1मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गराएर तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएका तिमीहरूले गर्नुपर्ने कुरा यी नै हुन्:
2छ दिनसम्म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्ति पवित्र हो। त्यो परमप्रभुको निम्ति शबाथ हो। कसैले त्यस दिन काम गर्यो भने त्यो मारिओस्।
3तिमीहरूका कुनै घरमा पनि शबाथमा आगो नफुक्नू।”
4मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो:
5आफ्ना बीचबाट परमप्रभुको निम्ति भेटी ल्याओ। राजीखुशीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्याओस्: सुन, चाँदी र काँसा,
6नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा, र बाख्राको भुत्ला,
7रातो रङ्गले रङ्गाएको भेड़ाका छाला, सीलका छाला, र बबुल काठ,
8प्रकाशको निम्ति तेल, र अभिषेक गर्ने तेलको निम्ति र सुगन्धित धूपको निम्ति मसला,
9एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू।
10“तिमीहरूमध्येका जति निपुण छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्:
11पवित्र वासस्थान र त्यसको पाल, पालका छत, अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू,
12सन्दूक र त्यसका डन्डाहरू, कृपा-आसन र छेक्ने पर्दा,
13टेबिल र त्यसका डन्डाहरू र त्यसका सबै पात्रहरू र उपस्थितिको रोटी,
14बत्तीको निम्ति सामदान र त्यसका दियाहरू, र बत्तीको निम्ति तेल,
15धूपको वेदी र त्यसका डन्डाहरू, अभिषेक गर्ने तेल, सुगन्धित धूप, पवित्र वासस्थानको ढोकाका पर्दा,
16होमबलिको वेदी र त्यसका काँसाको जाली, त्यसका डन्डाहरू र सबै पात्रहरू, काँसाको धुने बाटा, त्यसका खुट्टासमेत,
17चोकका पर्दाहरू र त्यसका खम्बाहरू र त्यसका आधारहरू, चोकको मूल ढोकाको निम्ति पर्दा,
18पवित्र वासस्थान र चोकका कीलाहरू र तिनका डोरीहरू,
19पवित्रस्थानमा सेवा गर्नका निम्ति बुनेका पोशाकहरू— हारून पूजाहारीको निम्ति पवित्र पोशाकहरू र पूजाहारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोशाकहरू।”
20तब इस्राएलका सारा समुदाय मोशाका सामुबाट बिदा भए।
21जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए।
22राजीखुशी मन भएका पुरुष र स्त्री दुवैले सबै किसिमका सुनका गहना ल्याए: पीन, कुण्डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए।
23जससँग नीलो, बैजनी, रातो धागो, मसिनो सूती कपड़ा, बाख्राका भुत्ला, रातो रङ्ग रङ्गाएका भेड़ाका छालाहरू, र सीलका छालाहरू थिए, ती ल्याए।
24चाँदी र काँसाका भेटी चढ़ाउने सबैले परमप्रभुको निम्ति भेटीको रूपमा ल्याए। जस-जसकहाँ सेवाको कुनै कामको निम्ति बबुल काठ थियो, त्यो तिनीहरूले ल्याए।
25आफ्ना हातले कातेका नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा हुने निपुण स्त्रीहरूले ती ल्याए।
26राजीखुशीसँग गर्न चाहने र दक्षता भएका स्त्रीहरूले बाख्राका भुत्ला काते।
27नायकहरूले एपोद र छाती-पातामा जड्नका निम्ति आनिक्स र अरू मणिहरू ल्याए।
28बत्ती, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला र तेल ल्याए।
29परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्ति मनमा इच्छुक भएका इस्राएलीहरूका हरेक स्त्री र पुरुषले राजीखुशीका भेटी ल्याए।
30तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेललाई बोलाउनुभएको छ।
31उहाँले तिनलाई परमेश्वरका आत्माले, सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पार्नुभएको छ।
32तिनले सुन, चाँदी, काँसामा कलापूर्ण आकार कोर्ने,
33र पत्थर काट्ने र जड्ने, काठ खोप्ने र सबै किसिमका कारीगरीका काम गरून् भन्ने ध्येयले हो।
34तिनले र दानका कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ।
35तिनीहरूले सबै किसिमका शिल्पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्ने काममा, सबै किसिमका शिल्पकारी र कलाकारका निपुण काम गरून् भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”