प्रकाश 8:1-13 NNRV2012 - Bible AI

1जब थुमाले सातौँ मोहोर तोड्‌नुभयो, तब प्राय: आधा घण्‍टासम्‍म स्‍वर्गमा सन्‍नाटा छायो।

2परमेश्‍वरको सामुन्‍ने उभिने सात स्‍वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो।

3अनि अर्को एउटा स्‍वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्‍ने रहेका सुनको वेदीमाथि सबै सन्‍तहरूका प्रार्थनासँग चढ़ाउनका निम्‍ति तिनलाई धेरै धूप दिइयो।

4धूपको धूवाँ सन्‍तहरूका प्रार्थनाका साथ स्‍वर्गदूतको हातबाट परमेश्‍वरको सामुन्‍ने मास्‍तिर गयो।

5तब स्‍वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्‍यसमा भरिदिए, र पृथ्‍वीमा फ्‍याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्‍पन्‍न भए र भूकम्‍प गयो।

6ती सात वटा तुरही हुने सातै स्‍वर्गदूत तुरही फुक्‍न तयारी भए।

7पहिलो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र रगतसँग मिसिएको असिना र आगो आइहाल्‍यो, र ती पृथ्‍वीमा बर्सिन लाग्‍यो। अनि पृथ्‍वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू डढ़िहाले।

8दोस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो पहाड़जस्‍तो समुद्रमा फालियो,

9र समुद्रको एक तिहाइ भाग रगत बन्‍यो। अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे, र जहाजहरूको एक तिहाइ भाग नष्‍ट भए।

10तेस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र आकाशबाट बल्‍दो राँकोझैँ एउटा ठूलो तारा खस्‍यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्‍यो खस्‍यो।

11त्‍यस ताराको नाउँ “ऐरेलु” हो, र त्‍यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।

12चौथो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्‍द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्‍धकारले छोप्‍यो। तब दिनको एक तिहाइ ज्‍योतिविहीन भयो, त्‍यसरी नै रातको एक तिहाइ पनि।

13मैले हेरें, र मध्‍य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्‍दै चर्को सोरले कराएको सुनें, “फुक्‍न बाँकी रहेका तीन स्‍वर्गदूतका अरू तुरहीका आवाजको कारणले पृथ्‍वीमा वास गर्नेहरूलाई धिक्‍कार! धिक्‍कार! धिक्‍कार!”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>