जकरिया 5:1-11 NNRV2012 - Bible AI

1मैले फेरि हेरें, र मेरो अगि उड़िरहेको एउटा चर्मपत्रको मुट्ठो थियो।

2तिनले मलाई सोधे, “तिमी के देख्‍छौ?”

2मैले जवाफ दिएँ, “नौ मिटर लामो र साढ़े चार मिटर चौड़ा एउटा उड़िरहेको चर्मपत्रको मुट्ठो म देख्‍तछु।”

3अनि तिनले मलाई भने, “सारा देशमाथि पर्न लागेको यो सराप हो, किनकि यसको एकापट्टि भनेअनुसार हरेक चोर निर्वासित हुनेछ, र अर्कापट्टि भनेअनुसार हरेक झूटो शपथ खाने निर्वासित हुनेछ।

4सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, ‘म सराप पठाउनेछु, र चोरको घरमा र मेरो नाउँमा झूटो शपथ खानेको घरमा त्‍यो पस्‍नेछ, र त्‍यो घरभित्र रहनेछ र त्‍यसको काठपात र ढुङ्गा दुवै सर्वनाश गर्नेछ’।”

5तब मसित कुरा गर्ने स्‍वर्गदूतले अगि आएर मलाई भने, “त्‍यो के निस्‍केर आइरहेछ, सो हेर।”

6तब मैले सोधें, “त्‍यो के हो?” तब तिनले जवाफ दिए, “त्‍यो एउटा नाप्‍ने टोकरी हो।” तिनले भने, “देशभरि भएका मानिसहरूको दुष्‍टता यही हो।”

7तब सीसाको ढकना मास्‍तिर उठाइयो, र एउटी स्‍त्री त्‍यस टोकरीभित्र बसिरहेकी देखें।

8अनि तिनले भने, “दुष्‍टता यही हो।” तब तिनले त्‍यस स्‍त्रीलाई टोकरीभित्र धकेलिदिए, र सीसाको ढकनाले त्‍यसको मुख छोपिदिए।

9तब मैले आफ्‍ना आँखा उचालेर हेरें, र दुई जना स्‍त्रीहरू आइरहेका देखें, र तिनीहरूका पखेटामा बतास रहेछ। तिनीहरूका पखेटा सारसका पखेटाजस्‍तै रहेछन्, र तिनीहरूले त्‍यो टोकरीलाई पृथ्‍वी र आकाशको बीचमा उचालेर लगे।

10तब मैले मसित कुरा गर्ने ती स्‍वर्गदूतलाई सोधें, “यिनीहरूले यो टोकरी कहाँ लगिरहेछन्‌?”

11तिनले मलाई जवाफ दिए, “बेबिलोनिया देशमा त्‍यसको निम्‍ति एउटा घर बनाउनलाई लगिरहेछन्‌। जब त्‍यो तयार हुन्‍छ, तब त्‍यो टोकरी त्‍यहाँ त्‍यसकै स्‍थानमा राखिनेछ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>