जकरिया 3:1-10 NNRV2012 - Bible AI

1तब उहाँले प्रधान पूजाहारी यहोशूलाई परमप्रभुका दूतको सामुन्‍ने उभिरहेका र शैतान [1] तिनको विरोध गर्नलाई तिनको दाहिने हाततिर उभिरहेको मलाई देखाउनुभयो।

2परमप्रभुले शैतानलाई भन्‍नुभयो “ए शैतान, परमप्रभुले तँलाई हकारून्‌। यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हकारून्‌! के यो मानिस आगोबाट निकालिएको अगुल्‍टो होइन र?”

3अब यहोशूचाहिँ स्‍वर्गदूतको अगि फोहोर लुगा लगाएर उभेका थिए।

4तब ती स्‍वर्गदूतले आफ्‍नो सामुन्‍ने उभिरहनेहरूलाई भने, “त्‍यसको फोहोर लुगाहरू फुकालिदेओ।”

4तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रा पाप दूर गरिदिएँ, र म तिमीलाई दामी-दामी लुगा लगाइदिनेछु।”

5तब मैले भनें, “तिनको शिरमा एउटा सफा फेटा लगाइदेऊ।” यसैले तिनीहरूले तिनलाई एउटा सफा फेटा र लुगा लगाइदिए, र परमप्रभुका स्‍वर्गदूत नजिक उभिरहेका थिए।

6तब परमप्रभुका स्‍वर्गदूतले यहोशूलाई यो कड़ा आज्ञा दिए:

7“सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘यदि तँ मेरो मार्गमा हिँड़िस्‌ र तैंले मेरा आज्ञा पालन गरिस्‌ भने, तँ मेरो घरको जिम्‍मेवार र मेरो मन्‍दिरको हेरचाह गर्ने हुनेछस्, र यी यहाँ उभिरहनेहरूका बीचमा म तँलाई एउटा स्‍थान दिनेछु।

8“‘हे यहोशू प्रधान पूजाहारी र तेरो सामुन्‍ने बस्‍ने तेरा साथीहरू, जो पछि हुने कुराका चिन्हजस्‍ता छन्‌। यी कुरा सुन। हेर्, म मेरो दास, अर्थात्‌ हाँगालाई ल्‍याउनेछु।

9यहोशूको सामु राखिएको ढुङ्गालाई हेर्‌। त्‍यसमा सात वटा आँखा छन्, र म त्‍यसमा लेखोट खोप्‍नेछु, र एकै दिनमा यस देशको पाप हटाउनेछु,’ सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

10“‘त्‍यस दिन तिमीहरू हरेकले आफ्‍नो छिमेकीलाई दाखको बोटमुनि र नेभाराको बोटमुनि बस्‍न निम्‍तो दिनेछौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>