नहेम्‍याह 13:1-31 NNRV2012 - Bible AI

1त्‍यस दिन जनताको सामुन्‍ने मोशाको पुस्‍तक पढ़ेको बेलामा यस्‍तो कुरा लेखिएको भेट्टाइयो, कि कुनै पनि अम्‍मोनी अथवा मोआबी परमेश्‍वरको सभामा कहिल्‍यै पस्‍न पाउनेछैन।

2किनभने उनीहरू रोटी र पानी लिएर इस्राएलीहरूसित भेट गर्न आएनन्, तर तिनीहरूलाई सराप दिन बालामलाई ज्‍यालामा बोलाएका थिए। तापनि हाम्रा परमेश्‍वरले त्‍यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभएको थियो।

3मानिसहरूले त्‍यो व्‍यवस्‍था सुनेर सबै पराई वंशका सन्‍तानलाई इस्राएलबाट अलग गराए।

4यो हुनुभन्‍दा पहिले नै पूजाहारी एल्‍यासीब हाम्रा परमेश्‍वरका भवनको भण्‍डारका अधिकारी नियुक्त भएका थिए। तिनको तोबियासँग घनिष्‍ठ सम्‍बन्‍ध थियो।

5तिनले उनलाई पहिले अन्‍नबलि, धूपहरू, मन्‍दिरका भाँड़ाहरू अनि लेवीहरू, गवैयाहरू र द्वारपालहरूका निम्‍ति तोकिएका अन्‍नको दशौँ अंश, नयाँ दाखमद्य र तेल तथा पूजाहारीहरूका निम्‍ति दान राख्‍ने एउटा ठूलो कोठा दिएका थिए।

6तर यी सबै भइरहेको बेला मचाहिँ यरूशलेममा थिइनँ, किनभने बेबिलोनका राजा अर्तासास्‍तको बत्तीसौँ वर्षमा म राजाकहाँ फर्केको थिएँ। केही समयपछि यरूशलेममा फर्किजानलाई मैले उहाँको अनुमति मागें,

7र यरूशलेममा फर्कें। त्‍यसपछि तोबियाको निम्‍ति परमप्रभुको भवनका चोकहरूमा एउटा कोठा दिएर एल्‍यासीबले गरेको खराब कुरो मैले थाहा पाएँ।

8म साह्रै अप्रसन्‍न भएँ। मैले त्‍यस कोठाबाट तोबियाका सबै सामानहरू फालिदिएँ।

9ती कोठाहरूलाई शुद्ध गरेर परमप्रभुको भवनका भाँड़ाहरू, अन्‍नबलि र धूपहरूसमेत तिनमा फेरि राख्‍न मैले आदेश दिएँ।

10लेवीहरूले आफ्‍ना भागहरू पाएका रहेनछन्‌ भन्‍ने कुरा पनि मैले थाहा पाएँ। यसैले मन्‍दिरका सेवाको जिम्‍मा लिने लेवीहरू र गवैयाहरू सबै आ-आफ्‍ना गाउँहरूमा फर्केछन्‌ भन्‍ने पनि मैले सुनें।

11यसैकारण मैले अधिकारीहरूलाई हप्‍काएर प्रश्‍न गरें, “परमेश्‍वरका भवनको किन अवहेलना भएको छ?” अनि मैले ती मानिसहरूलाई बोलाएर फेरि तिनीहरूकै स्‍थानमा नियुक्त गरें।

12त्‍यसपछि सबै यहूदाले अन्‍नका आफ्‍ना दशौँ अंश, नयाँ दाखमद्य र तेल भण्‍डारमा ल्‍याए।

13मैले पूजाहारी शेलेम्‍याह, शास्‍त्री सादोक र पदायाह नाउँ गरेका एक जना लेवीलाई भण्‍डारका जिम्‍मावाल नियुक्त गरें, र जक्‍कूरका छोरा, मत्तन्‍याहका नाति हानानलाई तिनीहरूका सहायक नियुक्त गरें। किनभने तिनीहरू विश्‍वासी मानिसहरू गनिएका थिए। तिनीहरूको कामचाहिँ आफ्‍ना दाजुभाइहरूका भाग वितरण गर्नु थियो।

14हे परमेश्‍वर, यसको निम्‍ति मेरो सम्‍झना राख्‍नुहोस्, र मैले भक्तिसाथ मेरा परमेश्‍वरका भवनको र त्‍यसको सेवाको निम्‍ति गरेको काम नमेटाइदिनुहोस्‌।

15त्‍यस बेला यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, र खेतको अन्‍न जम्‍मा गरेर दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारी गधामा राख्‍दैगरेका मैले देखें। उनीहरूले यी सबै थोक शबाथमा यरूशलेममा ल्‍याउने गर्थे। त्‍यसैले त्‍यस दिनमा खाने कुरा बेचेको विरोधमा मैले तिनीहरूलाई चेताउनी दिएँ।

16यरूशलेममा बसोबास गर्ने टुरोसका मानिसहरूले पनि माछा र अरू सबै किसिमका व्‍यापारका मालहरू ल्‍याएर शबाथमा यहूदाका मानिसहरूलाई यरूशलेममा बेच्‍दारहेछन्‌।

17यहूदाका भारदारहरूलाई हप्‍काएर मैले भनें, “यस्‍तो दुष्‍ट चाल चलेर तिमीहरूले शबाथलाई अपवित्र गर्नुको अर्थ के हो?

18के तिमीहरूका पुर्खाहरूले पनि ठीक यस्‍तै काम गरेका हुनाले हाम्रा परमेश्‍वरले हामी र यस सहरमाथि यो विपत्ति ल्‍याउनुभएको होइन र? अब तिमीहरूले शबाथलाई अपवित्र पारेर झन्‌ परमप्रभुको क्रोध जगाउँदैछौ।”

19शबाथका तयारीको निम्‍ति यरूशलेमका मूल ढोकाहरूमा साँझको छाया परेपछि प्रवेश-द्वारहरू थुन्‍नू र शबाथ नसिद्धिञ्‍जेल नखोल्‍नू भनी मैले आज्ञा गरें। शबाथमा कुनै पनि भारी भित्र लान नपाओस्‌ भनेर मेरा कोही मानिसहरूलाई मूल ढोकाको जिम्‍मामा नियुक्त गरें।

20एक-दुई पल्‍ट व्‍यापारीहरू र सबै किसिमका सामान ल्‍याउने पैकारीहरूले यरूशलेमको बाहिर रात बिताए।

21तर मैले तिनीहरूलाई यसो भनेर चेताउनी दिएँ, “तिमीहरू किन सहरको पर्खालकै सामुन्‍ने रात बिताउँछौ? यदि तिमीहरूले फेरि यसो गर्‍यौ भने म तिमीहरूको विरुद्धमा कड़ा कारबाही गर्नेछु।” त्‍यसपछि तिनीहरू फेरि कहिल्‍यै शबाथमा आएनन्‌।

22अनि शबाथ-दिन पवित्र राख्‍न भनी मैले ती लेवीहरूलाई तिनीहरूले आफूलाई शुद्ध गरी मूल ढोकामा पहरा दिनू भन्‍ने आज्ञा गरें।

22हे मेरा परमेश्‍वर, यो पनि मेरो निम्‍ति सम्‍झना रहोस्, र तपाईंको महान्‌ प्रेममा आफ्‍नो कृपा ममाथि रहोस्‌।

23त्‍यस बेला पनि कुनै-कुनै यहूदाका मानिसहरूले अश्‍दोद, अम्‍मोन र मोआबका स्‍त्रीहरूलाई विवाह गरेका मैले भेट्टाएँ।

24तिनीहरूका बालकहरूमध्‍ये आधा अश्‍दोदी भाषा बोल्‍थे अथवा अरू मानिसहरूको भाषा बोल्‍थे, र तिनीहरू यहूदाको भाषा बोल्‍न जान्‍दैनथे।

25मैले तिनीहरूलाई हप्‍काएँ र सराप दिएँ। मैले कुनै-कुनै मानिसहरूलाई पिटें र जगल्‍ट्याएँ। मैले यसो भनेर परमेश्‍वरको नाउँमा तिनीहरूलाई शपथ खान लाएँ, “तिमीहरू आफ्‍ना छोरीहरू उनीहरूका छोराहरूसित विवाह गरिदिनेछैनौ, अथवा उनीहरूका कुनै पनि छोरीहरू तिम्रा छोराहरूसित वा तिमीहरू आफै विवाह गर्नेछैनौ।

26के यस्‍तै स्‍त्रीहरूको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन्‌? समस्‍त जातिहरूमा तिनीजस्‍तै अरू कुनै राजा थिएनन्‌। तिनलाई आफ्‍ना परमेश्‍वरले प्रेम गर्नुभएको थियो, र परमेश्‍वरले तिनलाई सम्‍पूर्ण इस्राएलमाथि राजा तुल्‍याउनुभएको थियो। तापनि विदेशी स्‍त्रीहरूले नै तिनलाई पाप गर्न लाए।

27अहिले पनि हामीहरूले यो सुन्‍नुपर्छ कि तिमीहरूले पनि विदेशी स्‍त्रीहरूलाई विवाह गरी यो घोर अपराध गरेर हाम्रा परमेश्‍वरसितको विश्‍वास तिमीहरू तोड्‌दैछौ?”

28प्रधान पूजाहारी एल्‍यासीबका छोरा योयादाको एक जना छोराले होरोनी सन्‍बलतकी एउटी छोरीलाई विवाह गरेको रहेछ। यसैकारण मैले त्‍यसलाई मेरो सामुबाट निकालिदिएँ।

29हे परमेश्‍वर, तिनीहरूले पूजाहारी पदलाई र पूजाहारीगिरी र लेवीहरूको करारलाई अपवित्र गरेकामा तिनीहरूको सम्‍झना रहोस्‌।

30यसरी मैले पूजाहारीहरू र लेवीहरूलाई हरेक विदेशी कुराबाट शुद्ध गरें, र तिनीहरूलाई आ-आफ्‍नो काममा नियुक्त गरें।

31ठहरिएको समयमा दाउराको दान ल्‍याउने र अगौटे फलको निम्‍ति पनि मैले व्‍यवस्‍था मिलाइदिएँ।

31हे परमेश्‍वर, तपाईंको निगाहमा मेरो सम्‍झना रहोस्‌।

>