1त्यसपछि अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखें।
2तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रे, अनि एक हजार वर्षका निम्ति बाँधेर राखे।
3तिनले त्यसलाई अतल कुण्डमा फालिदिए, र त्यो कुण्ड बन्द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्त्य नभएसम्म जाति-जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ।
4तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखें, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू, र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखें। तिनीहरू फेरि जीवित भए, र तिनीहरूले ख्रीष्टसँग एक हजार वर्षसम्म राज्य गरे।
5अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो।
6पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।
7एक हजार वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ,
8र पृथ्वीका चारै दिशामा भएका देश-देशका मानिसहरूलाई बहकाउन, अर्थात् गोग र मागोगलाई लड़ाइँको निम्ति भेला गर्न निस्केर आउनेछ। तिनका संख्या समुद्रका बालुवा जत्तिकै हुनेछ।
9तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूका छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो।
10तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन्।
11तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए, र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन।
12मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए।
13समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आ-आफ्ना कामअनुसार इन्साफ भयो।
14मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।
15जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो।