प्रस्‍थान 13:1-22 NNRV2012 - Bible AI

1परमप्रभुले मोशालाई भन्‍नुभयो,

2“इस्राएलीहरूमध्‍येका मानिस र पशुका गर्भका प्रथम फल, अर्थात्‌ पहिले जन्‍मेका सबै नरहरूलाई मेरो निम्‍ति अर्पण गर्‌। ती मेरा हुन्‌।”

3तब मोशाले मानिसहरूलाई भने, “दासत्‍वको देश, मिश्रबाट निस्‍केर आएको यस दिनको तिमीहरूले सम्‍झना राख, किनकि परमप्रभुले आफ्‍नो बाहुलीको शक्तिले तिमीहरूलाई त्‍यस ठाउँबाट निकालेर ल्‍याउनुभयो। यस दिन खमिर हालेको कुनै रोटी नखाइओस्‌।

4आबीब महिनाको आजकै दिनमा तिमीहरू निस्‍केर जाँदैछौ।

5जब परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्‍वी र यबूसीहरूको देश, अर्थात्‌ दूध र मह बग्‍ने देशमा ल्‍याउनुहुनेछ, जुन देश उहाँले तिमीहरूका पिता-पुर्खासित ‘म दिन्‍छु’ भन्‍ने शपथ खानुभएको थियो, तब यही महिनामा यो चाड़ मान्‍नू।

6सात दिनसम्‍म तिमीहरूले अखमिरी रोटी खानू, र सातौँ दिनमा चाहिँ परमप्रभुको निम्‍ति एउटा चाड़ मनाउनू।

7ती सात दिनसम्‍म अखमिरी रोटी खानू। तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन।

8त्‍यस दिन तिमीहरूले आफ्‍नो छोरालाई यसो भन्‍नू, ‘जब म मिश्रबाट निस्‍केर आएँ, तब परमप्रभुले मेरो निम्‍ति जे गर्नुभयो, यो त्‍यसैको निम्‍ति गरिएको हो’।

9परमप्रभुको व्‍यवस्‍था तिमीहरूका मुखमा रहोस्‌ भनेर यो तिमीहरूका निम्‍ति हातमा एउटा चिन्‍ह र निधार अगि तिमीहरूलाई सम्‍झना गराउने कुरा हुनेछ, किनकि परमप्रभुले आफ्‍नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो।

10यो विधि वर्षेनी ठहराइएको समयमा मान्‍ने गर्नू।

11“जब परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खासित शपथ खाएर प्रतिज्ञा गर्नुभएबमोजिम कनानीहरूको देशमा तिमीहरूलाई पुर्‍याएर त्‍यो देश तिमीहरूलाई दिनुहुनेछ,

12तब हरेक गर्भको प्रथम फल परमप्रभुलाई दिनू। तिमीहरूका पशुहरूबाट पहिले बियाएका सबै नरहरूचाहिँ परमप्रभुको निम्‍ति हुनेछन्‌।

13पहिले बियाएको बछेड़ोलाई एउटा पाठो दिएर छुटाउनू, तर त्‍यो छुटाएनौ भने त्‍यसको घाँटी भाँचिदिनू। आफ्‍ना छोराहरूमध्‍ये जेठालाई छुटाउनू।

14“जब भविष्‍यमा तिमीहरूको छोराहरूले तिमीहरूलाई यो के हो भनी सोध्‍नेछ, तब तिमीहरूले त्‍यसलाई भन्‍नू, परमप्रभुले हामीलाई दासत्‍वको देश, मिश्रबाट आफ्‍नो शक्तिशाली बाहुलीले निकालेर ल्‍याउनुभयो।

15जब फारोले कठोर भएर हामीलाई जान दिएनन्, तब परमप्रभुले मिश्रमा सबै मानिस र पशु दुवैका पहिले जन्‍मेकालाई मार्नुभयो। यसैकारण हरेक गर्भको पहिलो बियाएको पाठालाई परमप्रभुको निम्‍ति बलिदान गर्दछु, र मेरा छोराहरूमध्‍येका जेठालाई चाहिँ छुटाउँछु।

16यो परमप्रभुले हामीलाई आफ्‍नो शक्तिशाली बाहुलीले मिश्रबाट निकालेर ल्‍याउनुभएको हो भनी तिमीहरूका निम्‍ति हातमा भएको एउटा चिन्‍ह र निधारमा भएको एउटा सङ्केत हुनेछ।”

17जब फारोले ती मानिसहरूलाई जान दिए, तब पलिश्‍तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्‍वरले तिनीहरूलाई त्‍यो बाटो भएर ल्‍याउनुभएन। किनकि परमेश्‍वरले भन्‍नुभयो, “यी मानिसहरू लड़ाइँ देखेर पछुतो गर्लान्‌ र मिश्रमा नै फर्की जालान्‌।”

18यसकारण परमेश्‍वरले तिनीहरूलाई घुमाएर उजाड़-स्‍थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इस्राएलीहरू सशस्‍त्र भई मिश्रबाट हिँड़े।

19मोशाले योसेफका अस्‍थिहरू साथमा लगे, किनकि तिनले इस्राएलीहरूलाई यस कुरामा यसो भनेर शपथ खान लाएका थिए, “परमेश्‍वरले अवश्‍य तिमीहरूको हेर-विचार गर्नुहुनेछ। त्‍यस बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू।”

20तिनीहरू सुक्‍कोतबाट गएपछि, उजाड़-स्‍थानको नजिकै एथाममा डेरा बनाएर वास बसे।

21अनि तिनीहरू रातदिन हिँड्‌न सकून्‌ भनेर तिनीहरूलाई बाटो देखाउनका निम्‍ति परमप्रभु दिनमा बादलको खामो र राती आगोको खामोमा तिनीहरूको अगिअगि जानुहुन्‍थ्‍यो।

22दिनमा बादलको खामो र राती आगोको खामो मानिसहरूका अगिअगि जान कहिल्‍यै छोड़ेन।

>