1हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, सहायताको लागि मेरो प्रार्थना तपाईंको समीप पुगोस्।
2मेरो सङ्कष्टको दिनमा आफ्नो मुहार मबाट नलुकाउनुहोस्। तपाईंको कान मतिर फर्काउनुहोस्, मैले पुकारा गरेको दिन मलाई तुरुन्तै जवाफ दिनुहोस्।
3किनभने मेरा दिनहरू धूवाँझैँ विलोप हुन्छन्, र मेरा हाड़हरू झरिला फिलिङ्गाजस्ता जल्छन्।
4मेरो हृदय घाँसझैँ ओइलिएर सुकेको छ, म आफ्नो भोजन खान पनि बिर्सिन्छु।
5मेरो गहिरो आर्तनादले गर्दा म हाड र छाला भइसकें।
6मरुभूमिको लाटोकोसेरोजस्तै भइसकें, भग्नावशेषमा वास गर्ने एउटा लाटोकोसेरोझैँ।
7अनिद्राले म जागा बस्छु, धुरीमाथिको एकलो चरोजस्तो भएको छु।
8मेरा शत्रुहरूले दिनभरि मेरो ठट्टा उड़ाउँछन्, मलाई दिल्लगीमा उड़ाउनेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन्।
9किनकि म खरानी भोजनझैँ खान्छु, र आँसु मिसिएको पानी पिउँछु।
10किनकि तपाईंको क्रोधले गर्दा तपाईंले मलाई माथि उचालेर एकापट्टि फालिदिनुभएको छ,
11मेरा दिनहरू बेलुकीको छायासमान छन्, म घाँसजस्तै ओइलिसकेको छु।
12तर तपाईं हे परमप्रभु, सदाको निम्ति सिंहासनमा विराजमान हुनुहुन्छ। तपाईंको कीर्ति पुस्ता-पुस्तासम्म रहन्छ।
13तपाईं उठ्नुहुनेछ र सियोनमाथि दया-दृष्टि दर्शाउनुहुनेछ, किनभने सियोनमाथि निगाह गर्ने समय अहिले नै हो, तोकिएको समय आइपुगेको छ।
14किनभने तपाईंका दासहरूले त्यहाँका ढुङ्गाहरूलाई माया गर्छन्, र त्यसका धूलाहरूलाई पनि तिनीहरू टिठ्याउँछन्।
15जातिहरू परमप्रभुको नाउँले भयभीत हुनेछन्, पृथ्वीका सबै राजाहरूले तपाईंका महिमाको आदर गर्नेछन्।
16किनभने परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ, अनि आफ्नो महिमामा उहाँ प्रकट हुनुहुनेछ।
17उहाँले दीन-हीनहरूको प्रार्थनाप्रति ध्यान दिनुहुन्छ, उहाँले तिनीहरूका निवेदनको उपेक्षा गर्नुहुन्न।
18अहिलेसम्म सृष्टि नगरिएका मानिसहरूले, परमप्रभुको प्रशंसा गरून् भनेर यो कुरा भावी पुस्ताको निम्ति लेखिओस्:
19“परमप्रभुले उच्च स्थानमा रहेको आफ्नो पवित्रस्थानबाट, स्वर्गबाट तल पृथ्वीमाथि दृष्टिपात गर्नुभयो,
20यसरी कैदीहरूका आर्तनाद उहाँले सुन्न सकून्, र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न सकून्।”
21यसरी सियोनमा परमप्रभुका नाउँको वर्णन गरिनेछ, र यरूशलेममा उहाँको प्रशंसा गरिनेछ,
22जब परमप्रभुको आराधना गर्नलाई मानिसहरू र राज्यहरू एकत्रित हुनेछन्।
23उहाँले मेरो जीवन-यात्रामै मेरो ताकत तोडिदिनुभयो, र मेरो आयु घटाइदिनुभयो।
24यसैले मैले भनें, “हे मेरा परमेश्वर, मलाई अल्प आयुमा नै नलैजानुहोस्। तपाईंका वर्षहरू त पुस्तौँसम्म रहन्छन्।
25आदिकालमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो, ⓒ र स्वर्ग तपाईंकै बाहुलीको कृति हो।
26तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुन्छ, तिनीहरू सबै वस्त्रझैँ थोत्रा भइजानेछन्। लुगा फेरेझैँ तपाईंले तिनीहरूलाई फेर्नुहुनेछ, र ती फालिनेछन्!
27तर तपाईं त एकैनासका हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य नै हुँदैन।
28तपाईंका सेवकहरूका सन्तान तपाईंको सम्मुख वास गर्नेछन्, र तिनका सन्तान तपाईंको सामुन्ने स्थिर रहनेछन्।”