1एफ्राइमका पहाड़ी देशमा मीका नाउँ भएका एक जना मानिस थिए।
2तिनले आफ्नी आमालाई भने, “तपाईंबाट चोरिएका ती एघार सय चाँदीका सिक्का, जसका विषयमा मैले सुन्ने गरी तपाईंले ती चोर्नेलाई सराप्नुभएको थियो, ती चाँदीका सिक्का मसँग छन्। मैले ती लगेको थिएँ, र अब म ती तपाईंलाई फर्काइदिँदैछु।”
3तिनले ती एघार सय चाँदीका सिक्का आफ्नी आमालाई फर्काइदिएपछि, तिनले भनिन्, “अब म यो मेरो चाँदी मेरो छोराको भलाइको निम्ति एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति बनाउनलाई परमप्रभुमा समर्पण गर्छु।”
4यसरी तिनले ती चाँदी आफ्नी आमालाई फर्काइदिए। अनि तिनले दुई सय चाँदीका सिक्का लिएर एउटा चाँदीको शिल्पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखिए।
5यी मीका भन्ने मानिसको एउटा देवता-थान थियो। तिनले एउटा एपोद र घर-देवताहरू बनाए, र आफ्ना छोराहरूमध्येको एक जनालाई आफ्नो पुरोहित नियुक्त गरे।
6त्यस बेला इस्राएलमा कुनै राजा थिएनन्, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्थ्यो त्यही गर्थ्यो।
7अब यहूदाको बेथलेहेमबाट आएका यहूदाका गोत्रको बीचमा बस्ने एक जना जवान लेवी थिए।
8तिनी बेथलेहेम सहर छोड़ेर अन्त कतै बस्नलाई आएका थिए। यात्रा गर्दा तिनी एफ्राइमका पहाड़ी देशमा मीकाको घरमा आइपुगे।
9मीकाले तिनलाई सोधे, “तिमीकहाँबाट आएका हौ?”
10मीकाले तिनलाई भने, “मसँग बस, र मेरा बुबा र पुरोहित होऊ। म तिमीलाई बर्षै पिच्छे दश चाँदीका सिक्का दिनेछु, र तिमीलाई खान-लाउन पनि दिनेछु।”
11यसकारण ती लेवी मीकासँग बस्न राजी भए, र मीकाले तिनलाई आफ्ना छोराहरूमध्ये एक जनाजस्तै गर्थे।
12मीकाले ती लेवीलाई काममा नियुक्त गरे, र ती जवान मानिस तिनका पुरोहित भए, र तिनको घरमा बसे।
13मीकाले भने, “अब म जान्दछु कि परमप्रभुले मेरो उन्नति गर्नुहुनेछ, किनभने एक लेवी मेरा पुरोहित भएका छन्।”