1ती दिनमा जब चेलाहरूको संख्या बढ्दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए।
2तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन।
3यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं।
4तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं।”
5यो कुरा समूहका सबैलाई मन पर्यो र भेला भएका जम्मैलाई असल लाग्यो, र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी मत मान्ने निकोलाउसलाई छाने।
6तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्ने ल्याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्ना हात राखे।
7परमेश्वरको वचन बढ्दैगयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ़्यो। पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे।
8स्तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्मका काम र चिन्हहरू गरे।
9तर कोही-कोहीचाहिँ जो स्वतन्त्र-दलका सभाघरकाहरू (यसको नाम यही थियो), र कुरेनी, अलेक्जेन्ड्रिया, किलिकिया र एशियाका मानिसहरू थिए, तिनीहरूले खड़ा भई स्तिफनससँग वाद-विवाद गर्न लागे।
10तिनी जुन बुद्धिले र आत्माद्वारा बोल्थे, तिनीहरूले त्यसको सामना गर्न सकेनन्।
11तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लाए, “मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं।”
12तब तिनीहरूले जनता, धर्म-गुरु र शास्त्रीहरूलाई भड्काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्याए।
13तिनीहरूले यसो भन्ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्थान र व्यवस्थाको विरुद्धमा कुराहरू बोल्न छोड्दैन।
14किनभने यसले यसो भनेको हामीले सुन्यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।”
15महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्वर्गदूतको मोहड़ाजस्तै देखे।