1अबीमेलेकको पालोपछि इस्साखारको एक जना मानिस, पुवाका छोरा दोदोका नाति, एफ्राइमको पहाड़ी देशको शामीरमा बस्ने तोला इस्राएललाई छुटाउनलाई खड़ा भए।
2तिनी तेईस वर्षसम्म इस्राएलका अगुवा
3तिनीपछि गिलादी याईर आए। तिनी बाईस वर्षसम्म इस्राएलका अगुवा भए।
4तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामा सवार हुन्थे। गिलाद देशमा तिनीहरूका तीस वटा सहरहरू थिए, जो आजको दिनसम्म पनि हब्बात-याईर कहलाइन्छ।
5याईर मरेपछि तिनी कामोनमा गाड़िए।
6फेरि इस्राएलीहरूले अराम, सीदोन र मोआबका अम्मोनीहरू र पलिश्तीहरूका देवता-देवीहरू तथा बाल र अश्तोरेत देवताहरूलाई पुजेर परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे। तिनीहरूले परमप्रभुलाई त्यागे, र उहाँको सेवा गरेनन्।
7यसैकारण परमप्रभु इस्राएलसँग क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्तीहरू र अम्मोनीहरूका हातमा बेचिदिनुभयो, जसले त्यस वर्ष तिनीहरूलाई चकनाचूर पारे र दबाए।
8उनीहरूले यर्दनको पूर्वपट्टि एमोरीहरूको देशमा अर्थात् गिलादमा बस्ने सबै इस्राएलीहरूलाई अठार वर्षसम्म सताउँदै र अत्याचार गर्दैरहे।
9तब यहूदा, बेन्यामीन र एफ्राइममाथि आक्रमण गर्नलाई अम्मोनीहरू यर्दन पारि तरे, र इस्राएल साह्रै सङ्कष्टमा पर्यो।
10अनि इस्राएलीहरूले सहायताको निम्ति परमप्रभुको पुकारा गरेर भने, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्यागेर बाल देवताहरूलाई पुजेका छौं।”
11परमप्रभुले इस्राएलीहरूलाई भन्नुभयो, “जब मिश्री, एमोरी, अम्मोनी, पलिश्ती,
12सीदोनी, अमालेकी र मिद्यानीहरू सबैले तिमीहरूलाई अत्याचार गरे, र तिमीहरूले सहायताको निम्ति मेरो पुकारा गर्यौ, तब मैले तिमीहरूलाई उनीहरूका हातबाट छुटाइनँ र?
13तर तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ। यसैले अब म तिमीहरूलाई फेरि छुटाउनेछैनँ।
14गएर तिमीहरूले चुनेका देवताहरूलाई सहायताको निम्ति पुकार, र तिनीहरूले नै तिमीहरूका दु:खको समयमा बचाऊन्।”
15तर इस्राएलीहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। हामीलाई तपाईं जे चाहनुहुन्छ त्यही गर्नुहोस्। तर हामी तपाईंलाई बिन्ती गर्दछौं कि केवल अहिले हाम्रो उद्धार गर्नुहोस्।”
16तब तिनीहरूले पराई देवताहरूलाई त्यागे र परमप्रभुको आराधना गरे। अनि उहाँले इस्राएलको दुर्गतिलाई अरू बढ्ता हेर्न सक्नुभएन।
17तब अम्मोनीहरू युद्धको निम्ति भेला गरिएर गिलादमा छाउनी हालेर बसे, र इस्राएलीहरूचाहिँ भेला भएर मिस्पामा छाउनी हाले।
18तब गिलादका मानिसहरूका नायकहरूले आपसमा भने, “जुन मानिसले अम्मोनीहरूलाई पहिले आक्रमण गर्ला त्यही नै गिलादका बासिन्दाहरूका शासक हुनेछ।”