1ती दिनमा हेरोद राजाले मण्डलीका कति जनामाथि कठोर अत्याचार गर्न थाले।
2उनले यूहन्नाका दाजु याकूबलाई तरवारले मारे।
3यस कामले यहूदीहरू खुशी भएका देखेर पत्रुसलाई पनि पक्रने तरखर गरे। यो घटना अखमिरी रोटीका चाड़को समयमा भएको थियो।
4हेरोदले पत्रुसलाई गिरफ्तार गरेर झ्यालखानमा हालिदिए, र निस्तारचाड़पछि तिनलाई जनताका सामने ल्याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीका चार टोलीको जिम्मा लाइदिए।
5यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।
6हेरोदले तिनलाई बाहिर निकालिल्याउन खोजेकै रात, पत्रुस दुई वटा साङ्लाले बाँधिएर दुई जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अगिल्तिर उभिएर झ्यालखानको पहरा दिइरहेका थिए।
7अचानक प्रभुका एउटा स्वर्गदूत त्यहाँ देखा परे, र कोठरीमा ज्योति चम्क्यो। स्वर्गदूतले पत्रुसलाई कोखामा हिर्काए अनि “छिटो उठ” भनेर तिनलाई जगाए। तब साङ्लाहरू तिनका हातबाट फुस्केर खसे।
8स्वर्गदूतले तिनलाई भने, “लुगा लगाऊ, र जुत्ता लाऊ।” तब तिनले त्यसै गरे। उनले तिनलाई भने, “खास्टो ओढ़ेर मेरो पछिपछि लाग।”
9अनि तिनी निस्केर उनको पछिपछि लागे। स्वर्गदूतबाट गरिएको कुरो साँच्चीकै हो भन्ने तिनलाई थाहै भएन। तर दर्शन देख्दैछु भनी तिनले ठाने।
10जब पहिलो र दोस्रो पहरा-टोली नाघेर सहरमा पस्ने फलामे ढोकामा तिनीहरू पुगे, तब त्यो ढोका आफै तिनीहरूका लागि उघ्रियो, र तिनीहरू बाहिर निस्केर एउटा गल्लीको बाटो भएर गए, र तुरुन्तै स्वर्गदूत तिनलाई छोड़ेर गए।
11जब पत्रुसको होश खुल्यो तब तिनले भने, “अब मलाई साँच्ची नै थाहा भयो, कि प्रभुले आफ्ना दूत पठाउनुभएर हेरोद राजाको हातबाट, र यहूदीहरूले जे गर्न चाहन्थे ती सबैबाट मलाई छुटकारा दिनुभयो।”
12यो कुरा तिनलाई थाहा भएपछि, तिनी मर्कूस भनिने यूहन्नाकी आमा मरियमको घरमा गए। त्यहाँ धेरै जना जम्मा भएर प्रार्थना गरिरहेका थिए।
13तिनले ढोका ढकढक्याउँदा रोदा नाउँ भएकी नोकर्नी ढोका खोल्न आई।
14पत्रुसको सोर चिनेपछि त्यो खुशी भएर ढोकै नखोली भित्र दगुरेर गई “पत्रुस ढोकामा उभिरहेका छन्” भनी खबर दिई।
15तर तिनीहरूले त्यसलाई भने, “तँ बौलाही होस्।” तर त्यसले भनेकी कुरा साँच्चै हो भनी त्यसले जिद्दी गरी। तब तिनीहरूले भने, “त्यो उनको स्वर्गदूत होला।”
16तर पत्रुसले चाहिँ ढकढक्याइरहे। ढोका खोल्दा तिनलाई देखेर तिनीहरू छक्क परे।
17तिनले “चूप लाग” भनी हातले इशारा गरे, र प्रभुले तिनलाई कसरी झ्यालखानबाट बाहिर निकाल्नुभयो सो तिनीहरूलाई बताए। यी कुराको समाचार याकूब र अरू भाइहरूलाई दिनू भनेर तिनी बिदा भएर अर्कै ठाउँमा गइहाले।
18उज्यालो भएपछि पत्रुसलाई के भयो भनी सिपाहीहरूका बीचमा ठूलो हलचल भयो।
19हेरोदले तिनको खोजी गरेर पनि फेला नपार्दा, सिपाहीहरूको जाँच गरी तिनीहरूलाई ज्यानसजायको हुकुम गरे।
20हेरोद टुरोस र सीदोनका मानिसहरूसँग अत्यन्तै नाराज भएका थिए। तिनीहरू एक दल भएर उनीकहाँ आए, र राजाका भित्री कर्मचारी बलस्तससँग खुशामद गरेर मिलापको लागि बिन्ती गरे। किनकि तिनीहरूको देश अन्नको निम्ति राजाको देशमा निर्भर थियो।
21तोकिएको दिनमा राजकीय पोशाक पहिरेर हेरोद उनको सिंहासनमा बसे, र तिनीहरूलाई उनले भाषण दिए।
22मानिसहरू “यो त ईश्वरको बोली हो, मानिसको होइन!” भनेर कराए।
23तर परमेश्वरलाई महिमा नदिएकोमा त्यत्तिखेरै प्रभुका एउटा स्वर्गदूतले उनलाई प्रहार गरे, र स्याउँ-स्याउँ कीरा परेर उनको देहान्त भयो।
24तर प्रभुको वचन बढ्दै र फैलिँदैगयो।
25बारनाबास र शाऊल आफ्ना मिशन पूरा गरेर यरूशलेमबाट फर्के। तिनीहरूसँग मर्कूस भनिने यूहन्ना पनि गए।