1इस्राएलीहरूका सारा समुदाय सीनको उजाड़-स्थानबाट परमप्रभुको आज्ञाबमोजिम ठाउँ-ठाउँमा यात्रा गरेर रपीदीममा आइपुगे। त्यहाँ तिनीहरूले डेरा बनाए, तर मानिसहरूका निम्ति खाने पानी थिएन।
2यसकारण तिनीहरूले मोशासित झगड़ा गरेर भने, “हामीलाई खाने पानी दिनुहोस्।”
3तर मानिसहरूलाई पानीको तिर्खा लाग्यो, र ती यसो भनेर मोशाको विरुद्धमा गनगनाए, “तपाईंले हामी, हाम्रा बालबच्चा र पशुहरूलाई तिर्खाले मार्न किन मिश्रबाट यहाँ ल्याउनुभयो?”
4तब मोशाले यसो भनी परमप्रभुलाई पुकारा गरे, “म यी मानिसहरूलाई के गरूँ? यिनीहरूले त मलाई ढुङ्गाले हान्नै आँटेका छन्।”
5परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूका धर्म-गुरुहरूमध्ये कतिलाई साथमा लिएर मानिसहरूका अगिअगि जा, र तैंले नील नदीलाई हिर्काएको तेरो लहुरो पनि आफ्नो हातमा लिएर जा।
6म होरेबमा भएको चट्टानमा तेरो अगि खड़ा हुनेछु। तैंले चट्टानलाई हिर्काउनू, र मानिसहरूले पिउनलाई त्यहाँबाट पानी निस्कनेछ।” तब मोशाले इस्राएलीहरूका धर्म-गुरुहरूका सामुन्ने त्यसै गरे।
7“परमप्रभु हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्न” भन्ने इस्राएलीहरूका झगड़ाको कारण र तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्यस ठाउँको नाउँ तिनले मस्साह
8तब अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि आक्रमण गरे।
9अनि मोशाले यहोशूलाई भने, “हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लहुरो मेरा हातमा लिएर म डाँड़ाको टाकुरामा खड़ा हुनेछु।”
10तब मोशाले तिनलाई भनेबमोजिम यहोशूले गरे, र अमालेकीहरूका विरुद्धमा लड्न लागे। मोशा, हारून र हूरचाहिँ डाँड़ाको टाकुरामा गए।
11मोशाले आफ्ना हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे। तर तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्थे।
12जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनीमुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्त नहोउञ्जेल तिनका हात स्थिर रहे।
13अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।
14तब परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरो सम्झनाको निम्ति एउटा पुस्तकमा लेख्, र त्यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।”
15मोशाले त्यहाँ एउटा वेदी बनाएर त्यसको नाउँ “परमप्रभु मेरो झन्डा” राखे।
16अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्तौँ-पुस्तौँसम्म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।”