नहूम 1:1-15 NNRV2012 - Bible AI

1निनवेको विषयमा ईश्‍वरवाणी। एल्‍कोशी नहूमले देखेका दर्शनको पुस्‍तक।

2परमप्रभु डाही र बदला लिने परमेश्‍वर हुनुहुन्‍छ। परमप्रभुले बदला लिनुहुन्‍छ र क्रोधले भरपूर हुनुहुन्‍छ। परमप्रभुले आफ्‍ना दुश्‍मनहरूलाई बदला लिनुहुन्‍छ, र शत्रुहरूका लागि क्रोध साँचिराख्‍नुहुन्‍छ।

3परमप्रभु रीस गर्नमा धैर्यवान्‌ हुनुहुन्‍छ र उहाँ अति शक्तिशाली हुनुहुन्‍छ। दोषीलाई परमप्रभुले दण्‍ड नदिई छोड्‌नुहुन्‍न। भुमरी र आँधीमा उहाँको बाटो छ, र बादलहरूचाहिँ उहाँका खुट्टाका धूला हुन्‌।

4उहाँले हप्‍काउनुहुँदा समुद्र सुकिहाल्‍छ। उहाँले सबै नदीहरू सुकाउनुहुन्‍छ। बाशान र कर्मेल ओइलाउँछन्, र लेबनानका फूलहरू ओइलाएर लोप हुन्‍छन्‌।

5उहाँको सामु पहाड़हरू कम्‍पायमान हुन्‍छन्, र पर्वतहरू पग्‍लन्‍छन्‌। उहाँको उपस्‍थितिमा संसार उजाड़ हुन्‍छ, जगत्‌ र त्‍यसमा भएका सबै कुरा थरथर काँप्‍छन्‌।

6उहाँका रीसको अगि को उभिन सक्‍छ? उहाँको भयङ्कर रीस कसले सहन सक्‍छ? उहाँको क्रोध आगोझैँ खन्‍याइन्‍छ, र उहाँको सामुन्‍ने चट्टानहरू टुक्रा-टुक्रा पारिन्‍छन्‌।

7परमप्रभु असल हुनुहुन्‍छ, दु:खको समयमा उहाँ नै शरणस्‍थान हुनुहुन्‍छ। उहाँमाथि भरोसा राख्‍नेहरूको उहाँले हेरविचार गर्नुहुन्‍छ।

8तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ। उहाँले आफ्‍ना शत्रुहरूलाई अन्‍धकारमा खेदिपठाउनुहुनेछ।

9परमप्रभुको विरुद्धमा उनीहरूले जस्‍तोसुकै षड्‌यन्‍त्र गरे तापनि उहाँले त्‍यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन।

10उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्‌। उनीहरू सुकेका ठोसाहरूझैँ भस्‍म हुनेछन्‌।

11हे निनवे, तँबाट परमप्रभुको विरुद्धमा युक्ति गर्ने र खराब सल्‍लाह दिने एक जना निस्‍केको छ।

12परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यद्यपि उनीहरू सामर्थी र अनगन्‍ती छन्‌ तापनि उनीहरू बहिष्‍कृत हुनेछन्, र बितिजानेछन्‌। ए यहूदा, मैले तँलाई दु:ख दिएको छु, तापनि अब म फेरि तँलाई दु:ख दिनेछैनँ।

13अब उनीहरूको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु, र तेरा बन्‍धनहरू टुक्रै-टुक्रा पारिदिनेछु।”

14हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ: “अब उप्रान्‍त तेरो नाउँ कायम राख्‍ने तेरो कोही सन्‍तान हुनेछैन। तेरा देवताहरूको मन्‍दिरमा कुँदिएका र ढालेर बनाएका मूर्तिहरू म सर्वनाश गर्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्‌।”

15हेर, सुसमाचार ल्‍याउने र शान्‍ति घोषणा गर्ने जनका खुट्टाहरू पहाड़हरूमा छन्‌। हे यहूदा, तिमीले आफ्‍ना चाड़हरू मनाओ, आफ्‍ना भाकलहरू पूरा गर। दुष्‍टहरूले अब उप्रान्‍त तिमीलाई आक्रमण गर्नेछैनन्‌। उनीहरू सम्‍पूर्ण रूपले सर्वनाश हुनेछन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
>