नहेम्‍याह 2:1-20 NNRV2012 - Bible AI

1एक दिन अर्तासास्‍त राजाको बीसौँ वर्षको नीसान महिनामा जब उहाँको दाखमद्य तयार भयो तब मैले त्‍यो लगेर राजालाई टक्र्याएँ। राजाको अगाड़ि म पहिला कहिल्‍यै उदास भएको थिइनँ।

2त्‍यसैले उहाँले मलाई सोध्‍नुभयो, “बिरामी नभएर नै पनि तिम्रो अनुहार किन यति उदास देखिन्‍छ? यो हृदयको शोकबाहेक अरू केही होइन।”

3म साह्रै डराएँ, र यसो भनेर जवाफ दिएँ, “राजा सदासर्वदै अमर रहून्‌। तर मेरा पुर्खाहरू गाड़िएको सहर उजाड़ भइरहेको छ र त्‍यसका मूल ढोकाहरू आगोले जलेका छन्‌ भने मेरो अनुहार किन उदास नदेखिने?”

4राजाले भन्‍नुभयो, “मबाट तिमी के चाहन्‍छौ?”

5मैले स्‍वर्गका परमेश्‍वरलाई प्रार्थना गरें, अनि मैले राजालाई यो जवाफ दिएँ, “हजूरलाई असल लागे, र म हजूरको निगाह-पात्र भएको छु भने मेरा पुर्खाहरू गाड़िएको सहरलाई पुनर्निर्माण गर्न मलाई यहूदामा पठाइबक्‍सिओस्‌।”

6आफ्‍नी पत्‍नी रानी पनि साथमा बसेका राजाले मलाई सोध्‍नुभयो, “यात्रालाई कति समय लाग्‍ला, र तिमी कहिले फर्कन सक्‍छौ?” मलाई जान दिन राजा राजी हुनुभएकोले मैले समय निर्धारण गरें।

7तब मैले राजालाई यो पनि भनें, “हजूरलाई असल लागे यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपालहरूलाई यहूदाको मेरो यात्रामा मेरो सुरक्षा गरिओस्‌ भनी आज्ञा-पत्र दिइबक्‍सिओस्‌।

8मन्‍दिरसित गाँसिएको गढ़ीका मूल ढोकाहरू, र सहरको पर्खाल र म बस्‍ने घरको निम्‍ति सत्तरीहरू बनाउन मलाई काठपात जुटाइदेऊन् भनी हजूरको राजकीय वनको रेखदेख गर्ने मानिस आसापलाई आदेश दिएर मलाई एउटा पत्र दिइबक्‍सिओस्‌।” राजाले मेरो बिन्‍ती मन्‍जूर गर्नुभयो, किनभने मेरा परमेश्‍वरको कृपालु हात ममाथि रहेको थियो।

9समयमा यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपालहरूकहाँ म आइपुगें। उनीहरूलाई मैले राजाका पत्रहरू दिएँ। राजाले मेरो साथमा जानलाई घोड़चढ़ीहरू र सेनाका अधिकृतहरू दिनुभएको थियो।

10तर इस्राएलको भलो चाहने कुनै एक जना मानिस आएको छ भन्‍ने कुरा जब होरोनी सन्‍बलत र अम्‍मोनी अधिकृत तोबियाले सुने तब उनीहरू साह्रै अप्रसन्‍न भए।

11म यरूशलेममा पुगें र त्‍यहाँ मैले तीन दिनसम्‍म पर्खेपछि

12आफूसँग केही मानिसहरू लिएर राती निस्‍कें। तर यरूशलेमको निम्‍ति मेरो मनमा मेरा परमेश्‍वरले दिनुभएको प्रेरणा मैले कसैलाई भनिनँ। म सवार भएको पशुबाहेक अरू पशु मसित थिएन।

13म राती बेँसी ढोकाबाट बाहिर निस्‍कें, र यरूशलेमका पर्खालहरू भत्‍केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका र स्‍यालको पोखरीतिर गएँ।

14तब म फुहारा ढोका र राजाको पोखरीतिर गएँ, तर म सवार भएको पशुको निम्‍ति भित्र पस्‍नलाई ठाउँ पुगेन।

15यसैले म राती बेँसीबाट उक्‍लेर गएँ, र सहरका पर्खालको निरीक्षण गरें। त्‍यसपछि म फेरि बेँसी ढोका भएर सहरमा पसें।

16म कहाँ गएँ र के गरें, सो अधिकारीहरूले थाहा नपाई म फर्केर आएँ। अझसम्‍म यहूदीहरू, पूजाहारीहरू, भारदारहरू, अधिकारीहरूलाई वा यस कामको जिम्‍मा लिनेहरू कसैलाई पनि मैले केही भनेको थिइनँ।

17त्‍यसपछि मैले तिनीहरूलाई भनें, “तिमीहरू हाम्रो दुर्दशा जान्‍दछौ। यरूशलेम उजाड़ भएको छ। त्‍यसका मूल ढोकाहरू आगोले भस्‍म भएका छन्‌। आओ, हामी यरूशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्‍दा हटाऔं।”

18परमेश्‍वरको कृपालु हात कसरी ममाथि परेको थियो, र राजाले मलाई के भन्‍नुभएको थियो, सो मैले तिनीहरूलाई बताइदिएँ।

18तिनीहरूले जवाफ दिए, “हामी पुनर्निर्माणको काम सुरु गरौं।” यसैले तिनीहरूले उत्‍साहपूर्वक यो असल काम सुरु गरे।

19तर होरोनी सन्‍बलत र अम्‍मोनी अधिकृत तोबिया र अरबी गेशेमले यो कुरा सुनेर हामीलाई यसो भनेर खिसी गर्दै हाम्रो गिल्‍ला गर्न लागे, “तिमीहरू के गरिरहेछौ? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?”

20तर मैले उनीहरूलाई यो जवाफ दिएँ, “स्‍वर्गका परमेश्‍वरले हामीलाई सफल तुल्‍याउनुहुनेछ। हामी उहाँका दासहरू पुनर्निर्माणको काम सुरु गर्दैछौं। तर यरूशलेममा तिमीहरूको केही भाग, दाबी वा परम्‍पराको अधिकार छैन।”