प्रस्‍थान 29:1-46 NNRV2012 - Bible AI

1तिनीहरूले पूजाहारीको पदमा मेरो सेवा गरून्‌ भनेर तिनीहरूलाई पवित्र गर्न तैंले तिनीहरूका निम्‍ति गर्नुपर्ने काम यही हो: एउटा बाछा र दुई वटा निष्‍खोट भेड़ा लिएर आइज,

2र रोटी, र तेलमा मुछेको फुरौला र तेल दलेका पातलो बाबर— ती सबै अखमिरी मसिनो गहूँको पीठाको बनाउनू।

3अनि ती डालोमा हालेर त्‍यो टोकरी, बाछा र ती दुवै भेड़ा ल्‍याउनू।

4त्‍यसपछि हारून र त्‍यसका छोराहरूलाई भेट हुने पालको ढोकानेर ल्‍याएर तिनीहरूलाई तैंले पानीले नुहाइदिनू।

5ती पोशाकहरू ल्‍याएर हारूनलाई चाहिँ लबेदा, एपोदको अलखा, एपोद र छाती-पाता पहिराएर निपुणताका साथ बुनेको कमरपेटी त्‍यसमाथि बाँधिदिनू।

6त्‍यसको शिरमा त्‍यो फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट लगाइदिनू।

7त्‍यसपछि अभिषेक गर्ने तेल लिएर त्‍यसको शिरमा खन्‍याई त्‍यसलाई अभिषेक गर्नू।

8अनि त्‍यसका छोराहरूलाई ल्‍याएर तिनीहरूलाई लबेदा पहिराइदिनू,

9र तिनीहरूका शिरमा फेटा लगाइदिनू। तब हारून र त्‍यसका छोराहरूलाई पटुका बाँधिदिनू। सदाको विधिद्वारा तिनीहरूले पूजाहारी पद पाउनेछन्‌। यसरी तैंले हारून र त्‍यसका छोराहरूलाई नियुक्त गर्नू।

10“त्‍यो बाछा भेट हुने पालको सामुन्‍ने ल्‍याउनू, र हारून र त्‍यसका छोराहरूले बाछाको शिरमा आफ्‍ना हात राखून्‌।

11त्‍यस बाछालाई परमप्रभुको सामुन्‍ने भेट हुने पालको ढोकाको अगाड़ि बलि गर्नू।

12तेरो औँलाले बाछाको रगतबाट केही लिएर वेदीका सीङहरूमा लगाउनू, र त्‍यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्‍याइदिनू।

13अनि तैंले आन्‍द्रा-भुँड़ी ढाक्‍ने सबै बोसो र कलेजाको मासु र दुवै मिर्गौला र तीमाथिको बोसो लिएर वेदीमा जलाउनू।

14तर बाछाको मासु र त्‍यसको छाला र त्‍यसको गोबरचाहिँ छाउनीदेखि बाहिर आगोमा जलाउनू। त्‍यो पापबलि हो।”

15“फेरि एउटा भेड़ा लिनू, र हारून र त्‍यसका छोराहरूले भेड़ाको शिरमा आ-आफ्‍ना हात राखून्‌।

16भेड़ालाई बलि गरी त्‍यसको रगत लिएर वेदीमा वरिपरि छर्कनू।

17त्‍यस भेड़ालाई टुक्रा-टुक्रा पारेर त्‍यसका आन्‍द्रा र खुट्टाहरू धोएर त्‍यसका टुक्राहरू र शिरसँगै राखिदिनू।

18त्‍यो सिङ्गै भेड़ा वेदीमा जलाउनू। त्‍योचाहिँ परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना भएको, आगोद्वारा चढ़ाइएको होमबलि हो।”

19“तैंले अर्को भेड़ा लिनू, र हारून र त्‍यसका छोराहरूले भेड़ाको शिरमाथि आ-आफ्‍ना हात राखून्‌।

20तब भेड़ालाई बलि गरेर त्‍यसको रगतबाट केही लिएर हारूनको दाहिने कानको र त्‍यसका छोराहरूका दाहिने कानका लोतीमा, र तिनीहरूका दाहिने-दाहिने हातका बूढ़ी औँला र दाहिने-दाहिने खुट्टाका बूढ़ी औँलामा लगाउनू। त्‍यसपछि रगत वेदीमा वरिपरि छर्कनू।

21अनि वेदीमा भएको रगत र अभिषेक गर्ने तेलबाट अलि-अलि लिएर हारून र त्‍यसका पोशाकहरू र त्‍यसका छोराहरूमाथि र छोराहरूका पोशाकहरूमाथि छर्कनू। यसरी त्‍यो, त्‍यसका छोराहरू र तिनीहरू सबैका पोशाकहरूसमेत पवित्र हुनेछन्‌।”

22“तैंले त्‍यस भेड़ाको बोसो र बोसेपुच्‍छर र आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र कलेजाको मासु र बोसोसमेतको दुवै मिर्गौला र दाहिने साँप्रो लिनू। (त्‍योचाहिँ नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा हो।)

23परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट एउटा रोटी र तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिएर

24ती सबै हारून र त्‍यसका छोराहरूका हातमा राख्‍नू। ती परमप्रभुको सामुन्‍ने डोलाइने बलिको रूपमा डोलाउनू।

25तब तिनीहरूका हातबाट ती लिएर परमप्रभुलाई मन पर्ने बास्‍नाको निम्‍ति होमबलिका साथ वेदीमा जलाइदिनू। यो परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको बलि हो।

26अनि हारूनका अर्पणको भेड़ाको ह्याकुलो लिएर परमप्रभुको सामुन्‍ने डोलाइने बलिको रूपमा डोलाउनू। त्‍योचाहिँ तेरो भाग हुनेछ।”

27“अर्पणको भेड़ाबाट हारून र त्‍यसका छोराहरूका निम्‍ति हुने डोलाएको ह्याकुला र चढ़ाइएको साँप्रो पवित्र गर्नू।

28हारून र त्‍यसका छोराहरूका निम्‍ति इस्राएलीहरूले सधैँ दिनुपर्ने भाग यही होस्, किनभने इस्राएलीहरूले आफ्‍नो मेलबलिहरूबाट परमप्रभुलाई चढ़ाउनुपर्ने भाग त्‍यही हो।”

29“हारूनका पवित्र पोशाकहरू त्‍यसका सन्‍तानहरूका निम्‍ति होऊन्, र तिनीहरू ती पहिरेर अभिषेक भई नियुक्त गरिऊन्‌।

30त्‍यसको सट्टामा पूजाहारी हुने छोरो भेट हुने पालमा पवित्रस्‍थानभित्र सेवा गर्नलाई आउँदा, सात दिनसम्‍म त्‍यसले ती पहिरोस्‌।

31नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा लिएर त्‍यसको मासु एक पवित्र ठाउँमा पकाउनू।

32त्‍यसपछि हारून र त्‍यसका छोराहरूले त्‍यस भेड़ाको मासु र डालोमा भएको रोटी भेट हुने पालको ढोकानेर खाऊन्‌।

33तिनीहरूलाई नियुक्त र पवित्र गर्नलाई जुन-जुन थोकद्वारा प्रायश्‍चित गरिएको थियो, ती तिनीहरूले खाऊन्‌। तर कुनै अन्‍य मानिसहरूले चाहिँ नखाऊन्, किनभने ती पवित्र हुन्‌।

34अर्पणको भेड़ाको मासु अथवा रोटीमध्‍येको केही बिहानसम्‍म उब्‍र्यो भने त्‍यो उब्रेको भाग आगोमा जलाइदिनू। त्‍यो नखानू, किनभने त्‍यो पवित्र हो।

35“तँलाई मैले दिएका सबै आज्ञाबमोजिम हारून र त्‍यसका छोराहरूलाई गर्नू। सात दिन लगाएर तिनीहरूलाई नियुक्त गर्नू।

36प्रायश्‍चितको निम्‍ति पापबलिको साँढ़े दिनहुँ तैंले चढ़ाउनू। जब वेदीको लागि प्रायश्‍चित गर्लास्, तब पवित्र गर्नका निम्‍ति त्‍यसलाई अभिषेक गर्नू।

37सात दिनसम्‍म तैंले वेदीको निम्‍ति प्रायश्‍चित गर्दैरहनू, र त्‍यसलाई पवित्र पार्नू। यसरी वेदी महा पवित्र हुनेछ। जे-जेले त्‍यो वेदी छोला त्‍यो पवित्र हुनेछ।”

38“अब वेदीमा दिनहुँ तैंले निरन्‍तर चढ़ाउनुपर्ने कुरो यही हो: दुई वटा एक वर्षका थुमा।

39एउटा थुमा बिहान चढ़ाउनू र अर्को बेलुकी।

40पहिलो थुमासित एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र अर्घ-बलिको निम्‍ति चाहिँ एक लिटर दाखमद्य चढ़ाउनू।

41अर्कोचाहिँ थुमा बेलुकी चढ़ाउनू, र त्‍यससँग बिहानको जस्‍तै अन्‍नबलि र अर्घबलि होस्‌। परमप्रभुको निम्‍ति मीठो बास्‍ना भएको, आगोद्वारा चढ़ाइएको बलि त्‍यो होस्‌।”

42“तिमीहरूका पुस्‍ता-पुस्‍ताका निम्‍ति परमप्रभुको सामुन्‍ने भेट हुने पालको ढोकानेर त्‍यो निरन्‍तरको होमबलि होस्‌। त्‍यही ठाउँमा म तँसित कुरा गर्नलाई तँसँग भेट गर्नेछु।

43इस्राएलीहरूसित म त्‍यहीँ नै भेट गर्नेछु, र त्‍यो पाल मेरो महिमाले पवित्र हुनेछ।

44“म भेट हुने पाल र वेदीलाई पवित्र गर्नेछु। हारून र त्‍यसका छोराहरूलाई पनि मेरो निम्‍ति पूजाहारी पदमा मेरो सेवा गर्नलाई पवित्र गर्नेछु।

45म इस्राएलीहरूका बीचमा वास गर्नेछु, र तिनीहरूका परमेश्‍वर हुनेछु।

46तिनीहरूका मध्‍यमा बस्‍न भनी तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्‌। म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ।”

>