प्रकाश 5:1-14 NNRV2012 - Bible AI

1सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीमा भित्र र बाहिरपट्टि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें, जो सात वटा मोहोर लगाएर बन्‍द गरिएको थियो।

2अनि एउटा बलवान्‌ स्‍वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्‍न र यसका मोहोरहरू तोड्‌न योग्‍य को छ?”

3स्‍वर्गमा अथवा पृथ्‍वीमा वा पृथ्‍वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्‍न वा त्‍यसभित्र हेर्न सक्‍ने कोही थिएन।

4कोही पनि त्‍यो चर्मपत्रको मुट्ठो खोल्‍ने अथवा त्‍यसभित्र हेर्ने योग्‍यको नपाइएको हुनाले म खूबै रोएँ।

5तब धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्‍न विजयी हुनुभएको छ।”

6तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्‍तो देखा पर्नुहुन्‍थ्‍यो। उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्‍थ्‍यो। उहाँका सात वटा सीङ र सात वटा आँखा थिए, जुनहरू सारा पृथ्‍वीमा पठाइएका परमेश्‍वरका सात आत्‍मा हुन्‌।

7उहाँ जानुभयो, र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीबाट त्‍यो मुट्ठो लिनुभयो।

8जब उहाँले त्‍यो मुट्ठो लिनुभयो, तब ती चारै जीवित प्राणी र चौबीसै धर्म-गुरुहरू थुमाको सामुन्‍ने घोप्‍टो परे। प्रत्‍येकको हातमा वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो सन्‍तहरूका प्रार्थना हुन्‌।

9तिनीहरूले यसो भन्‍दै एउटा नयाँ गीत गाए:

9“तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्‍यसका मोहोरहरू तोड्‌ने योग्‍यका हुनुहुन्‍छ, तपाईं मारिनुभयो र आफ्‍नो रगतद्वारा तपाईंले परमेश्‍वरको निम्‍ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो,

10र तिनीहरूलाई राज्‍य र हाम्रा परमेश्‍वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्‍वीमा राज्‍य गर्नेछन्‌।”

11तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्‍वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्‍या लाखौँ र करोडौँ थियो।

12तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए,

12“मारिएका थुमा सामर्थ्‍य, वैभव, बुद्धि, शक्ति सम्‍मान, महिमा, र स्‍तुति ग्रहण गर्ने योग्‍यका हुनुहुन्‍छ।”

13अनि स्‍वर्गमा, पृथ्‍वीमा, पृथ्‍वीमुनि, समुद्र र त्‍यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्‍तुति, सम्‍मान, महिमा, र सामर्थ्‍य सदासर्वदा होस्‌।”

14तब ती चारै जीवित प्राणीले भने, “आमेन।” अनि ती धर्म-गुरुहरूले घोप्‍टो परेर दण्‍डवत्‌ गरे।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>