1ती सात कचौरा लिने सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर मलाई भने, “यता आऊ, म तिमीलाई धेरै पानीहरूमा बसेकी त्यस महा वेश्यालाई दिइएको इन्साफ देखाउनेछु।
2त्यससँग पृथ्वीका राजाहरूले व्यभिचार गरेका छन्, र पृथ्वीका बासिन्दाहरू त्यसका व्यभिचारको मद्यले मातेका छन्।
3अनि तिनले मलाई आत्मामा बोकेर एउटा उजाड-स्थानभित्र लगे। त्यहाँ सात वटा शिर र दश वटा सीङ भएको ईश्वर-निन्दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखें।
4त्यस स्त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्यो सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्दा कुरा, अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला हातमा लिएकी थिई।
5त्यसको निधारमा एउटा नाउँ लेखिएको थियो:
6अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें।
7तब ती स्वर्गदूतले मलाई भने, “तिमी किन अचम्म मान्दछौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दश सीङ भएको पशुको रहस्य म तिमीलाई बताउनेछु।
8तिमीले देखेको त्यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्डबाट त्यो माथि उक्लन लागेको छ। अनि पृथ्वीका बासिन्दाहरू, जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यस पशुलाई देखेर अचम्म मान्नेछन्, किनकि त्यो एक समय थियो, तर अब छैन र पछि आउनेछ।
9“बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बसेकी छे।
10तिनीहरू सात राजाहरू पनि हुन्— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ।
11त्यो पशु, जो एक समय थियो, तर अब छैन, त्योचाहिँ आठौँ हो। सातमध्येको त्यो एक हो, तर त्यसको सर्वनाश हुनेछ।
12“तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्म राजकीय शक्ति पाएका छैनन्। तर तिनीहरूले त्यस पशुसँग छोटो समयको निम्ति राजाकै अधिकार पाउनेछन्।
13तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यस पशुलाई सुम्पनेछन्।
14तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्वासयोग्य हुन्।”
15ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जहाँ त्यो वेश्या बसेकी छे, तीचाहिँ मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू हुन्।
16अनि तिमीले देखेका ती दश सीङ र त्यस पशुले त्यस वेश्यालाई घृणा गर्नेछन्, र त्यसलाई एकलो र नाङ्गो पार्नेछन्, त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।
17किनकि परमेश्वरको वचन पूरा नहोउञ्जेल एक मनका भई तिनीहरूले आफ्नो राजकीय शक्ति त्यस पशुलाई दिएर उहाँको अभिप्राय पूरा गर्न परमेश्वरले तिनीहरूका हृदयमा यो विचार हालिदिनुभयो!
18तिमीले देखेको त्यो स्त्रीचाहिँ त्यो महानगरी हो, जसले पृथ्वीका राजाहरूमाथि प्रभुत्व गर्छ।