1अनि मैले हेरें, र सियोन डाँड़ामा थुमा खड़ा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए।
2अनि धेरै पानीहरूको आवाजजस्तै, र ठूलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर मैले सुनें। मैले सुनेको त्यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाको सोरजस्तो थियो।
3सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाउँदथे। पृथ्वीबाट मोल तिरी छुटाएका एक लाख चवालीस हजारले बाहेक कसैले त्यो गीत सिक्न सक्दैनथ्यो।
4तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए। थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन्। परमेश्वर र थुमाको निम्ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुटाइएका थिए।
5तिनीहरूका मुखमा कुनै झूट पाइएन, तिनीहरू निष्खोट छन्।
6अनि अर्को स्वर्गदूतलाई मध्य आकाशमा उड़िरहेका मैले देखें। पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसलाई घोषणा गर्ने अनन्त सुसमाचार तिनीसँग थियो।
7तिनले चर्को सोरमा भने, “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ। स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।”
8अनि एउटा अर्को स्वर्गदूत, अर्थात् दोस्राचाहिँ यसो भन्दै पछिपछि लागे, “पतन भयो! जाति-जातिलाई आफ्नो व्यभिचारका क्रोधको मद्य पिउन लाउने महान् बेबिलोनको पतन भयो।”
9त्यसपछि तेस्रा स्वर्गदूत चर्को सोरले यसो भन्दै तिनीहरूका पछि आए, “यदि कुनै मानिसले त्यो पशु र त्यसको मूर्तिलाई पुज्यो र निधार वा हातमा त्यसको छाप लियो भने,
10त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ।
11तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्तिर गइरहनेछ। तिनीहरू यी नै हुन् जसले त्यो पशु र त्यसको मूर्तिलाई पूजा गर्छन्, र त्यसका नाउँको छाप लिन्छन्। तिनीहरूले दिनरात कहिल्यै पनि आराम पाउनेछैनन्।”
12परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ।
13अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनें, “यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले आ-आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।”
14अनि मैले हेरें, र एउटा सेतो बादल र त्यसमाथि बस्नुभएको मानिसको पुत्रजस्तो एक जनालाई देखें, जसको शिरमा सुनको मुकुट थियो र हातमा एउटा धारिलो हँसिया थियो।
15अर्को एउटा स्वर्गदूत मन्दिरबाट बाहिर आए, र बादलमाथि बस्नुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिनुहोस्, र कटनी गर्नुहोस्, किनकि कटनीको समय आएको छ, किनभने पृथ्वीको बाली पूरै पाकिसकेको छ।”
16यसरी बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, अनि पृथ्वीको कटनी भयो।
17अनि स्वर्गमा भएको मन्दिरबाट एउटा अर्को स्वर्गदूत बाहिर आए। तिनीसँग पनि एउटा धारिलो हँसिया थियो।
18तब वेदीबाट अर्को स्वर्गदूत आए, जसको आगोमाथि शक्ति थियो। धारिलो हँसिया लिनेलाई चर्को सोरले तिनले भने, “तिम्रो धारिलो हँसिया चलाऊ, र पृथ्वीका अंगूरका झुप्पाहरू जम्मा गर, किनकि पृथ्वीका अंगूर पूरै पाकिसकेका छन्।”
19ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र पृथ्वीका अंगूरको फसल जम्मा गरे, र त्यसलाई परमेश्वरका क्रोधको ठूलो दाख-कुण्डमा फालिदिए।
20सहर बाहिरको दाख-कुण्डमा ती अंगूर कुल्चिए, दाख-कुण्डबाट रगत निस्किबग्यो। त्यो रगत घोडाको लगामसम्म पुग्ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्म फैलिएको थियो।