1झूटा गवाही नदेओ। दुष्टको साथ लागेर त्यसको निम्ति ईर्ष्यापूर्ण गवाह नबन।
2खराबी गर्न भीड़सँग नलाग। मुद्दामा बहुमततिर लागी गवाही दिएर इन्साफ नबिगार।
3गरीब भनेर उसको मुद्दामा पनपक्ष नगर।
4यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदैगरेको देख्यौ भने, त्यसलाई फर्काएर फेरि त्यसकहाँ ल्याइदेओ।
5तिमीहरूसित रीस-इबी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने, त्यसलाई त्यतिकै नछोड़, तर त्यसलाई उठाओ।
6मुद्दामा गरीब मानिसको न्याय नखोस।
7झूटा कुराबाट दूर बस। निरपराध र ईमानदारलाई प्राणदण्ड नदेओ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउनेछैनँ।
8“घूस नखाओ, किनकि घूसले मानिसलाई अन्धा तुल्याउँछ, र धार्मिकताको कुरालाई उल्टाइदिन्छ।”
9“प्रवासीलाई अत्याचार नगर। तिमीहरू मिश्रमा परदेशी रहेको कारण तिमीहरूले प्रवासीको मनलाई जान्दछौ।”
10“छ वर्षसम्म आफ्नो जमिनमा बीउ छरेर त्यसको उब्जनी बटुल,
11तर सातौँ वर्षमा चाहिँ त्यसलाई नजोती बाँझै छोड़िदेओ, र त्यसबाट तिमीहरूमध्येका गरीबहरूले खाऊन्। तिनीहरूले उबारेका चाहिँ जङ्गली पशुहरूले खाऊन्। तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर।”
12छ दिनसम्म आफ्नो कामकाज गर र सातौँ दिनमा चाहिँ विश्राम लेओ, र तिमीहरूको गोरु, गधा, तिम्रो घरमा जन्मेको दास, र विदेशी पनि ताजा होऊन्।
13मैले भनेका सबै कुरामा तिमीहरूले ध्यान देओ। अरू देवताहरूको नाउँ नै पनि नलेओ। ती तिमीहरूको मुखबाट उच्चारण नै नहोस्।
14“वर्षमा तीन पल्ट तिमीहरूले मेरो निम्ति चाड़ मनाओ।
15तिमीहरूले अखमिरी रोटीको चाड़ मान। तिमीहरूलाई आज्ञा गरेबमोजिम आबीब महिनाको ठहराएको समयमा सात दिनसम्म अखमिरी रोटी खानू, किनकि त्यही महिनामा तिमीहरू मिश्रबाट निस्केर आएका हौ।
16“तिमीहरूले खेतमा छरेको अन्नको अगौटे फल चढ़ाएर कटनीको चाड़ मनाओ।”
17“वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुषहरू परमप्रभुको सामु देखा परून्।
18“मलाई चढ़ाउने बलिको रगत खमिरको रोटीसँग नचढ़ाओ।
19“तिमीहरूको जमिनका अगौटे फलमध्येका सबभन्दा असल फलचाहिँ परमप्रभु आफ्ना परमेश्वरको घरमा ल्याउनू।
20“हेर, बाटामा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुर्याउनलाई म एउटा दूत तिमीहरूका अगिअगि पठाउनेछु।
21ध्यान दिएर तिनको कुरा सुन। तिनको विरुद्धमा नउठ, किनभने तिनले तिमीहरूको अपराध क्षमा गर्नेछैनन्, किनकि तिनैमा मेरो नाउँ छ।
22यदि तिमीहरूले तिनको कुरा सुन्यौ, र मैले भनेको सबै गर्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु र तिमीहरूका विरोधीहरूको विरोधी हुनेछु।
23मेरा दूत तिमीहरूका अगिअगि जानेछन्, र एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूको देशमा तिमीहरूलाई पुर्याउनेछन्, र म उनीहरूको नाउँनिशान मेटिदिनेछु।
24उनीहरूका देवताहरूलाई नढोग, पूजा नगर, र उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिलकुलै नाश गर, र उनीहरूका चोखा ढुङ्गाहरूलाई टुक्रा-टुक्रा पार।
25तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नू, र उहाँले तिमीहरूका अन्नपानीमा आशिष् दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु।
26तिमीहरूको देशमा कोही गर्भ तुहुने वा बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु दिनेछु।”
27“म आफ्नो आतङ्क तिमीहरूका अगिअगि फैलाउनेछु, र तिमीहरू जुन जातिकहाँ जानेछौ उनीहरू सबैमा म गोलमाल ल्याउनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई तिमीहरूको सामुन्नेबाट भगाउनेछु।
28म तिमीहरूका अगिअगि अरिङ्गाल पठाउनेछु, र त्यसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछ।
29तर म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट एकै वर्षमा धपाउनेछैनँ, नत्रता देश उजाड़ भएर जानेछ, र जङ्गलका जन्तुहरू तिमीहरूका लागि संख्यामा धेरै हुनेछन्।
30तिमीहरू बढ़ेर त्यो देश आफ्नो अधिकारमा नपारुञ्जेल अलि-अलि गरेर म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछु।”
31“म तिमीहरूका सिमाना लाल समुद्रदेखि पलिश्तीहरूको समुद्रसम्म,
32तिमीहरूले उनीहरू र उनीहरूका देवताहरूसँग करार नबाँध्नू।
33तिमीहरूको देशमा उनीहरूलाई बस्न नदिनू, नत्रता उनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लाउँछन्, किनकि तिमीहरूले उनीहरूका देवताको पूजा गर्यौ भने तिमीहरू निश्चय नै उनीहरूका फन्दामा पर्नेछौ।”