प्रस्‍थान 27:1-21 NNRV2012 - Bible AI

1“तैंले बबुल काठको पाँच हात लामो र पाँच हात चौड़ा भएको एउटा वर्गाकार वेदी बनाउनू। त्‍यसको उचाइ तीन हातको होस्‌।

2त्‍यसका चारै कुनामा एउटा-एउटा सीङ बनाउनू। वेदी र त्‍यसका सीङ त्‍यही एउटै टुक्राले बनाइएका होऊन्‌। वेदीलाई काँसाले मोहोर्नू।

3त्‍यसका खरानी उठाउनका निम्‍ति भाँड़ाहरू, र बेल्‍चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू बनाउनू— त्‍यसका सबै पात्रहरू काँसाका होऊन्‌।

4त्‍यसको निम्‍ति काँसाका जालीको एउटा झिँजा बनाउनू, र जालीमाथि त्‍यसका चारै कुनामा काँसाका चार वटा मुन्‍द्रा लगाउनू।

5तैंले योचाहिँ वेदीको मुन्‍तिर चारैपट्टिको बिटमुनि राख्‍नू, र जाली वेदीको बीचसम्‍म पुगोस्‌।

6वेदीको निम्‍ति बबुल काठका डन्‍डाहरू बनाउनू। ती काँसाले मोहोर्नू।

7त्‍यसका डन्‍डाहरू मुन्‍द्रामा हाल्‍नू, र त्‍यो उठाउँदा ती डन्‍डा वेदीका दुवैतिर होऊन्‌।

8वेदी तैंले फल्‍याकसितै खोक्रो बनाउनू। तँलाई पर्वतमा देखाएबमोजिम त्‍यो बनाइओस्‌।”

9“तैंले पवित्र वासस्‍थानको निम्‍ति चोक बनाउनू। त्‍यसको दक्षिण भागको लमाइ एक सय हातको होस्, र त्‍यसको निम्‍ति मसिनो गरी बाटेको सूती कपड़ाका पर्दाहरू बनाउनू।

10तिनका खम्‍बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै काँसाका होऊन्‌। खम्‍बाका अङ्‌कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका होऊन्‌।

11त्‍यसै गरी उत्तरका भागको निम्‍ति पनि सय हात लामा पर्दाहरू होऊन्, र तिनका खम्‍बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै होऊन्, सबै काँसाका। तर खम्‍बाहरूका अङ्‌कुसे र फित्ताहरूचाहिँ चाँदीका होऊन्‌।”

12“चोकका पश्‍चिमतिरको चौड़ाइको निम्‍ति पचास हातका पर्दाहरू होऊन्‌। तिनका खम्‍बाहरू दश वटा र आधारहरू दश वटै होऊन्‌।

13चोकको सूर्योदय हुने वा पूर्वतिरको चौड़ाइ पचास हातको होस्‌।

14मूल ढोकाको एकतर्फको निम्‍ति पन्‍ध्र हातका पर्दाहरू होऊन्‌। तिनका खम्‍बाहरू तीन वटा र आधारहरू पनि तीन वटै होऊन्‌।

15अर्को तर्फको निम्‍ति पन्‍ध्र हातका पर्दाहरू होऊन्‌। तिनका खम्‍बाहरू तीन वटा र आधारहरू पनि तीन वटै होऊन्‌।”

16“चोकको ढोकाको निम्‍ति नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बीस हातको पर्दा होस्‌। त्‍यसमा बुट्टा हाल्‍नेको काम होस्‌। त्‍यसका खम्‍बाहरू चार वटा र आधारहरू पनि चार वटै होऊन्‌।

17चोकका चारैतिरका सबै खम्‍बाहरूका फित्ता र अङ्‌कुसेहरू चाँदीका होऊन्‌। तिनका आधारहरूचाहिँ काँसाका होऊन्‌।

18चोकको लमाइ एक सय हातको र त्‍यसको चौड़ाइ पचास हातको होस्‌। त्‍यसका पर्दाहरूको उचाइ पाँच हातको होस्‌। ती मसिनो गरी बाटेको सूती कपड़ाका होऊन्, र तिनका आधारहरूचाहिँ काँसाका होऊन्‌।

19पवित्र वासस्‍थानका सबै सेवाका सारा सामानहरू र त्‍यसका र चोकका सबै कीलाहरू काँसाका होऊन्‌।”

20“तैंले इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले प्रकाशको निम्‍ति कुटेका भद्राक्षको शुद्ध तेल ल्‍याऊन्, र दियाहरू निरन्‍तर बलिरहून्‌।

21भेट हुने पालमा गवाही-पाटीको सामु भएको पर्दाबाहिर हारून र त्‍यसका छोराहरूले ती दियाहरू साँझदेखि बिहानसम्‍म परमप्रभुको सामुन्‍ने बालिरहने गरून्‌। इस्राएलीहरूका निम्‍ति तिनका पुस्‍तौँसम्‍मलाई यो अनन्‍तको विधि होस्‌।”

>