1परमप्रभुले मोशालाई भन्नुभयो,
2इस्राएलीहरूलाई भन्, कि तिनीहरूले मेरो निम्ति भेटी ल्याऊन्। हरेकले आफ्नो मनको राजीखुशीअनुसार चढ़ाएको भेटी तैंले मेरो निम्ति ग्रहण गर्।
3तिनीहरूबाट लिने भेटीचाहिँ यी नै हुन्छन्: सुन, चाँदी, काँसो,
4नीलो, बैजनी, रातो धागो र मलमलको कपड़ा, बाख्राका भुत्ला,
5रातो रङ्गले रङ्गाएका भेड़ाका छालाहरू, सीलका छालाहरू, बबुलका काठ,
6बत्तीको निम्ति भद्राक्षको तेल, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला,
7एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू किसिमका रत्नहरू।
8म तिनीहरूका मध्यमा बस्नलाई तिनीहरूले मेरो लागि एउटा पवित्रस्थान बनाऊन्।
9मैले तँलाई देखाउने नमूनाबमोजिम पवित्र वासस्थान र त्यसका सबै सामानहरू तैंले बनाउनू।
10“तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाऊन्। त्यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको होस्।
11तैंले त्यसलाई निखुर सुनले मोहोर्नू। भित्र, बाहिर तैंले त्यसलाई मोहोर्नू। त्यसको चारैतिर सुनको बिट बनाउनू।
12त्यसको निम्ति सुनका चार वटा मुन्द्रा ढालेर त्यसका चार खुट्टामा लगाउनू— दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा मुन्द्रा अर्कोपट्टि होऊन्।
13तब तैंले बबुल काठका डन्डाहरू बनाएर ती सुनले मोहोर्नू।
14ती डन्डाहरू सन्दूकका दुवैतिर भएका मुन्द्राहरूमा सन्दूक बोक्नलाई हाल्नू।
15ती डन्डाहरू सन्दूकका मुन्द्राहरूमै रहनुपर्छ, ती त्यहाँबाट ननिकाल्नू।
16तब त्यस सन्दूकभित्र गवाही-पाटी राख्नू, जो म तँलाई दिनेछु।
17“अनि तैंले निखुर सुनको एउटा कृपा-आसन बनाउनू। त्यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको होस्।
18पिटेको सुनका दुई वटा करूबहरू कृपा-आसनका दुवै किनारमा होऊन्—
19एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्यसका दुई किनारमा बनाउनू।
20ती करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाएका र कृपा-आसनलाई आफ्ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आमनेसामने कृपा-आसनतिर फर्केका हुनुपर्छ।
21त्यो कृपा-आसनलाई सन्दूकको माथि राख्नू, अनि सन्दूकभित्र गवाही-पाटी राख्नू, जो म तँलाई दिनेछु।
22त्यहीँ म तँसित भेट गर्नेछु, अनि कृपा-आसनमाथि, गवाही-पाटीको सन्दूकमाथि हुने ती दुई करूबहरूका बीचबाट इस्राएलीहरूका निम्ति सबै आज्ञाहरू म तँलाई दिनेछु।”
23“तैंले बबुल काठको एउटा टेबिल बनाउनू। त्यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको होस्।
24त्यसलाई निखुर सुनले मोहोर्नू, र त्यसका चारैतिर सुनको बिट लगाउनू।
25त्यसका चारैतिर चार अङ्गुल चौड़ा भएको एउटा घेरो बनाउनू, र घेरोका चारैतिर सुनको बिट लगाउनू।
26टेबिलका निम्ति सुनका चार वटा मुन्द्रा बनाउनू, र ती मुन्द्राहरू त्यसका चार खुट्टा भएका चारै कुनामा लगाउनू।
27टेबिल बोक्ने डन्डाहरूका निम्ति ठाउँ हुनलाई ती मुन्द्राहरू घेरोको छेवैमा होऊन्।
28ती डन्डाहरू बबुल काठका होऊन्। तिनलाई सुनले मोहोर्नू, र तिनैले टेबिल बोकिओस्।
29तैंले टेबिलका निम्ति निखुर सुनका थालहरू, धूपदानहरू, र अर्घ खन्याउनका निम्ति करुवा र कचौराहरू बनाउनू।
30टेबिलमा मेरो अगि सधैँ उपस्थितिको रोटी राख्नू।
31“तैंले निखुर सुनको एउटा सामदान पिटेर बनाउनू। त्यसका आधार, डन्डा, फूलजस्ता कचौरा, कोपिला र फूलहरू सबै त्यही एउटै टुक्राबाट बनाउनू।
32त्यसका छ वटा हाँगा बाहिरतिर निस्केका होऊन्— तीन वटा हाँगा सामदानको एकापट्टि र तीन वटा हाँगा अर्कोपट्टि।
33एउटा हाँगामा हाड़े-बदामका फूलजस्ता तीन कचौरा, र साथै कोपिला र फूलहरू होऊन्। अर्को हाँगामा पनि तीन वटा। सामदानबाट निस्केका ती छ वटै हाँगामा यस्तै होऊन्।
34साथै, सामदानमा हाड़े-बदामका फूलजस्ता चार वटा कचौरा, आ-आफ्नै कोपिला र फूलसमेत होऊन्।
35सामदानबाट निस्केको पहिलो जोड़ी हाँगामुनि एउटा कोपिलो, दोस्रो जोड़ीमुनि दोस्रो कोपिलो, तेस्रो जोड़ीमुनि तेस्रो— छ वटै हाँगाहरूमध्येका दुई-दुई वटा हाँगामुनि एक-एक वटा कोपिला होस्।
36सामदान, त्यसका कोपिला र हाँगाहरू एउटै टुक्रा पिटेको निखुर सुनको होस्।
37त्यसका सात वटा दियाहरू बनाउनू। ती दियाहरू सामदानको अगाड़ि उज्यालो पार्नलाई बालिराख्नू।
38त्यसका सलेदाका चिम्टा र त्यसका मोसोदानी निखुर सुनका होऊन्।
39सामदान र यी सबै पात्रहरू एक तोड़ा
40पर्वतमा तँलाई देखाएको नमूनाबमोजिम तैंले होश गरी ती बनाउनू।