आफ्‍नो हात तिनीहरूका विरुद्धमा उठाउनेछु, अनि तिनीहरूकै दासहरूले तिनीहरूलाई लुट्‌नेछन्‌। तब तिमीहरूले जान्‍नेछौ कि मलाई सर्वशक्तिमान्‌ परमप्रभुले पठाउनुभएको हो।

10“हे सियोनकी छोरी, जोडसित कराऊ र खुशी होऊ, किनकि म आउँदैछु र तिमीहरूका बीचमा वास गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

11“त्‍यस दिन धेरै जातिहरू परमप्रभुमा मिल्‍न आउनेछन्, र मेरा प्रजा हुनेछन्‌। म तिमीहरूका बीचमा वास गर्नेछु र तिमीहरूले जान्‍नेछौ कि सर्वशक्तिमान्‌ परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ।

12परमप्रभुले पवित्र देशमा यहूदालाई आफ्‍नै भाग गरी अधिकार गर्नुहुनेछ, र यरूशलेमलाई फेरि चुन्‍नुहुनेछ।

13हे सारा मनुष्‍य-जाति हो, परमप्रभुको सामु चूपचाप रहो, किनभने उहाँ आफ्‍नो पवित्र वासस्‍थानबाट निस्‍किजानुभएको छ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>