प्रेरित 4:1-37 NNRV2012 - Bible AI

1पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोल्‍दै नै थिए, पूजाहारीहरू, मन्‍दिरका कप्‍तान र सदुकीहरू तिनीहरूकहाँ आए।

2उनीहरू रिसाएका थिए, किनकि येशूमा पुनरुत्‍थान हुन्‍छ भन्‍ने कुरा तिनीहरूले मानिसहरूलाई सिकाउँदैथिए र घोषणा गर्दैथिए।

3तब उनीहरूले यिनीहरूलाई पक्रे, र भोलिपल्‍टसम्‍म थुनामा राखे, किनभने त्‍यस बेला साँझ परिसकेको थियो।

4तर वचन सुन्‍नेहरूमध्‍ये धेरैले नै विश्‍वास गरे, र विश्‍वास गर्ने मानिसहरूको संख्‍या प्राय: पाँच हजार भयो।

5भोलिपल्‍ट यिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू यरूशलेममा भेला भएका थिए।

6प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्‍जेन्‍डर र प्रधान पूजाहारीका परिवारका जम्‍मै त्‍यहाँ थिए।

7तिनीहरूले पत्रुस र यूहन्‍नालाई बीचमा खड़ा गराएर सोधे, “कुन शक्तिबाट अथवा कसको नाउँमा तिमीहरूले यो गरेका हौ?”

8तब पवित्र आत्‍माले भरिपूर्ण भएर पत्रुसले तिनीहरूलाई भने, “मानिसहरूका शासक र धर्म-गुरु हो,

9आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्‍यो कुन उपायले निको पारियो भनेर प्रश्‍न गर्नुहुन्‍छ भने,

10तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस्, कि तपाईंहरूले क्रूसमा टाँग्‍नुभएको र परमेश्‍वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्‍टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्‍ने निको भएर उभिएको छ।

11‘यो त्‍यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्‍कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’

12अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”

13जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन्‌ भनी थाहा पाए, तब तिनीहरू छक्‍क परे, र यिनीहरू येशूको साथमा रहन्‍थे भन्‍ने तिनीहरूले थाहा पाए।

14तर निको भएको मानिसलाई यिनीहरूसँग उभिरहेको देखेर तिनीहरूले केही बोल्‍न सकेनन्‌।

15यसैले यिनीहरूलाई महासभाबाट बाहिर जाने आज्ञा दिएर तिनीहरूले यसो भनी आपसमा मतो गरे,

16“यी मानिसहरूलाई अब हामीले के गर्ने हो? किनभने साँच्‍ची नै यिनीहरूबाट एउटा अचम्‍मको काम भएको छ भन्‍ने यरूशलेमका बासिन्‍दा जम्‍मैलाई प्रकट भइसकेको छ, र हामी यो इन्‍कार गर्न सक्‍दैनौं।

17तर यो कुरो जनतामा नफैलिओस्‌ भनी ‘फेरि यस नाउँमा कुनै मानिससँग तिमीहरू केही नबोल्‍नू’ भनी हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ।”

18अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्‍त येशूको नाउँमा नबोल्‍नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए।

19तर पत्रुस र यूहन्‍नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्‍वरको कुरा सुन्‍नुभन्‍दा तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरको दृष्‍टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्‌।

20किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍दैसक्‍दैनौं।”

21तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्‍काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्‍यसको निम्‍ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।

22किनकि जुन मानिस आश्‍चर्य कामद्वारा निको पारिएको थियो, त्‍यसको उमेर चालीस वर्षभन्‍दा बढ़ी थियो।

23छुटकारा पाएर तिनीहरू आफ्‍ना साथीहरूकहाँ आए, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए।

24जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्‍वरतिर आफ्‍ना सोर उचाली भने, “हे प्रभु, जसले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो,

25जसले पवित्र आत्‍माद्वारा आफ्‍ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्‍नुभयो,

25‘अन्‍यजातिहरू किन झोकिए, र मानिसहरूले व्‍यर्थका कुराहरू किन कल्‍पना गरे?

26परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’

27किनभने साँच्‍चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्‍तियस पिलातस दुवै जना, अन्‍यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए।

28त्‍यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो।

29अब हे प्रभु, तिनीहरूका धम्‍कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्‍न दिनुहोस्,

30र निको पार्नलाई तपाईंले आफ्‍नो बाहुली फैलाउनुहुँदा, आफ्‍ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्‍ह र आश्‍चर्य कामहरू होऊन्‌।”

31तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्‍प भयो, र तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र तिनीहरूले साहससित परमेश्‍वरको वचन बोले।

32विश्‍वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्‍माका भएका थिए, र तिनीहरूमध्‍ये एउटाले पनि आफ्‍नो धन-सम्‍पत्तिको केही थोक यो मेरो आफ्‍नो हो भनी भन्‍दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।

33ती प्रेरितहरूले बड़ो शक्तिसाथ प्रभु येशूका पुनरुत्‍थानको गवाही दिन्‍थे, र तिनीहरू सबैमाथि ठूलो अनुग्रह रहेको थियो।

34तिनीहरूमध्‍ये कसैलाई केही कुराको खाँचो पर्दैनथ्‍यो, किनकि जति जना जग्‍गा जमिन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर त्‍यसको मोल ल्‍याउँथे,

35र प्रेरितहरूका चरणमा राखिदिन्‍थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्‍यो, सो हरेकलाई बाँड़िदिन्‍थे।

36अब साइप्रस देशको लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास भनी नाउँ राखेका थिए (जसको अर्थ उत्‍साहको पुत्र हो),

37उनले आफ्‍नो जमिन बेचे र त्‍यो रकम ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>