तीतस 1:1-16 NNRV2012 - Bible AI

1परमेश्‍वरको दास र येशू ख्रीष्‍टको प्रेरित पावलबाट, परमेश्‍वरका चुनिएकाहरूको विश्‍वास र भक्तिसँग मिल्‍दो तिनीहरूका सत्‍यको ज्ञान बढ़ाउनलाई,

2जुन विश्‍वास र ज्ञान अनन्‍त जीवनको आशामा स्‍थिर छन्, अनि कहिल्‍यै झूट नबोल्‍नुहुने परमेश्‍वरले अनन्‍त कालदेखि प्रतिज्ञा गर्नुभयो।

3परमेश्‍वर हाम्रा मुक्तिदाताको आज्ञाअनुसार मलाई जिम्‍मा लाएको प्रचारद्वारा उचित समयमा उहाँले आफ्‍नो वचन प्रकट गर्नुभयो।

4एउटै विश्‍वासमा भएको मेरो साँचो बालक तीतसलाई— परमेश्‍वर पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।

5यसैकारण मैले तिमीलाई क्रेटमा छोडें, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्‍यहाँ अपूरा कुराहरू पूरा गर्नू, र हरेक सहरमा एल्‍डरहरू नियुक्त गर्नू।

6एल्‍डर एउटै स्‍त्रीको पति र दोषरहित र यस्‍तो व्‍यक्ति होस्, जसका छोरा-छोरीहरू विश्‍वासी होऊन्, र चरित्रहीन र अनाज्ञाकारी नहोऊन्‌।

7किनभने परमेश्‍वरको कारिन्‍दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन,

8तर अतिथिसत्‍कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्‍ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ।

9तिनलाई सिकाइएको विश्‍वासयोग्‍य वचनमा तिनी दह्रिलो बस्‍नुपर्छ, ताकि तिनले पक्‍का सिद्धान्‍तअनुसार शिक्षा दिन सकून्, र ती कुराहरूको खण्‍डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्‌।

10किनभने धेरै जना मानिसहरू अरूका अधीनमा नबस्‍ने, बकवादी र छलीहरू हुन्‍छन्, झन्‌ विशेष गरी खतनावालहरू त यस्‍तै हुन्‍छन्‌।

11यिनीहरूको मुख बन्‍द गर्नुपर्छ, किनकि तिनीहरूले नीच लाभको लागि सारा परिवारलाई खलबल्‍याइराखेका छन्‌। यस्‍तो शिक्षा तिनीहरूले दिनुहुँदैनथियो।

12तिनीहरूमध्‍येका एक जना, तिनीहरूकै अगमवक्ताले भनेका छन्, “क्रेटका मानिसहरू सधैँ झूट बोल्‍ने, दुष्‍ट पशुहरू र अल्‍छे घिचुवाहरू हुन्‍छन्‌।”

13यो गवाही साँचो हो। त्‍यसैकारण तिनीहरूलाई कड़ासित हप्‍काऊ, ताकि तिनीहरू विश्‍वासमा पक्‍का होऊन्,

14र सत्‍यतालाई इन्‍कार गर्ने मानिसहरूका आज्ञा र यहूदी दन्‍त्‍यकथामा ध्‍यान नलगाऊन्‌।

15शुद्धहरूलाई सबै थोक शुद्धै हुन्‍छन्, तर अशुद्ध र अविश्‍वासीहरूलाई चाहिँ केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र विवेकसमेत भ्रष्‍ट भएका हुन्‍छन्‌।

16तिनीहरू परमेश्‍वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्‍ना कामद्वारा उहाँलाई इन्‍कार गर्दछन्‌। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्‍छन्, र कुनै पनि असल कामको निम्‍ति योग्‍यका हुँदैनन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
>