1राजा नबूकदनेसरले तीस मिटर अग्लो र तीन मिटर चौड़ा भएको सुनको एक मूर्ति बनाए र त्यसलाई बेबिलोनको प्रदेशमा स्थित दूरा नाम गरेको मैदानमा स्थापना गरे।
2त्यसपछि उनले त्यस मूर्ति अर्पण गर्नलाई प्रान्तका बड़ाहाकिम, इलाका अधिकारी, राज्यपाल, सल्लाहकार, कोषाध्यक्ष, उच्च न्यायाधीश, तल्लो अदालतका न्यायाधीश तथा सम्पूर्ण प्रान्तीय अधिकृतहरूलाई भेला गरे।
3यसकारण प्रान्तका बड़ाहाकिम, इलाका अधिकारी, राज्यपाल, सल्लाहकार, कोषाध्यक्ष, उच्च न्यायाधीश, तल्लो अदालतका न्यायाधीश तथा सम्पूर्ण प्रान्तीय अधिकृतहरू राजा नबूकदनेसरले खड़ा गरेको त्यस मूर्तिलाई अर्पण गर्न भेला भए र त्यसको अगि उभिए।
4तब सो कुराको घोषणा गर्नेले चर्को स्वरमा कराएर भन्यो, “हे मानिसहरू, जातिहरू र विभिन्न भाषा बोल्नेहरू, तिमीहरूलाई यो हुकुम भएको छ:
5तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाको स्वर सुन्ने बित्तिकै राजा नबूकदनेसरले स्थापना गर्नुभएको सुनका मूर्तिको अगि घोप्टो परेर तिमीहरू सबैले दण्डवत् गर्नुपर्छ।
6घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछ।”
7यसैकारण नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाहरूको स्वर सुन्ने बित्तिकै विभिन्न भाषा बोल्ने जाति-जातिका मानिसहरू सबैले घोप्टो परेर नबूकदनेसर राजाले स्थापना गरेको सुनको मूर्तिलाई दण्डवत् गरे।
8यसै बेला केही ज्योतिषीहरू अगि सरेर यहूदीहरूका विरुद्धमा अभियोग लगाए।
9तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्!
10हजूरले हुकुम गर्नुभएको छ, कि हरेक जसले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाहरूको स्वर सुन्छ, त्यसले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत् गर्नुपर्छ।
11अनि जसले घोप्टो परेर दण्डवत् गर्दैन, उसलाई दन्किएको आगोको भट्टीमा फालिनेछ।
12तर केही यहूदीहरू छन्, जसलाई हजूरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभयो, जसका नाउँ शद्रक, मेशक र अबेद्नगो हुन्। हे महाराजा, यिनीहरूले हजूरलाई टेर्दैनन्। यिनीहरू न त हजूरका देवताहरूलाई पुज्छन्, न हजूरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत् गर्छन्।”
13रीसले चूर भएर नबूकदनेसरले शद्रक, मेशक र अबेद्नगोलाई ल्याउने हुकुम गरे। यसकारण यी मानिसहरू राजाकहाँ ल्याइए,
14र नबूकदनेसरले तिनीहरूलाई भने, “ए शद्रक, मेशक र अबेद्नगो, के यो कुरा सत्य हो, कि तिमीहरू मेरा देवताहरूको सेवा गर्दैनौ वा मैले स्थापना गरेको सुनको मूर्तिलाई दण्डवत् गर्दैनौ?
15अब यदि तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाहरूको आवाज सुन्ने बित्तिकै मैले बनाएको मूर्तिलाई दण्डवत् गर्न तयार भयौ भने धेरै राम्रो हुनेछ। तर यदि तिमीहरूले यसलाई दण्डवत् गरेनौ भने, तुरुन्तै दन्किरहेको आगोको भट्टीमा तिमीहरू फालिनेछौ। तब कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला?”
16शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, यस सम्बन्धमा हजूरको अगि हाम्रो आफ्नै पक्षमा भन्नुपर्ने आवश्यकता केही छैन।
17हे महाराजा, यदि हामीहरू दन्किरहेको आगोको भट्टीमा फालियौं भने, हामीले सेवा गरेका परमेश्वरले हामीलाई यसबाट बचाउन सक्नुहुनेछ र हजूरको हातबाट छुटकारा दिनुहुनेछ।
18तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि, हे महाराजा, हजूरका देवताहरूको सेवा गर्नेछैनौं न त हजूरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत् गर्नेछौं भनी हजूरलाई थाहा होस् भन्ने हामी चाहन्छौं।”
19तब शद्रक, मेशक र अबेद्नगोसित नबूकदनेसर रीसले चूर भए, र तिनीहरूप्रति उनको धारणा बद्लियो। उनले त्यस आगोको भट्टीलाई साधारणभन्दा सात गुणा चर्काउने हुकुम गरे,
20र उनका सेनाको सबभन्दा बलिया सिपाहीहरूमध्ये कोहीलाई शद्रक, मेशक र अबेद्नगोलाई बाँधेर दन्किएको आगोको भट्टीमा फ्याँकिदिन भनी आज्ञा गरे।
21तब यी मानिसहरू दौरा, सुरुवाल, टोपी र अन्य लुगाहरूसित बाँधिएर दन्किरहेको आगोको भट्टीमा फ्याँकिए।
22राजाको हुकुम यति जरूरी थियो र आगोको भट्टी यति तातो थियो कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई लैजाने सिपाहीहरूलाई भस्म पार्यो,
23अनि यी तीन जना मानिसहरू दह्रिलो रूपमा बाँधिएकै अवस्थामा दन्किरहेको आगोको भट्टीमा परे।
24त्यसपछि राजा नबूकदनेसरले आश्चर्यचकित हुँदै उफ्रेर आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले बाँधेर आगोमा फालेका तीन जना मानिसहरू होइनन् र?”
25उनले भने, “हेर त, आगोभित्र चार जना मानिसहरू वरिपरि हिँड़िरहेका देख्दछु, तिनीहरू नबाँधिएका र कुनै हानि नभएका देखिन्छन्, र त्यो चौथोचाहिँ देवताहरूको पुत्रजस्तै देखिन्छ।”
26तब नबूकदनेसरले दन्किएको आगोको भट्टीको ढोका नजिक गएर चिच्च्याए, “हे शद्रक, मेशक र अबेद्नगो, सर्वोच्च परमेश्वरका सेवक हो, बाहिर निस्केर आओ।”
27अनि प्रान्तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू, र सल्लाहकारहरू तिनीहरूका वरिपरि भीड़ लागे। उनीहरूले देखे कि आगोले तिनीहरूका शरीरमा हानि पुर्याएको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो, तिनीहरूका लुगालाई आगोले छोएको थिएन र तिनीहरूमा आगोको कुनै गन्धैसमेत थिएन।
28त्यसपछि नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वरलाई प्रशंसा होस्, जसले आफ्ना दूतलाई पठाउनुभएर आफ्ना सेवकहरूलाई छुटकारा दिनुभयो। तिनीहरूले उहाँमाथि विश्वास गरे, र राजाको हुकुमलाई अस्वीकार गरी आफ्ना परमेश्वरलाई छोड़ेर कुनै देवतालाई सेवा गर्नु वा दण्डवत् गर्नुभन्दा बरु आफ्ना जीवन दिन तयार भए।
29यसकारण म यो उर्दी दिँदैछु कि कुनै पनि जातिका वा कुनै पनि भाषा बोल्ने मानिसहरूले शद्रक, मेशक र अबेद्नगोका परमेश्वरको विरुद्धमा केही भन्छन् भने, उनीहरू टुक्रा-टुक्रा पारी काटिनेछन् र उनीहरूका घर उजाड़ पारिनेछन्, किनभने यसरी कुनै पनि अर्को देवताले बचाउन सक्दैनन्।”
30त्यसपछि राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रान्तमा पदोन्नति गरिदिए।