1यो खैलाबैला थामिएपछि पावलले चेलाहरूलाई डाकिपठाए, र तिनीहरूलाई अर्ती दिए, र तिनीहरूसँग बिदा भई माकेडोनियातर्फ लागे।
2त्यहाँका इलाकाहरूमा गएर तिनीहरूलाई धेरै प्रोत्साहन दिएपछि तिनी ग्रीसमा गए।
3त्यहाँ तिनले तीन महिना बिताए। तिनी सिरियातर्फ जहाजद्वारा यात्रा गर्न लाग्दा यहूदीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेका हुनाले पावलले माकेडोनिया भएरै फर्कने निश्चय गरे।
4तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए।
5यिनीहरू अगाडि नै पुगेर हामीलाई त्रोआसमा पर्खिरहेका थिए।
6तब हामीचाहिँ अखमिरी रोटीको चाड़का दिनहरूपछि फिलिप्पीबाट जहाजमा यात्रा गरी पाँच दिनमा त्रोआसमा तिनीहरूकहाँ आयौं, र त्यहाँ सात दिन रह्यौं।
7हप्ताको पहिलो दिनमा जब हामी रोटी भाँच्नलाई जम्मा भयौं, तब पावलले चाहिँ भोलिपल्ट जाने इच्छा गरेका हुनाले, तिनीहरूसँग मध्यरातसम्म बातचीत गरिरहे।
8हामी भेला भएको माथिल्लो तलाको कोठामा धेरै बत्तीहरू थिए।
9युटिकस नाउँ भएको एक जना युवक झ्यालमा बसेको थियो। पावलले धेरै बेरसम्म कुरा गरिरहँदा त्यो गहिरो निद्रामा पर्यो र निद्राको वशमा परी त्यो तेस्रो तलाबाट खस्यो र त्यसलाई तिनीहरूले मृत अवस्थामा उठाए।
10तब पावल तल ओर्ले, र घोप्टो परी त्यसलाई अँगालो हाले र भने, “नघबराओ किनभने त्यो जीवितै छ।”
11तब तिनी माथि उक्ले अनि रोटी भाँचेर खाइसकेपछि बिहान उज्यालो नभइञ्जेल धेरै बेर बातचीत गरिबसे। त्यसपछि बिदा भए।
12अनि तिनीहरूले त्यस युवकलाई जीवित अवस्थामै लगे र धेरै सान्त्वना पाए।
13हामी अघिबाटै जहाजसम्म गयौं र जहाजमा चढ़ी हामी अस्सोस गयौं। हामी पावललाई त्यहाँ जहाजमा चढ़ाउन चाहन्थ्यौं। पावलले यस्तै बन्दोबस्त गरेर तिनी अस्सोससम्म पैदलै गएका थिए।
14अनि जब तिनले हामीलाई अस्सोसमा भेटे, हामीले तिनलाई जहाजमा चढ़ायौं, र मितिलेनेमा आयौं।
15त्यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्ट खियसको छेउमा आइपुग्यौं, र पर्सिपल्ट सामोसमा आइपुग्यौं। त्यसको अर्को दिन मिलेटसमा आयौं,
16एशियामा समय बिताउने विचार नभएको हुनाले तिनले एफिसस नपसी जाने निश्चय गरे। किनभने सम्भव भए पेन्तिकोसको दिन यरूशलेममै पुग्ने तिनले आतुरी गरिरहेका थिए।
17तिनले मिलेटसबाट एफिससमा मानिस पठाएर मण्डलीका एल्डरहरूलाई बोलाइपठाए।
18जब उनीहरू तिनीकहाँ आए तिनले उनीहरूलाई भने, “एशियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले समस्त समय तपाईंहरूका बीचमा कुन किसिमले बिताएँ सो तपाईंहरू जान्नुहुन्छ।
19पूर्ण नम्रतामा आँसु बगाउँदै, यहूदी षड्यन्त्रको परीक्षामा पनि मैले प्रभुको सेवा गरें।
20तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूका सामुन्ने घोषणा गर्नदेखि र घर-घरमा सबैका सामुन्ने तपाईंहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ।
21यहूदीहरूलाई र ग्रीकहरूलाई पश्चात्ताप गरेर परमेश्वरपट्टि फर्कनू र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नू भन्ने कुराको गवाही मैले दिएको छु।
22“अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेमतिर जाँदैछु, त्यहाँ मलाई के-कसो परिआउने हो सो म केही जान्दिनँ।
23यति मात्र जान्दछु, कि हरेक सहरमा कैद र कष्ट ममाथि परिआउँछ भन्ने पवित्र आत्माले मलाई गवाही दिनुहुन्छ।
24तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिनँ। यति मात्र चाहन्छु, कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ।
25“अब हेर्नुहोस्, म जान्दछु कि तपाईंहरूमध्ये सबै, जस-जसलाई मैले राज्यको प्रचार गर्दै हिँड़े, तपाईंहरूले मेरो मुख फेरि कहिल्यै देख्नुहुनेछैन।
26यसैकारण आजको दिन म तपाईंहरूलाई गवाही दिँदछु, कि म कसैको रगतको दोषी हुनेछैनँ।
27किनभने परमेश्वरको समस्त अभिप्राय तपाईंहरूलाई बताउन म पछि हटिनँ।
28तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्।
29किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्दा ब्वाँसाहरू तपाईंहरूका माझमा पस्नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्।
30तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्ने मानिसहरू उठ्नेछन्, जसले चेलाहरूलाई आफ्ना पछि लैजानेछन्।
31यसकारण यो सम्झेर होशियार हुनुहोस्, कि तीन वर्षसम्म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहें।
32“अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँका अनुग्रहको वचनमा सुम्पिदिन्छु, जसले तपाईंहरूलाई सुदृढ़ पार्न सक्छ, र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्छ।
33मैले कुनै मानिसको सुन, चाँदी, कि वस्त्रको लोभ गरिनँ।
34तपाईंहरू आफै जान्नुहुन्छ कि मेरा यिनै हातले मेरो आफ्नै र मेरा साथमा भएकाहरूको आवश्यकतालाई पूरा गरेका छन्।
35मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ,
36यति भनेर तिनले घुँड़ा टेके र उनीहरू सबैका साथमा प्रार्थना गरे।
37उनीहरू सबै रोए, र पावललाई अँगालो हालेर चुम्बन गरे।
38उनीहरूले फेरि कहिल्यै तिनको मुख देख्नेछैनन् भनी पावलले भनेका कुरामा तिनीहरूले ज्यादै शोक गरे। अनि उनीहरूले तिनलाई जहाजमा पुर्याए।