1फेरि उहाँले मोशालाई भन्नुभयो, “तँ, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्ये सत्तरी जना परमप्रभुकहाँ माथि उक्लेर आओ, र टाढ़ैबाट आफ्नो भक्ति चढ़ाओ।
2तर मोशा मात्र परमप्रभुकहाँ आओस्, अरूहरूचाहिँ नजिक नआऊन्। मानिसहरू पनि त्योसित माथि उक्लेर नआऊन्।”
3जब मोशाले गएर परमप्रभुका सबै कुरा र विधिविधानहरू मानिसहरूलाई सुनाए, तब तिनीहरू सबैले एकै सोर गरी भने, “परमप्रभुले भन्नुभएका सबै वचनहरू हामी पालन गर्नेछौं।”
4तब मोशाले परमप्रभुका सबै वचनहरू लेखे।
5तब तिनले इस्राएलका जवानहरूलाई पठाए, र तिनीहरूले परमप्रभुको निम्ति होमबलि र साँढ़ेहरूको मेलबलि चढ़ाए।
6मोशाले आधा रगत लिएर कचौरामा हाले, र आधा रगतचाहिँ वेदीमा छर्के।
7त्यसपछि तिनले करारको पुस्तक लिएर मानिसहरूका सामुन्ने पढ़े। तिनीहरूले जवाफ दिए, “परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।”
8तब मोशाले रगत लिएर मानिसहरूमाथि छर्के, र भने, “हेर, यो त्यस करारको रगत हो, जो परमप्रभुले आफ्ना यी सबै वचनअनुसार तिमीहरूसित बाँध्नुभएको छ।”
9त्यसपछि मोशा, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्ये सत्तरी जना माथि उक्ले,
10र इस्राएलका परमेश्वरलाई देखे। उहाँका खुट्टामुनि नीरले छापेको, आकाशजस्तै सफा भएको पेटीजस्तो थियो।
11तर उहाँले इस्राएलीहरूका नाइकेहरूका विरुद्धमा आफ्नो हात उठाउनुभएन, र तिनीहरूले परमेश्वरलाई देखे र खानपान गरे।
12अनि परमप्रभुले मोशालाई भन्नुभयो, “पर्वतमाथि मकहाँ आएर यहाँ बस्। तैंले तिनीहरूलाई सिकाउनलाई मैले लेखेका व्यवस्था र आज्ञाहरूका शिला-पाटीहरू तँलाई दिनेछु।”
13तब मोशा र तिनका सेवक यहोशू उठेर परमेश्वरको पर्वतमा गए।
14मोशाले धर्म-गुरुहरूलाई भने, “हामी तिमीहरूकहाँ नआउञ्जेल तिमीहरू यहीँ हामीहरूलाई पर्ख। हारून र हूर तिमीहरूसँग छन्। कसैको केही विवाद भए तिनीहरूकहाँ जाऊन्।”
15तब मोशा पर्वतमा उक्ले र बादलले पर्वतलाई ढाकिराख्यो।
16परमप्रभुको महिमा सीनै पर्वतमा रह्यो, र बादलले छ दिनसम्म पर्वतलाई ढाकिराख्यो। सातौँ दिनमा परमप्रभुले बादलको बीचबाट मोशालाई बोलाउनुभयो।
17इस्राएलीहरूका दृष्टिमा परमप्रभुका महिमाको रूप पर्वतको टाकुरामा भस्म पार्ने आगोजस्तै थियो।
18तब मोशा बादलको बीचमा भएर पर्वतमा उक्ले, र तिनी पर्वतमा चालीस दिन र चालीस रात रहे।