प्रस्‍थान 11:1-10 NNRV2012 - Bible AI

1तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्‍याउनेछु। त्‍यसपछि त्‍यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ, र त्‍यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ।

2अब मानिसहरूलाई भन्, कि तिनीहरू हरेक पुरुष र स्‍त्रीले आ-आफ्‍ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्‌।”

3(अनि परमप्रभुले मिश्रीहरूलाई ती मानिसहरूप्रति कृपालु बनाइदिनुभयो। त्‍यसबाहेक मोशा मिश्रदेशमा फारोका अधिकारीहरू र समाजका दृष्‍टिमा महान्‌ ठानिए।)

4यसैले मोशाले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मध्‍यराततिर म मिश्रको बीचबाट भएर जानेछु।

5सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्‍ने कमारीको जेठो छोरासम्‍म, गाईबस्‍तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्‌।

6सारा मिश्रभरि अघि कहिल्‍यै नसुनिएको क्रन्‍दन सुनिनेछ, जो फेरि सुनिनेछैन।

7तर पशुको विरुद्धमा होस्‌ वा मान्‍छेको विरुद्धमा होस्‌ इस्राएलीहरूका बीचमा एउटा कुकुर पनि भुक्‍नेछैन’। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा भेद राख्‍नुहुन्‍छ।

8अनि तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्‍डवत्‌ गरेर भन्‍नेछन्, ‘तपाईंका पछि लाग्‍ने सारा मानिसहरूसमेत तपाईं निस्‍किजानुहोस्‌।’ त्‍यसपछि म निस्‍किजानेछु।” तब मोशा अत्‍यन्‍त क्रोधित भएर फारोकहाँबाट गइहाले।

9परमप्रभुले मोशालाई भन्‍नुभएको थियो, “मिश्रमा मेरा आश्‍चर्यका कामहरू अझ बढ्‌दैजाऊन्‌ भनेर फारोले तेरो कुरा सुन्‍नेछैन।”

10मोशा र हारूनले यी सबै आश्‍चर्यका कामहरू फारोको सामु गरे। तर परमप्रभुले फारोको हृदय कठोर गराइदिनुभयो, र उनले इस्राएलीहरूलाई आफ्‍नो देशबाट जान दिएनन्‌।

>