न्यायकर्ताहरू 12:1-15 NNRV2012 - Bible AI

1एफ्राइमीहरूले आफ्‍ना फौज भेला गरे, र पारि तरेर सापोनमा गए। तिनीहरूले यिप्‍तालाई भने, “अम्‍मोनीहरूसँग लड़ाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन? हामी तपाईंलाई तपाईंको घरसमेत जलाइदिनेछौं।”

2यिप्‍ताले जवाफ दिए, “म र मेरा मानिसहरूको अम्‍मोनीहरूसँग झगड़ा थियो, र मैले तिमीहरूलाई सहायताको निम्‍ति बिन्‍ती गरेको थिएँ। तिमीहरूले हामीलाई उनीहरूका हातदेखि बचाएनौ।

3जब मैले यो देखें कि हामीले तिमीहरूबाट केही सहायता नपाउने रहेछौं, तब आफ्‍नो प्राण जोखिममा हालेर अम्‍मोनीहरूका विरुद्धमा हिँड़ें, र परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुभयो। अब किन तिमीहरू आज मलाई आक्रमण गर्दैछौ?”

4तब यिप्‍ताले गिलादका सबै मानिसहरूलाई भेला गरेर एफ्राइमसँग लड़ाइँ गरे। गिलादीहरूले तिनीहरूमाथि प्रहार गरे, किनकि एफ्राइमीहरूले यसो भनेका थिए, “तिमी गिलादीहरू एफ्राइम र मनश्‍शेबाट बागी भएर गएका हौ।”

5गिलादीहरूले यर्दनका जँघारहरू लिए, र एफ्राइमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै एफ्राइमीले पारि जानलाई बिन्‍ती गर्थ्‍यो, तब गिलादका मानिसहरूले त्‍यसलाई सोध्‍दथे, “के तँ एफ्राइमी होस्‌?” र त्‍यसले “होइन” भन्‍यो भनेदेखि

6तिनीहरूले भन्‍थे, “त्‍यसो भए, ‘शिब्‍बोलेत’ भन्‌।” त्‍यसले त्‍यो शब्‍द ठीकसित उच्‍चारण गर्न नसकेर “सिब्‍बोलेत” भन्‍यो भने, तिनीहरूले त्‍यसलाई यर्दनका जँघारहरूमा पक्रेर मार्दथे। त्‍यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।

7यिप्‍ता छ वर्षसम्‍म इस्राएलका अगुवा [1] भए। तब गिलादी यिप्‍ता मरे, अनि तिनी गिलादको एउटा सहरमा गाड़िए।

8यिप्‍तापछि बेथलेहेमका इब्‍सान इस्राएलका अगुवा भए।

9तिनका तीस जना छोरा र तीस छोरी थिए। तिनले ती तीस छोरीहरूलाई अरू वंशसित विवाह गरिदिए, र आफ्‍ना छोराहरूका निम्‍ति तीस जना बुहारीहरूलाई अरू वंशबाट ल्‍याए। तिनी सात वर्षसम्‍म इस्राएलका अगुवा भए।

10तब तिनी मरे, र बेथलेहेममा गाड़िए।

11तिनीपछि जबूलूनी एलोन दश वर्षसम्‍म इस्राएलका अगुवा भए।

12तब तिनी मरे, र जबूलूनका देशको अय्‍यालोनमा गाड़िए।

13त्‍यसपछि पिरातोनी हिल्‍लेलका छोरा अब्‍दोन इस्राएलका अगुवा भए।

14तिनका चालीस छोरा र तीस नाति थिए, र हरेक आ-आफ्‍नो गधामा सवार हुन्‍थ्‍यो। तिनी आठ वर्षसम्‍म इस्राएलका अगुवा भए।

15त्‍यसपछि तिनी मरे, र अमालेकीहरूको पहाड़ी देशका एफ्राइमको पिरातोनमा गाड़िए।

icle>