जकरिया 4:1-14 NNRV2012 - Bible AI

1जसरी कोही मानिसलाई निद्राबाट जगाइन्‍छ तब मसित कुरा गर्ने ती स्‍वर्गदूतले आएर मलाई त्‍यसरी जगाए।

2तिनले मलाई सोधे, “तिमी के देख्‍छौ?”

2मैले जवाफ दिएँ, “जम्‍मै सुनको एउटा सामदान म देख्‍तछु। त्‍यसको टुप्‍पामा एउटा बटुको छ। त्‍यसमाथि सात वटा बत्ती छन्, र टुप्‍पामा भएको प्रत्‍येक बत्तीमा सात वटा नली गाँसिएका छन्‌।

3त्‍यसको छेउमा दुई वटा जैतूनका रूखहरू, एउटा बटुकाको दाहिनेपट्टि र अर्को त्‍यसको देब्रेपट्टि छन्‌।”

4तब मसित कुरा गर्ने ती स्‍वर्गदूतलाई मैले सोधें, “हे मेरा प्रभु, यी के हुन्‌?”

5तिनले जवाफ दिए, “यी के हुन्‌ भनी तिमी जान्‍दैनौ?” मैले जवाफ दिएँ, “अँहँ, जान्‍दिनँ मेरा प्रभु।”

6यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्‍ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो आत्‍माले,’ सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्‍छ।

7“ए शक्तिशाली पर्वत, तँ के होस्‌ र? यरुबाबेलको सामुन्‍ने तँ मैदान हुनेछस्‌। अनि उहाँले शिर-ढुङ्गालाई ‘परमेश्‍वरले यसलाई आशिष्‌ देऊन्!’ भन्‍ने जयजयकारका साथ निकाल्‍नु हुनेछ’।”

8तब परमप्रभुको यो वचन मकहाँ आयो:

9“यस मन्‍दिरको जग यरुबाबेलका हातले बसालेका छन्, त्‍यसैका हातले त्‍यो सिद्ध‌्‌याउनेछन्‌। तब तैंले जान्‍नेछस्‌ कि सर्वशक्तिमान्‌ परमप्रभुले मलाई पठाउनुभएको हो।

10“साना कुराहरूको दिनलाई कसले तुच्‍छ ठान्‍छ? यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्‍दा मानिसहरू रमाउनेछन्‌। (“यी सात वटा बत्तीचाहिँ परमप्रभुका आँखा हुन्, जसले सारा पृथ्‍वीमा यताउता हेरिरहन्‍छन्‌।”)

11तब मैले स्‍वर्गदूतलाई सोधें, “यस सामदानको दाहिने र देब्रेपट्टि भएका यी दुई जैतूनका रूखहरूचाहिँ के हुन्‌?”

12फेरि मैले तिनलाई सोधें, “यी दुई जैतूनका हाँगा के हुन्, जो ती दुई सुनका नलीहरूका छेउमा छन्‌ र जसद्वारा सुनको तेल खनिन्‍छ?”

13तिनले जवाफ दिए, “यी के हुन्‌ भनी तिमी जान्‍दैनौ?” मैले भनें, “अँहँ, म जान्‍दिनँ, मेरा प्रभु।”

14तब तिनले भने, “यी दुईचाहिँ सारा पृथ्‍वीका परमप्रभुको सेवा गर्न अभिषेक भएकाहरू हुन्‌।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>