न्यायकर्ताहरू 20:1-48 NNRV2012 - Bible AI

1तब सबै इस्राएलीहरू, दानदेखि बेर्शेबासम्‍मका जम्‍मै समुदाय, र गिलादबाट पनि एउटै मानिसजस्‍तै गरी आ-आफ्‍नो घरबाट निस्‍के र मिस्‍पामा परमप्रभुको सामुन्‍ने भेला भए।

2इस्राएलका कुलहरूका सबै मानिसका अगुवाहरू, तरवार भिरेका चार लाख योद्धाहरू, परमेश्‍वरका मानिसहरूको सभामा हाजिर भए।

3बेन्‍यामीनीहरूले इस्राएलीहरू मिस्‍पामा गएका छन्‌ भन्‍ने कुरा सुने। “यस्‍तो दुष्‍ट कुरो कसरी भयो” भनी इस्राएलीहरूले सोधे।

4यसकारण त्‍यस मारिएकी स्‍त्रीका पति, ती लेवीले भने, “म र मेरी उपपत्‍नी रात बिताउनलाई बेन्‍यामीनको गिबामा आएका थियौं।

5त्‍यस रात गिबाका नगरवासीहरू मेरो विरुद्धमा खड़ा भए, र मलाई मार्ने विचारले म बसेको घर घेरे, र उनीहरूले मेरी उपपत्‍नीमाथि बलात्‍कार गरे, र त्‍यो मरी।

6मैले त्‍यसको लाश लगेर टुक्रा-टुक्रा पारी काटें, र ती मैले इस्राएलका चारैतिर पठाइदिएँ, किनभने उनीहरूले इस्राएलमा यस्‍तो व्‍यभिचारी र अपमानजनक काम गरेका थिए।

7अब तपाईं सबै इस्राएलीहरू बोल्‍नुहोस्‌ र आफ्‍नो फैसला दिनुहोस्‌।”

8तब सबै मानिसहरू एउटै मानिसझैँ खड़ा भएर भने, “हामीमध्‍येको एक जना पनि आफ्‍नो घरमा फर्केर जानेछैन, एउटै पनि आफ्‍नो घरमा फर्केर जानेछैन।

9अब गिबालाई हामी यसो गर्नेछौं— गोला हालेअनुसार हामी चढ़ाइ गर्नलाई जानेछौं।

10हामी इस्राएलका जम्‍मै कुलबाट हरेक एक सयबाट दश, हरेक हजारबाट एक सय र हरेक दश हजारबाट एक हजार गरी इस्राएलमा यस्‍तो अत्‍याचार गर्ने बेन्‍यामीनका गिबाको विरुद्धमा जानेहरूका निम्‍ति मानिसहरूबाट खानेकुरा जम्‍मा गर्नलाई लिनेछौं।”

11यसरी सबै इस्राएली भेला भए र एउटै मानिसजस्‍तै त्‍यस सहरको विरुद्धमा एकै मनका भए।

12इस्राएलका कुलहरूका मानिसहरूले बेन्‍यामीनको कुलका चारैतिर यसो भनेर मानिसहरू पठाए, “तिमीहरूका बीचमा यस्‍तो खराब काम भएको यो के हो?

13गिबाका ती दुष्‍ट मानिसहरूलाई हाम्रा हातमा सुम्‍पिदेओ, र हामी उनीहरूलाई मारेर इस्राएलमा भएको यस दुष्‍कर्मलाई फाल्‍नेछौं।”

13तर बेन्‍यामीनीहरूले आफ्‍ना दाजुभाइ इस्राएलीहरूको कुरा सुनेनन्‌।

14उनीहरू आ-आफ्‍ना सहरहरूबाट इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई गिबामा जम्‍मा भए।

15ती बेन्‍यामीनीहरूले तुरुन्‍तै आ-आफ्‍ना सहरहरूबाट तरवार भिरेका छब्‍बीस हजार मानिसहरू लड़ाइँको निम्‍ति जम्‍मा गरे।

16यी मानिसहरूबाहेक गिबाका सात सय चुनिएका मानिसहरू पनि थिए। यी सबैमध्‍ये देब्रे हाते अरू सात सय चुनिएका मानिसहरू पनि थिए, जसले घुयेँत्रोले कुनै निशाना पनि चुकाउँदैनथे।

17बेन्‍यामीनको कुल छोड़ेर इस्राएलले चाहिँ तरवार भिरेका चार लाख मानिसहरू जम्‍मा गरे, जो सबै योद्धा थिए।

18इस्राएलीहरू तुरुन्‍तै बेथेलतिर लागे, र त्‍यहाँ तिनीहरूले परमेश्‍वरलाई यसो भनेर सोधे, “हामीमध्‍येको कुनचाहिँ कुलले पहिले बेन्‍यामीनलाई आक्रमण गर्ने?” परमप्रभुले भन्‍नुभयो, “पहिले यहूदाले आक्रमण गरोस्‌।”

19यसैले इस्राएलीहरू बिहान सखारै गिबाको सामु गएर छाउनी हाले।

20तिनीहरूले बेन्‍यामीनीहरूसँग लड़ाइँ गर्नलाई आफ्‍नो फौजलाई सहरको सामुन्‍ने तयार राखे।

21त्‍यस दिन बेन्‍यामीनीहरूले गिबाबाट आक्रमण गरेर बाईस हजार इस्राएलीहरूलाई रणभूमिमा मारे।

22तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए, र पहिलो दिनकै स्‍थानमा फेरि अड़ेर बसे।

23तब इस्राएलीहरू उक्‍लेर गए, र परमप्रभुको सामु बेलुकीसम्‍मै विलाप गरे, र तिनीहरूले परमप्रभुसँग आफ्‍ना दाजुभाइ बेन्‍यामीनीहरूमाथि आक्रमण गर्नुपर्छ कि भनेर सोधे।

23परमप्रभुले भन्‍नुभयो, “उनीहरूका विरुद्धमा माथि उक्‍लेर जाओ।”

24दोस्रो दिन पनि तिनीहरू बेन्‍यामीनीहरूसँग लड़ाइँ गर्नलाई अगि बढ़े।

25बेन्‍यामीनीहरू पनि तिनीहरूसँग लड़ाइँ गर्नलाई गिबाबाट निस्‍के, र तरवार भिरेका अरू अठार हजार मानिसहरूलाई उनीहरूले मारे।

26तब जम्‍मै इस्राएलीहरू फर्केर बेथेलमा गए, र त्‍यहाँ तिनीहरू साँझसम्‍मै विलाप गर्दै उपवासमा परमप्रभुको सामुन्‍ने बसे। तिनीहरूले परमप्रभुको सामु होमबलि र मेलबलि चढ़ाए।

27त्‍यस बेला परमेश्‍वरका करारको सन्‍दूक त्‍यहीँ थियो,

28र हारूनका छोरा एलाजारका छोरा पीनहासले त्‍यसको सामु सेवा गर्दथे। अनि इस्राएलीहरूले परमप्रभुसँग सोधे, “के हामी हाम्रा भाइ बेन्‍यामीनको विरुद्धमा लड़ाइँ गर्नलाई फेरि जाऔं कि नजाऔं?”

28परमप्रभुले जवाफ दिनुभयो, “त्‍यसलाई आक्रमण गर। भोलि म त्‍यसलाई तिमीहरूका हातमा सुम्‍पिदिनेछु।”

29तब इस्राएलले गिबाको चारैतिर ढुकिबस्‍नलाई मानिसहरू राखे।

30तेस्रो दिन इस्राएलीहरू बेन्‍यामीनीहरूका विरुद्धमा अगि बढ़े, र अघिझैँ गिबाको विरुद्धमा स्‍थान लिए।

31अनि बेन्‍यामीनीहरूचाहिँ त्‍यस सेनालाई आक्रमण गर्नलाई बाहिर निस्‍के, र उनीहरू सहरबाट अलि टाढ़ा पुगे, अनि खुला जग्गामा र बेथेल र गिबामा जाने मूलबाटाहरूमा केही इस्राएलीहरू, अर्थात्‌ तीस जनालाई मारे।

32“हामी तिनीहरूलाई फेरि पनि जित्‍दैछौं” भनी उनीहरूले सम्‍झे। तर इस्राएलीहरूले उनीहरूलाई सहरबाट बाहिर मूलबाटाहरूमा तानेर निकाल्‍नलाई हारेर भागेझैँ गर्ने उपाय गरेका थिए।

33इस्राएलीका जम्‍मै मानिसहरूले आ-आफ्‍नो स्‍थान छोड़ेर बालतामारमा युद्धको निम्‍ति टोली बाँधे, अनि ढुकुवामा बस्‍नेहरू गिबाको पश्‍चिमको स्‍थानबाट झट्टै निस्‍केर आए। तब इस्राएलका दश हजार चुनिएका योद्धाहरूले अगाड़िबाट गिबालाई आक्रमण गरे।

34चाँड़ै घमासान युद्ध भयो। बेन्‍यामीनीहरूले आफूमाथि आइरहेको विपत्तिको केही शङ्का गरेनन्‌।

35यसरी परमप्रभुले बेन्‍यामीनीहरूलाई इस्राएलको सामुन्‍ने परास्‍त गर्नुभयो, र त्‍यस दिन इस्राएलीहरूले तरवार भिरेका पच्‍चीस हजार एक सय बेन्‍यामीनीहरूलाई मारे।

36“अब हामीहरू त हारेछौं” भनी बेन्‍यामीनीहरूले थाहा पाए।

36किनकि सबै इस्राएलीहरू गिबाको नजिक राखेका ढुकुवाहरूमाथि भर परेर आफूचाहिँ हारेका जस्‍तै देखाएका थिए।

37ती ढुकुवा बसेका मानिसहरूले एक्‍कासि चढ़ाइ गरेर गिबाभित्र पसे, र चारैतिर त्‍यहाँका सबै बासिन्‍दाहरूलाई तरवारले मारे।

38इस्राएलीहरूले ती ढुकुवामा बसेका मानिसहरूसित सल्‍लाह गरेको चिन्‍ह यो थियो कि तिनीहरूले सहरबाट धूवाँको मुस्‍लो आकाशतिर पठाउनुपर्ने।

39तब इस्राएलीहरूचाहिँ लड़ाइँमा फर्कनेथिए।

39“पहिलेको लड़ाइँमा गरेझैँ हामी इस्राएलीहरूलाई जित्‍दैछौं” भन्‍ने विश्‍वासमा बेन्‍यामीनीहरूले इस्राएलीहरूलाई मार्न लागेका थिए, र करीब तीस जनालाई मारे।

40तर जब सहरबाट धूवाँको मुस्‍लो माथितिर जान लाग्‍यो तब बेन्‍यामीनीहरूले पछिल्‍तिर फर्केर हेरे, र सारा सहरमा आगलागी भइरहेको देखे।

41तब इस्राएलीहरू फनक्‍क फर्केर बेन्‍यामीनीहरूमाथि जाइलागे। बेन्‍यामीनीहरूले आफ्‍नो नाश आएको देखे र डरले आत्तिए।

42यसकारण उनीहरू फर्के, र इस्राएलको सामुबाट उजाड़-स्‍थानतिर भागे, तर लड़ाइँ उनीहरूसम्‍मै पुग्‍यो, र सहरहरूबाट आएका इस्राएलीहरूले उनीहरूलाई बीचमा पारी काटेर मार्न लागे।

43तिनीहरूले बेन्‍यामीनीहरूलाई रिङ्गै खेदे, र नबिसाईकन खेदे, र गिबाको पूर्वपट्टि एउटा ठाउँमा उनीहरूलाई जिते।

44अठार हजार बेन्‍यामीनीहरू मारिए। उनीहरू जम्‍मै योद्धा थिए।

45बाँचेकाहरूचाहिँ फर्केर उजाड़-स्‍थानमा भएको रिम्‍मोनको चट्टानतिर भागे। इस्राएलीहरूले बाटाहरूमा उनीहरूका पाँच हजार जति यताउता छोड़िएकाहरूलाई समातेर मारे। तिनीहरूले बेन्‍यामीनीहरूलाई गीदोमसम्‍म खेदे, र अझै दुई हजार जनालाई मारे।

46त्‍यस दिन बेन्‍यामीनीहरूका हतियार भिरेका पच्‍चीस हजार योद्धाहरू लड़ाइँमा मारिए।

47तर बाँचेका छ सय जनाचाहिँ फर्केर उजाड़-स्‍थानमा भएको रिम्‍मोनको चट्टानमा भागे र त्‍यहाँ चार महिनासम्‍म बसे।

48इस्राएलीहरू बेन्‍यामीनतिर फर्के, र सहरहरूमा भएका मानिसहरू र गाईबस्‍तुहरूलाई र भेट्टाएको हरेक प्राणीलाई तिनीहरूले तरवारले मारे। तिनीहरूले भेट्टाएको हरेक सहरलाई पनि आगो लगाइदिए।

icle>