प्रस्‍थान 7:1-25 NNRV2012 - Bible AI

1तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, मैले तँलाई फारोको निम्‍ति ईश्‍वरतुल्‍य बनाएको छु, र तेरो दाजु हारून तेरो प्रवक्ता हुनेछ।

2म जे तँलाई हुकुम गर्नेछु तैंले त्‍यही बता, र तेरो दाजु हारूनले इस्राएलीहरूलाई त्‍यसको देशबाट जान देओस्‌ भनी फारोलाई भन्‍नेछ।

3तर म फारोको हृदय कठोर गराइदिनेछु। अनि मेरा चिन्‍हहरू र आश्‍चर्यकर्महरूको संख्‍या मिश्रमा बढ़ाउनेछु।

4तर फारोले चाहिँ तिमीहरूका कुरा सुन्‍नेछैन। तब म आफ्‍नो शक्ति मिश्रमाथि देखाउनेछु, र ठूलो इन्‍साफ गरीकन म मेरा दलहरू, अर्थात्‌ मेरा प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनेछु।

5जब म मिश्रमाथि आफ्‍नो हात उठाएर उनीहरूकै बीचबाट इस्राएलीहरूलाई निकालेर ल्‍याउनेछु, तब मिश्रीहरूले थाहा पाउनेछन्‌ कि म परमप्रभु रहेछु।”

6मोशा र हारूनले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभएबमोजिम तिनीहरूले गरे।

7फारोसित कुरा गर्दा मोशा असी वर्षका र हारूनचाहिँ त्रियासी वर्षका थिए।

8तब परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

9“फारोले तिमीहरूलाई ‘कुनै आश्‍चर्यकर्म देखाओ’ भन्‍दा, तैंले चाहिँ हारूनलाई भन्‍नू, ‘तपाईंको लहुरो लिएर फारोको सामु फ्‍याँकिदिनुहोस्, र त्‍यो साँप बन्‍नेछ।”

10तब मोशा र हारून फारोकहाँ गएर परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। हारूनले आफ्‍नो लहुरो लिएर फारो र उनका अधिकारीहरूका सामुन्‍ने फालिदिए, र त्‍यो साँप बन्‍यो।

11तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइपठाए, र ती मिश्रका जादूगरहरूले पनि आ-आफ्‍नो गोप्‍य सीपले त्‍यसै गरे:

12हरेकले आ-आफ्‍नो लहुरो फाल्‍यो, र त्‍यो साँप बन्‍यो। तर हारूनको लहुरोले उनीहरूका लहुरालाई निल्‍यो।

13तर फारोको हृदय कठोर भयो, र परमप्रभुले भन्‍नुभएअनुसार नै उनले तिनीहरूका कुरा सुनेनन्‌।

14तब परमप्रभुले मोशालाई भन्‍नुभयो, फारोको हृदय कठोर भएको छ। त्‍यसले मानिसहरूलाई जान दिँदैन।

15तँचाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्‍यसकहाँ जा। नील नदीको किनारमा त्‍यसलाई भेट्‌न उभिरहनू, र त्‍यो साँप बनेको लहुरो पनि हातमा लैजा।

16त्‍यसलाई यसो भन्‍नू, “परमप्रभु हिब्रूहरूका परमेश्‍वरले मलाई यसो भनेर तपाईंकहाँ पठाउनुभएको छ: ‘मेरा प्रजालाई उजाड़-स्‍थानमा मेरो आराधना गर्नलाई जान दे। तर तैंले अहिलेसम्‍म मानिनस्‌।

17यसकारण परमप्रभु भन्‍नुहुन्‍छ: म परमप्रभु हुँ भन्‍ने कुरा तैंले यसरी थाहा पाउनेछस्‌। हेर्, म नील नदीको पानी मेरो हातमा भएको लहुरोले हिर्काउनेछु, र त्‍यो रगत बन्‍नेछ।

18अनि नदीका माछा मर्नेछन्, र नदी साह्रै गन्‍हाएको कारण मिश्रीहरूले त्‍यसको पानी खान सक्‍नेछैनन्‌’।”

19फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर मिश्रमा जति पानी छ, अर्थात्‌ खोला, कुला र पोखरीका पानी रगत भइजाऊन्‌ भनी ती सबैमाथि तपाईंको हात पसार्नुहोस्‌।’ अनि तिनीहरू रगत हुनेछन्‌। मिश्रभरि भएको पानी, काठ अथवा ढुङ्गाका घड़ाहरूको पानीसमेत रगत हुनेछ।”

20तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्‍ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्‍मै पानी रगत भइहाल्‍यो।

21नील नदीका माछाहरू मरे, र नदी गन्‍हाउन लाग्‍यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्‌। मिश्रको सबै पानी रगत भयो।

22तर मिश्रका जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे। अनि परमप्रभुले भन्‍नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌।

23तब फारो फर्केर आफ्‍नो महल गए, अनि उनले यस कुराको ख्‍यालै पनि राखेनन्‌।

24सारा मिश्रीहरूले नीलको वरिपरि पानीको लागि खन्‍न लागे, किनभने नील नदीको पानी खान सकिँदैनथ्‍यो।

25परमप्रभुको प्रहार नदीमाथि सात दिन रह्यो।