प्रकाश 3:1-22 NNRV2012 - Bible AI

1 अनि सार्डिसका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरका सात आत्‍मा र सात तारा हुनेले भन्‍दछ। तिम्रा काम मलाई थाहा छ। तिमी जीवित छौ भन्‍ने नाउँ त छ, तर तिमीहरू मरेका छौ।

2जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्‍वरको दृष्‍टिमा सिद्ध भएको भेट्टाएको छैनँ।

3यसकारण तिमीले जे पायौ र सुन्‍यौ, सो सम्‍झ, त्‍यसलाई कायम राख र पश्‍चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्‍तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।

4तर सार्डिसमा कति व्‍यक्ति छन्, जसले आफ्‍ना लुगा बिटुलो पारेका छैनन्‌। तिनीहरू मसँग सेता वस्‍त्र लाएर हिँड्‌नेछन्, किनकि तिनीहरू योग्‍यका छन्‌।

5जसले जित्‍छ, त्‍यसलाई यसरी सेता वस्‍त्र पहिराइन्‍छ, र म त्‍यसको नाउँ जीवनको पुस्‍तकबाट मेटिदिनेछैनँ। म त्‍यसको नाउँ मेरा पिताको सामुन्‍ने र उहाँका दूतहरूका सामुन्‍ने स्‍वीकार गर्नेछु।

6जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।

7 अनि फिलाडेल्‍फियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा त्‍यसले भन्‍दछ, जो पवित्र छ, जो सत्‍य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्‍छ, कसैले थुन्‍नेछैन, र जसले थुन्‍छ, कसैले खोल्‍नेछैन।

8मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्‍ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्‍न सक्‍दैन। तिमीसँग थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्‍कार गरेका छैनौ।

9हेर, शैतानको सभाघरका यहूदी नभए तापनि यहूदी हौं भनी झूटा बोल्‍नेहरूलाई म आएर तिम्रा चरणमा ढोग्‍न लाउनेछु र तिमीलाई म प्रेम गर्दछु भन्‍ने तिनीहरूलाई बुझाइदिनेछु।

10तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्‍यस बेलादेखि म बचाउनेछु, जो पृथ्‍वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।

11म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्‍यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन।

12जसले जित्‍छ, त्‍यसलाई म मेरा परमेश्‍वरका मन्‍दिरको एउटा स्‍तम्‍भ बनाउनेछु, र ऊ त्‍यहाँबाट कहिल्‍यै बाहिर निस्‍कनेछैन। म त्‍यसमा मेरा परमेश्‍वरको नाउँ लेख्‍नेछु, र मेरा परमेश्‍वरका सहरको नाउँ, अर्थात्‌ यरूशलेम लेख्‍नेछु, जो मेरा परमेश्‍वरबाट स्‍वर्गदेखि तल आउँदछ। आफ्‍नै नयाँ नाउँ पनि म त्‍यसमा लेख्‍नेछु।

13जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।

14 अनि लाउडिकियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा आमेन, विश्‍वासयोग्‍य र साँचो साक्षी र परमेश्‍वरका सृष्‍टिको शासकले भन्‍दछ।

15मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।

16किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।

17“म धनी छु, र मसित धन-सम्‍पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्‍दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्‍धा र नाङ्गा छौ।

18यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्‍नो नग्‍नताको शर्म ढाक्‍नलाई सेतो वस्‍त्र र तिमीले देख्‍न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्‍ने म तिमीलाई सल्‍लाह दिन्‍छु।

19जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्‍काउँछु, र ताड़ना दिन्‍छु। यसकारण उत्‍साहित होओ। पश्‍चात्ताप गर।

20हेर, म ढोकामा उभिएर ढकढक्‍याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्‍यसकहाँ भित्र पस्‍नेछु र त्‍यससँग भोजन खानेछु, र त्‍यसले मसँग खानेछ।

21जसले जित्‍छ, त्‍यसलाई म मेरो सिंहासनमा मसित बस्‍न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु।

22जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>