1ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा फिलिप्पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्तहरूलाई:
2परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
3तिमीहरूप्रतिका मेरा सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु।
4तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु,
5कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवादी छु।
6मलाई यो दृढ़ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ।
7तिमीहरू सबैका निम्ति मैले यसो ठान्नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ।
8किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ, कि कसरी ख्रीष्ट येशूको प्रेमले म तिमीहरू सबैका निम्ति तृष्णा गर्दछु।
9मेरो प्रार्थना यही छ, कि ज्ञान र अन्तर्दृष्टिमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदैजाओस्,
10यस हेतुले कि जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक, र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक।
11परमेश्वरका महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ।
12भाइ हो, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, कि ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ,
13यहाँसम्म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ।
14धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्वरको वचन विनाडर बोल्नलाई झन् आँटिला भएका छन्।
15कसै-कसैले साँच्चै डाह र शेखीले, तर अरूहरूले सद्भावले ख्रीष्टलाई प्रचार गर्दछन्।
16सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्,
17तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछन्।
18जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्यमा ख्रीष्टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु।
19हो, म रमाउनेछु। किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ।
20मेरो उत्कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित् लज्जित हुनेछैनँ, तर ममा प्रशस्त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस्, अथवा जीवनद्वारा।
21किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो।
22यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्नुपर्ने हो, त्यो म भन्न सक्दिनँ।
23म त दोधारमा परेको छु। बरु बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ,
24तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ।
25यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्नेछु,
26यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।
27केवल तिमीहरूका जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ,
28र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्वरबाट हो।
29किनभने ख्रीष्टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ,
30र त्यही सङ्घर्ष जो तिमीहरूले ममा देख्यौ र मसँग छ भनी अहिले सुन्दछौ, त्यसैमा तिमीहरू लागेका छौ।