न्यायकर्ताहरू 19:1-30 NNRV2012 - Bible AI

1त्‍यस बेला इस्राएलमा कुनै राजा थिएनन्‌। एफ्राइमको पहाड़ी देशको भित्री भागमा एउटा लेवी बस्‍थे, जसले यहूदाको बेथलेहेमबाट एउटी उपपत्‍नी आफ्‍नो निम्‍ति ल्‍याएका थिए।

2तर त्‍यो आफ्‍ना पतिप्रति अविश्‍वासी भई, र तिनलाई छोड़ेर त्‍यो आफ्‍ना बुबाको घर यहूदाको बेथलेहेममा गएकी थिई। जब त्‍यो त्‍यहाँ बसेकी चार महिना भइसकेको थियो,

3तब त्‍यसका पति आफ्‍ना नोकर र दुई वटा गधा लिएर त्‍यसलाई मनाएर फर्काइल्‍याउन हिँड़े। त्‍यस केटीले तिनलाई आफ्‍ना बुबाको घरमा ल्‍याई, र त्‍यसका बुबाचाहिँले तिनलाई देख्‍दा स्‍वागत गरे।

4त्‍यस केटीका बुबा, तिनका ससुराले तिनलाई जिद्दी गर्दा तिनी उनीसँग त्‍यहाँ तीन दिन बसे। तिनी बसेको बेलामा तिनको खूबै राम्रो सत्‍कार भयो।

5चौथो दिन तिनीहरू सखारै उठे, र बिदा हुनलाई तयार भए, तर केटीका बुबाले आफ्‍नो जुवाइँलाई भने, “जानुभन्‍दा पहिले केही खाऊ।”

6यसैले तिनीहरू दुवै बसे र एकैसाथ खानपान गरे। तब केटीका बुबाले भने, “एक रात अझै बसेर रमाइलो गर।”

7जब तिनी जानलाई उठे तब तिनका ससुराले तिनलाई बस्‍ने आग्रह गरे, र तिनी अझै एक रात बसे।

8पाँचौँ दिन तिनी बिदा हुनलाई बिहानै उठे। तर केटीका बुबाले भने, “पहिले केही खाऊ।” यसैले तिनीहरू दिउँसो अबेरसम्‍मै एकसाथ खाँदै र पिउँदै अल्‍मलिरहे।

9तब ती मानिस आफ्‍नी उपपत्‍नी र नोकरसँग जानलाई उठे। तर तिनका ससुराले भने, “हेर त, साँझ हुनै लाग्‍यो। आजको रात यहीँ बिताएर दिल खुश पार, र भोलि बिहानै उठेर घरतिर लाग।”

10तर ती मानिस त्‍यो रात बस्‍न मानेनन्‌। तिनी उठेर हिँड़िहाले, र आफ्‍ना भारी लादेका दुई गधा र आफ्‍नी उपपत्‍नीसँग यबूस, अर्थात्‌ यरूशलेमतिर गए।

11जब तिनीहरू यबूसको नजिकै आइपुगे तब दिन धेरै ढल्‍किसकेको थियो, र नोकरले आफ्‍ना मालिकलाई भन्‍यो, “अब गएर यबूसीहरूको यस सहरमा रात बिताऔं।”

12तर त्‍यसका मालिकले त्‍यसलाई भने, “होइन, इस्राएलीहरू नभएको यस परदेशी ठाउँमा नजाऔं। बरु हामी गिबामा जाऔं।”

13तिनले फेरि भने, “आओ, गिबा वा रामासम्‍म पुग्‍न प्रयत्‍न गरौं, र त्‍यहाँ रात बिताऔं।”

14यसरी तिनीहरू अगि बढ़े, र झमक्‍क रात परिहाल्‍यो। त्‍यस बेला तिनीहरू बेन्‍यामीनका गिबाको नजिकै थिए।

15तिनीहरू त्‍यहीँ रात बिताउनलाई पसे, र गएर सहरको चोकमा बसे। तर कसैले पनि तिनीहरूलाई वास दिनलाई आफ्‍नो घरमा लगेनन्‌।

16यसै बीचमा एक जना बूढ़ा मानिस आफ्‍नो खेतको कामबाट बेलुकी घर फर्किरहेको थियो। उनी एफ्राइमको पहाड़ी देशका थिए, तर गिबामा बस्‍थे, जहाँका मानिसहरू बेन्‍यामीनी थिए।

17उनले यसो मास्‍तिर हेरे, र सहरको चोकमा ती यात्रीलाई देखे, र तिनलाई कहाँबाट आएका र कहाँ जाने हो भनी सोधे।

18तिनले जवाफ दिए, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाड़ी देशको भित्री भागतिर यात्रा गरिरहेका छौं। म त्‍यहीँकै हुँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र प्रभुको घरमा फर्किरहेछु। तर कसैले मलाई आफ्‍नो घरमा लगेको छैन।

19मसित गधाका निम्‍ति पराल र दाना छन्‌। तपाईंका सेवकहरू, अर्थात्‌ मेरो आफ्‍नो र यस केटी र यस नोकरको निम्‍ति खानेकुरा र दाखमद्य छन्‌। हामीलाई चाहिने कुरा हामीसितै छन्, महाशय।”

20ती बूढ़ा मानिसले भने, “मेरो घरमा आउनुहोस्, तपाईंहरूलाई चाहिने सबै कुरा म दिनेछु। तपाईंहरूले चोकमा रात बिताउनुपर्दैन।”

21तब तिनलाई उनले घरभित्र लगे र गधालाई दाना-पानी दिए। तिनीहरूले आफ्‍ना खुट्टा धोए र खानपान गरे।

22जब तिनीहरू यसरी खुशी मनाइरहेका थिए, तब त्‍यस सहरका कतिपय बदमाशहरूले त्‍यो घर घेरे, र घरको ढोकामा धक्‍का दिँदै र त्‍यस घरका धनीलाई कराउँदै यसो भने, “तेरो घरमा पसेको त्‍यस मानिसलाई बाहिर निकाल्‌। हामी त्‍यससँग सहवास गर्न चाहन्‍छौं।”

23त्‍यस घरका धनीले बाहिर उनीहरूकहाँ निस्‍केर भने, “होइन, मेरा मित्र हो, यस्‍तो दुष्‍ट काम नगर। यी मानिस त मेरा अतिथि हुन्, यस्‍तो अत्‍याचार नगर।

24यहाँ मेरी कन्‍ये-छोरी र यी मानिसकी उपपत्‍नी छन्‌। म तिनीहरूलाई तिमीहरूकहाँ ल्‍याउनेछु। तिनीहरूमाथि बलात्‍कार गर, र तिमीहरूलाई जे मन लाग्‍छ गर। तर यी मानिसमाथि यस्‍तो अत्‍याचार नगर।”

25तर ती मानिसहरूले उनको कुरा सुन्‍दैसुनेनन्‌। यसैले ती यात्रीले आफ्‍नी उपपत्‍नीलाई लिएर उनीहरूकहाँ पठाइदिए। उनीहरूले त्‍यससँग त्‍यस रातभरि बिहान नहोउञ्‍जेलसम्‍म सहवास गरे, र त्‍यसलाई अत्‍याचार गरे, अनि बिहान भएपछि उनीहरूले त्‍यसलाई जान दिए।

26त्‍यो केटी मिरमिरे उज्‍यालोमा आई र आफ्‍ना स्‍वामी भएको घरको ढोकामा लड़ी, र उज्‍यालो नभएसम्‍म त्‍यहीँ लड़िरही।

27त्‍यस स्‍त्रीका पति बिहानै उठे, र आफ्‍नो यात्रामा जानलाई घरको ढोका खोले। र तिनले आफ्‍नी उपपत्‍नीलाई सङ्घारमा आफ्‍ना हात पसारेर लड़िरहेकी देखे।

28तिनले त्‍यसलाई भने, “उठ, हामी जाऔं।” तर तिनले केही जवाफ पाएनन्‌। तिनले त्‍यसलाई उठाएर गधामाथि राखे र घरतिर लागे।

29जब तिनी घरमा आइपुगे तब तिनले एउटा छुरी लिएर आफ्‍नी उपपत्‍नीलाई टुक्रा-टुक्रा पारेर बाह्र टुक्रा काटे, अनि इस्राएलका चारैतिर पठाइदिए।

30यो देख्‍ने प्रत्‍येकले भने, “इस्राएलीहरू मिश्रदेशबाट आएको बेलादेखि आजको दिनसम्‍म यस्‍तो कहिल्‍यै भएको छैन। त्‍यो आफै विचार गर, के गर्नुपर्छ हामीलाई भन।”

icle>