प्रकाश 15:1-8 NNRV2012 - Bible AI

1मैले स्‍वर्गमा ठूलो र अचम्‍मको अर्को एउटा चिन्‍ह देखें: सात स्‍वर्गदूतहरूले सात वटा अन्‍तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्‍वरको क्रोध समाप्‍त भएको छ।

2आगोसँग मिसिएका काँचको समुद्रजस्‍तो मैले देखें। त्‍यहाँ पशु र त्‍यसको मूर्तिमाथि र त्‍यसका नाउँको संख्‍यामाथि विजय पाउनेहरू आफ्‍ना हातमा परमेश्‍वरको वीणा लिई त्‍यस काँचका समुद्रको किनारमा खड़ा थिए।

3तिनीहरूले यसो भनेर परमेश्‍वरका दास मोशाको भजन र थुमाको भजन गाउँदैथिए,

3“हे परमप्रभु परमेश्‍वर सर्वशक्तिमान्, तपाईंका कार्य महान्‌ र आश्‍चर्यपूर्ण छन्, युग-युगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्‍य छन्‌।

4हे परमप्रभु, तपाईंको डर कसले मान्‍दैन? र तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्‍छ। सबै जातिले आएर तपाईंलाई दण्‍डवत्‌ गर्नेछन्, किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट भएका छन्‌।”

5यी कुरापछि मैले हेरें, र स्‍वर्गमा गवाहीका मण्‍डपको मन्‍दिर उघारियो।

6स्‍वच्‍छ र उज्‍ज्‍वल वस्‍त्र धारण गरेका र छातीमा सुनौलो फित्ता बाँधेका सात स्‍वर्गदूतहरू सात विपत्ति लिएर मन्‍दिरबाट बाहिर निस्‍के।

7ती चार जीवित प्राणीमध्‍ये एउटाले सदासर्वदा जीवित रहनुहुने परमेश्‍वरको क्रोधले भरिएका सुनका सात कचौरा ती सात स्‍वर्गदूतलाई दिए।

8अनि परमेश्‍वरको महिमा र उहाँका शक्तिको कारण मन्‍दिर धूवाँले भरियो। ती सात स्‍वर्गदूतका सात विपत्ति नसिद्धिञ्‍जेल कोही पनि मन्‍दिरभित्र पस्‍न सकेन।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>