1एफिससका मण्डलीका दूतलाई यो लेख:यी कुरा सात वटा तारा आफ्नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानका बीचमा हिँड्नेले भन्दछ।
2तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्दैनौ तर तिनीहरू जसले प्रेरित हुँ त भन्दछन्, तर वास्तवमा होइनन्, त्यस्तालाई जाँचेर झूटा भेटाएका छौ भनी म जान्दछु।
3म जान्दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ।
4तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ।
5यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्चात्ताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।
6तर तिमीहरूमा यो कुरा त छ, कि तिमीहरूले मैले जस्तै निकोलाइटसहरूका काम घृणा गर्छौ।
7जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु।ⓚ
8अनि स्मुर्नाका मण्डलीका दूतलाई यो लेख:यी कुरा आदि र अन्त्यले भन्दछ, जो मरेको थियो, र फेरि जीवित भयो।ⓛ
9म तिम्रा कष्टहरू र तिम्रो दरिद्रतालाई जान्दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्दछु, जसले आफूलाई यहूदी हौं त भन्छन्, तर वास्तवमा तिनीहरू होइनन्। तिनीहरूले गरेका निन्दा म जान्दछु। तिनीहरू शैतानको सभाघर हुन्।
10तिमीले भोग्नै लागेका कष्टहरूसँग नडराओ। हेर, दियाबलसले[1]तिमीहरूमध्ये कतिलाई तिमीहरूका जाँचको निम्ति कैदमा हाल्न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।
11जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युदेखि केही हानि हुनेछैन। ⓜ
12अनि पर्गाममका मण्डलीका दूतलाई यो लेख: यी कुरा धारिलो दुईधारे तरवार साथमा हुनेले भन्दछ,
13मलाई थाहा छ, तिमी कहाँ बस्छौ, त्यहीँ जहाँ शैतानको सिंहासन छ। तरै पनि तिमीहरू मेरो नाउँमा स्थिर बस्छौ। मेरो विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि ममाथिको आफ्नो विश्वास तिमीहरूले त्यागेनौ। शैतान बस्ने ठाउँमा तिमीहरूकै माझमा तिनी मारिए।
14तर तिमीहरूका विरुद्धमा मसँग केही कुराहरू छन्, किनभने तिमीहरूसँग यस्ता कोही-कोही छन्, जसले बालामको शिक्षा मान्छन्। इस्राएलीहरूका अगाडि ठोकरको कारण बनून् भनी मूर्तिहरूलाई चढ़ाएको भोजन खान र व्यभिचार गर्न बालामले बालाकलाई सिकाए।ⓝ
15यसरी नै तिमीकहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कति जना छन्।
16यसकारण पश्चात्ताप गर, नत्रता म तिमीकहाँ चाँड़ै आउँछु, र मेरो मुखको तरवारले तिनीहरूसँग लड़ाइँ गर्नेछु।
17जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई म गुप्त-मन्नको केही भाग दिनेछु, र म त्यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर दिनेछु, जो पाउनेले बाहेक अरू कसैले जान्दैन।ⓞ
18अनि थिआटीराको मण्डलीका दूतलाई यो लेख: यी कुरा परमेश्वरको पुत्रले भन्दछ, जसका आँखा आगोका ज्वालाजस्ता, जसका पाउ टल्काइराखेको काँसाजस्ता छन्।
19तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ। तिम्रा पछिल्ला काम अघिल्लाभन्दा बढ़ी छन्।
20तर तिम्रो विरुद्धमा मैले यो भन्नु छ: तिमी ईजेबेल भन्ने स्त्रीलाई सहन गर्छौ। त्यसले आफैलाई अगमवादिनी भन्छे, र मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे।ⓟ
21मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो व्यभिचारबाट पश्चात्ताप गर्न इन्कार गरी।
22हेर, म त्यसलाई रोग-शय्यामा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूले त्यसले गरेका कामहरूबाट पश्चात्ताप गरेनन् भने म तिनीहरूलाई महासङ्कष्टमा फालिदिनेछु।
23म त्यसका छोरा-छोरीहरूलाई मार्नेछु। र सबै मण्डलीहरूले थाहा पाउनेछन्, कि म उही हुँ, जसले सबैका मन र हृदयको जाँच गर्दछु, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसार दिनेछु।ⓠ
24तर तिमी थिआटीरामा भएको यो शिक्षा नमान्ने तथा कतिले भनेझैँ शैतानका गहिरा कुराहरू नसिक्ने बाँकी तिमीहरूलाई म भन्दछु, म तिमीहरूमाथि अरू कुनै भार राख्दिनँ।
25त्यसो भए तापनि जे तिमीहरूसँग छ, म नआउञ्जेल त्यसलाई थामिराख।
26जसले जित्छ र मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु,ⓡ
27र फलामको डन्डाले माटोका भाँड़ाहरू टुक्रा-टुक्रा पारेर फोरेझैँ त्यसले तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु।
28म त्यसलाई बिहानको तारा दिनेछु।
29जसको सुन्ने कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।