1फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “गएर फारोलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे।
2तैंले तिनीहरूलाई जान दिइनस् भने म तेरो सारा देशलाई भ्यागुताहरू पठाएर सताउनेछु।
3अनि नील नदी भ्यागुताले भरिनेछ, र ती तेरो महल, तेरो सुत्ने कोठा, तेरो पलङ्ग, तेरा अधिकारीहरूका घर-घरमा र तेरा प्रजामाथि, र तेरा चुलाहरू र पीठो मुछ्ने आह्रीहरूमा आउनेछन्।
4ती भ्यागुताहरू तँ र तेरा प्रजाहरू, र तेरा सारा अधिकारीहरूमाथि पनि आउनेछन्’।”
5तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस्, र मिश्रभरि भ्यागुताहरू आऊन्’।”
6यसैले हारूनले आफ्नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्यागुताहरू निस्केर मिश्रदेशै ढाके।
7तर जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा त्यसै गरे, र मिश्रमा भ्यागुताहरू निकाले।
8तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए, र भने, “परमप्रभुसित बिन्ती गर, कि उहाँले म र मेरा प्रजाबाट भ्यागुताहरू लैजाऊन्, अनि परमप्रभुको निम्ति बलि चढ़ाउनलाई तिम्रा मानिसलाई म जान दिनेछु।”
9मोशाले फारोलाई भने, “हुकुम गर्नुहोस्, कुन बेला म तपाईं र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति बिन्ती गरूँ, र भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट नष्ट भएर जाऊन् र नील नदीमा मात्रै रहून्?”
10उनले भने, “भोलि।”
11भ्यागुताहरू तपाईं र तपाईंका घरहरू र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाबाट फर्केर जानेछन्, र केवल नील नदीमा मात्र रहनेछन्।”
12तब मोशा र हारून फारोकहाँबाट निस्केर गए। परमप्रभुले फारोमाथि पठाउनुभएका भ्यागुताहरूका बारेमा मोशाले पुकारा गरे।
13अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो। भ्यागुताहरू घर, आँगन र मैदानमा मरे।
14मानिसहरूले ती बटुलेर थुप्रो लगाए, र देश गन्हाउन लाग्यो।
15तर जब फारोले सबै शान्त भएका देखे, तब परमप्रभुले भन्नुभएझैँ उनले आफ्नो हृदय कठोर पारे, र मोशा र हारूनका कुरा सुनेनन्।
16फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्’।”
17तिनीहरूले त्यसै गरे। जब हारूनले लहुरो लिएर आफ्नो हात पसारेर जमिनको धूलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुना लागे। सारा मिश्रभरिको धूलो भुसुनै-भुसुना भयो।
18ती जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा भुसुना ल्याउन खोजे, तर सकेनन्। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे।
19तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्वरकै हात छ।” तर परमप्रभुले भन्नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्।
20फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो। त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे।
21मेरा प्रजालाई जान दिइनस् भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्।
22“‘तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्नेछस् कि म, परमप्रभु यस देशमा छु।
23यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्नता ल्याउनेछु। यो आश्चर्यपूर्ण चिन्ह भोलि हुनेछ’।”
24अनि परमप्रभुले त्यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो।
25तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू गएर यही देशभित्र आफ्ना परमेश्वरको निम्ति बलि चढ़ाओ।”
26तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्वरको निम्ति हामीले चढ़ाउने बलिदेखि मिश्रीहरू घीन मान्छन्। मिश्रीहरूकै आँखाका सामुन्ने उनीहरूले घीन गर्ने बलि हामीले चढ़ायौं भनेता उनीहरूले हामीलाई ढुङ्गाले नहान्लान्?
27हामी तीन दिनको बाटो गएर उजाड़-स्थानमा परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्ति हामीले बलि चढ़ाउनुपर्छ।”
28फारोले भने, “म तिमीहरूलाई उजाड़-स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति बलि चढ़ाउनलाई जान त दिनेछु, तर धेरै टाढ़ाचाहिँ नजाओ। अब मेरो निम्ति बिन्ती चढ़ाइदेओ।”
29मोशाले भने, “म तपाईंबाट बाहिर जानासाथ, फारो र तपाईंका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झीँगाका हूल हटून् भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्ति बलि गर्न जान नदिएर फारोले फेरि-फेरि छल नगर्नुहोला।”
30तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्ती गरे।
31अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे।
32तर यस पल्ट पनि फारोले आफ्नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्।