भजनसंग्रह 104:1-35 NNRV2012 - Bible AI

1ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌। हे परमप्रभु मेरा परमेश्‍वर, तपाईं अति महान्‌ हुनुहुन्‍छ। तपाईं वैभव र ऐश्‍वर्यमा विभूषित हुनुहुन्‍छ।

2उहाँले प्रकाशलाई पोशाकझैँ पहिरनुभएको छ, उहाँले आकाशलाई पालजस्‍तै टाँग्‍नुभएको छ।

3उहाँले आफ्‍ना कोठाहरूका दलिनहरू पानीमाथि स्‍थिर गर्नुहुन्‍छ। उहाँले बादललाई आफ्‍नो रथ तुल्‍याउनुहुन्‍छ, र बतासका पखेटामाथि उहाँ सवार हुनुहुन्‍छ।

4उहाँले बतासलाई आफ्‍नो दूत, र आगोका ज्‍वालालाई आफ्‍ना सेवक तुल्‍याउनुहुन्‍छ।

5पृथ्‍वी कहिल्‍यै नडग्‍मगाओस्‌ भनेर त्‍यसलाई उहाँले जगमाथि स्‍थिर पार्नुभयो।

6तपाईंले त्‍यसलाई वस्‍त्रझैँ गहिरो समुद्रले ढाक्‍नुभयो, अनि पहाड़हरू माथि-माथिसम्‍म जल पुग्‍यो।

7तर तपाईंको खप्‍कीमा पानी भागिहाल्‍यो, तपाईंका गर्जनको आवाजमा त्‍यो तुरुन्‍तै हटिगयो।

8तपाईंले खटाउनुभएको स्‍थानमा जलराशि, पहाड़हरूमाथि उर्लंदै घाटी र बेँसीतिर झर्‍यो।

9पानीले फेरि पृथ्‍वीलाई नडुबाओस्‌ भनेर त्‍यसले नाघ्‍‌न नसक्‍ने सिमाना तपाईंले राखिदिनुभयो।

10उहाँले पानीका मूलहरूलाई खोल्‍सामा पानी खन्‍याउन लगाउनुहुन्‍छ, त्‍यो पानी पहाड़का बीचबाट बग्छ।

11तिनीहरूले मैदानका सबै जीवजन्‍तुलाई पानी दिन्‍छन्‌। जङ्गली गधाहरूले पनि आफ्‍नो तिर्खा मार्दछन्‌।

12तिनीहरूकै छेउछाउमा आकाशका चराहरूले आफ्‍नो गुँड़ बनाउँछन्‌, हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्‌।

13उहाँले आफ्‍नो उच्‍च स्‍थानबाट पहाड़हरूमा पानी बर्साउनुहुन्‍छ, उहाँका कार्यहरूका फलबाट पृथ्‍वी तृप्‍त हुन्‍छ।

14उहाँले गाईबस्‍तुका निम्‍ति घाँस, अनि मानिसहरूका निम्‍ति रूखपात उमार्नुहुन्‍छ, र जमिनबाट आहार ल्‍याउनुहुन्‍छ:

15मानिसको मन आनन्‍दित गराउनलाई दाखमद्य, र त्‍यसको अनुहार चहकिलो पार्नलाई तेल, र त्‍यसको हृदय बलियो तुल्‍याउनलाई रोटी उहाँले दिनुहुन्‍छ।

16परमप्रभुले लाउनुभएका वृक्षहरू र लेबनानका देवदारुहरूले मनग्‍य पानी पाएका छन्‌।

17त्‍यहाँ चराहरूले आफ्‍नो गुँड़ बनाउँछन्‌, सारसले चाहिँ सल्‍लाका रूखहरूमा आफ्‍नो घर बनाउँछ।

18अल्‍गा-अल्‍गा पहाड़हरू जङ्गली बाख्राहरूका निम्‍ति छन्‌, पहराहरू जङ्गली शापनहरूका निम्‍ति शरणस्‍थान हुन्‍छन्‌।

19चन्‍द्रमाले ऋतु ठहराउँछ, सूर्यलाई आफ्‍नो अस्‍ताउने बेला थाहा हुन्‍छ।

20तपाईंले अन्‍धकार ल्‍याउनुहुन्‍छ, र रात पर्छ, अनि वनका सबै पशुहरू निस्‍किआउँछन्‌।

21सिंहहरू आफ्‍नो शिकारको निम्‍ति गर्जन्‍छन्‌, तिनीहरूले परमेश्‍वरबाट आफ्‍नो आहार खोज्‍छन्‌।

22सूर्य उदाउँदा ती गइहाल्‍छन्‌, र आफ्‍नो ओड़ारमा गएर लेट्‌छन्‌।

23तब मानिस आफ्‍नो कामतिर जान्‍छ, र साँझसम्‍म परिश्रम गर्छ।

24हे परमप्रभु, तपाईंका कार्यहरू अनेक छन्‌, आफ्‍नो बुद्धिमा तपाईंले ती सबै रच्‍नुभयो। तपाईंले सृष्‍टि गर्नुभएका यावत्‌ थोकले पृथ्‍वी परिपूर्ण छ।

25त्‍यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगिन्‍ती जलचरहरू छन्‌, ठूला-साना दुवै थरीका जीवित प्राणीहरू त्‍यहाँ छन्‌।

26त्‍यहाँ जहाजहरू यताउता जान्‍छन्‌। त्‍यहाँ लिव्‍यातन्‌ जन्‍तु पनि छ, जसलाई तपाईंले त्‍यहाँ खेल्‍नलाई रच्‍नुभयो।

27तपाईंबाट आफ्‍ना आहारा ठीक-ठीक समयमा पाउनका निम्‍ति ती सबैले तपाईंतिरै हेरेर आशा राख्‍छन्‌।

28तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्‍छन्‌। तपाईंले आफ्‍नो मुट्ठी फुकाउनुहुँदा उत्तम पदार्थले तिनीहरू तृप्‍त हुन्‍छन्‌।

29तपाईंले आफ्‍नो मुहार छोप्‍नुहुँदा तिनीहरू भयभीत हुन्‍छन्‌। तपाईंले तिनीहरूको सास लिनुहुँदा, ती मरिहाल्‍छन्‌, र फेरि धूलोमा नै फर्कन्‍छन्‌।

30तपाईंले आफ्‍ना आत्‍मा पठाउनुहुँदा, तिनीहरूको सृष्‍टि हुन्‍छ, र तपाईंले पृथ्‍वीको रूपलाई नयाँ तुल्‍याउनुहुन्‍छ।

31परमप्रभुको महिमा सदा भइरहोस्‌, परमप्रभु आफ्‍ना कार्यहरूमा प्रसन्‍न होऊन्‌।

32तपाईंको दृष्‍टि पर्दा पृथ्‍वी कम्‍पायमान हुन्‍छ, तपाईंको स्‍पर्शमा मात्र पहाड़हरूबाट धूवाँ निस्‍कन्‍छ।

33मेरो जीवनभरि म परमप्रभुको भजन गाउँदैरहनेछु, म बाँचुञ्‍जेल मेरा परमेश्‍वरमा प्रशंसाको स्‍तुति गाउनेछु।

34मेरो चिन्‍तनमनन उहाँलाई मन परोस्‌, किनकि म परमप्रभुमा आनन्‍दित हुन्‍छु।

35तर पापीहरू पृथ्‍वीबाट विलोप भइजाऊन्‌, र दुष्‍टहरू फेरि कहिल्‍यै नरहून्‌। हे मेरो प्राण, परमप्रभुको स्‍तुति गर्‌। परमप्रभुको प्रशंसा गर्‌।

e>