भजनसंग्रह 106:1-48 NNRV2012 - Bible AI

1परमप्रभुको प्रशंसा गर। परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनकि उहाँ भला हुनुहुन्‍छ, उहाँको करुणा सधैँभरि रहन्‍छ।

2परमप्रभुको पराक्रमी कामहरूको बयान कसले गर्न सक्‍छ? उहाँको प्रशंसा सम्‍पूर्ण रूपले कसले घोषणा गर्न सक्‍छ?

3तिनीहरू धन्‍यका हुन्‌, जो न्‍यायमा चल्‍दछन्‌, जो सधैँ सदाचरण गर्दछन्‌।

4हे परमप्रभु, आफ्‍नो प्रजामाथि निगाह गर्नुहुँदा मलाई सम्‍झनुहोस्‌, तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्‌,

5र तपाईंका चुनिएकाहरूको सुख-शान्‍ति देख्‍न पाऊँ, र तपाईंका जातिको हर्षमा सहभागी हुन सकूँ, अनि तपाईंको उत्तराधिकारका मानिसहरूसँग मिली तपाईंको प्रशंसा गर्न सकूँ।

6हाम्रा पुर्खाहरूले जस्‍तै हामीले पनि पाप गरेका छौं। हामीले अपराध गरेका छौं, हामीले दुष्‍ट्याइँ गरेका छौं।

7हाम्रा पुर्खाहरूले मिश्रदेशमा छँदा तपाईंका आश्‍चर्यकर्महरूको ख्‍यालै गरेनन्‌, तपाईंको प्रशस्‍त करुणा तिनीहरूले सम्‍झेनन्‌, र लाल समुद्रको किनारमा तिनीहरूले सर्वोच्‍च परमेश्‍वरको विद्रोह गरे।

8तापनि आफ्‍नो महापराक्रम प्रकट होस्‌ भनेर, उहाँले आफ्‍नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो।

9उहाँले लाल समुद्रलाई हप्‍काउनुभयो, र त्‍यो सुकिहाल्‍यो। यसरी उहाँले तिनीहरूलाई मरुभूमिको बाटोजस्‍तै गरी गहिरो ठाउँबाट डोर्‍याएर लैजानुभयो।

10उहाँले तिनीहरूलाई शत्रुको हातबाट बचाउनुभयो, शत्रुको हातबाट तिनीहरूलाई छुटाउनुभयो।

11तिनीहरूका विरोधीहरूलाई पानीले छोप्‍यो, उनीहरूमध्‍ये एक जना पनि बाँचेन।

12तब तिनीहरूले उहाँका वचनमाथि विश्‍वास गरे, र उहाँको प्रशंसा गरे।

13तर तिनीहरूले चाँड़ै उहाँका कार्यहरू बिर्सिहाले, र उहाँका सल्‍लाहको प्रतीक्षा तिनीहरूले गरेनन्‌।

14उजाड-स्‍थानमा तिनीहरूले आफूलाई आफ्‍नो तृष्‍णाको वशमा सुम्‍पिए, र तिनीहरूले मरुभूमिमा परमेश्‍वरको परीक्षा गरे।

15यसर्थ तिनीहरूले मागेका कुरा उहाँले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा शिथिलताको रोग पठाइदिनुभयो।

16छाउनीमा तिनीहरू मोशासित र परमप्रभुमा अर्पण गरिएका हारूनसँग डाहा गरे।

17धर्ती फाटेर दातानलाई निल्‍यो, र अबीरामको दललाई पुरिदियो।

18तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्‍किउठ्यो, आगोको ज्‍वालाले दुष्‍टहरूलाई भस्‍म पार्‍यो।

19होरेबमा तिनीहरूले बाछा बनाए, र धातुको मूर्तिपूजा गरे।

20यसरी तिनीहरूले आफ्‍नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे।

21तिनीहरूले आफ्‍ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले मिश्रदेशमा महान्‌ कार्यहरू गर्नुभएको थियो,

22जसले हामको देशमा आश्‍चर्यकर्महरू, र लाल समुद्रको किनारमा भयङ्कर काम गर्नुभएको थियो।

23यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोशा उहाँको सामुन्‍ने खड़ा भए।

24तब तिनीहरूले सुन्दर देशलाई तुच्‍छ ठाने, तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्‌।

25तिनीहरू आफ्‍ना पालहरूमा गनगनाए, र परमप्रभुको आज्ञापालन गरेनन्‌,

26यसकारण तिनीहरूलाई उजाड-स्‍थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो,

27अनि तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपष्‍ट पार्छु, र तिनीहरूलाई देश-विदेशमा तितरबितर पार्छु भन्‍नुभयो।

28तिनीहरूले पोरको बाल देवताको पूजा गरे, र निर्जीव देवताहरूलाई चढ़ाएका बलिका थोकहरू खाए।

29तिनीहरूले आफ्‍ना दुष्‍ट कामले परमप्रभुलाई क्रोधित पारे, र तिनीहरूमा रूढ़ी फैलियो।

30तर पीनहास उठेर मध्‍यस्‍थता गरे, र यसैले रूढ़ी थामियो।

31अनि यो तिनको निम्‍ति पुस्‍तौँसम्‍म सदाको लागि धार्मिकता गनियो।

32तिनीहरूले मेरीबाका पानीको नजिक पनि परमप्रभुलाई क्रोधित तुल्‍याए, र तिनीहरूले गर्दा मोशाको खराबी हुन गयो।

33किनभने तिनीहरू परमेश्‍वरका आत्‍माको विरुद्धमा बागी भएका थिए, र मोशाको मुखबाट अनर्थ कुरा निस्‍के।

34परमप्रभुको आज्ञाअनुसार तिनीहरूले अन्‍यजातिहरूलाई नाश गरेनन्‌।

35तर तिनीहरू जाति-जातिहरूसँग मिसिए, र तिनीहरूका रीतिहरू अपनाए।

36तिनीहरूले उनीहरूका मूर्तिहरू पुजे, र ती तिनीहरूका निम्‍ति पासो बने।

37तिनीहरूले आफ्‍ना छोराछोरीहरूलाई भूतात्‍माहरूलाई बलि चढ़ाए।

38तिनीहरूले निर्दोषको रगत, अर्थात्‌ आफ्‍नै छोराछोरीहरूको रगत बगाए, जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्‍ति बलि चढ़ाए। र तिनीहरूको रगतले धरती अपवित्र भयो।

39यसरी तिनीहरू आफ्‍नै कामले अशुद्ध भए, र आफ्‍ना कामले गर्दा तिनीहरू व्‍यभिचारी बने।

40त्‍यसकारण आफ्‍नो प्रजामाथि परमप्रभुको क्रोध दन्‍क्‍यो, र उहाँले आफ्‍नो उत्तराधिकारका मानिसहरूलाई घृणा गर्नुभयो।

41अनि उहाँले तिनीहरूलाई अन्‍यजातिहरूका हातमा दिनुभयो, र तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे।

42तिनीहरूका शत्रुहरूले पनि तिनीहरूलाई अत्‍याचार गरे, र तिनीहरूलाई आफ्‍नो शक्तिको वशमा पारे।

43धेरै चोटि उहाँले तिनीहरूलाई छुटाउनुभयो, तर तिनीहरू आफ्‍नै विद्रोहपूर्ण युक्तिमा चल्‍दैगए, र तिनीहरू आफ्‍नै अधर्मले पतन हुँदैगए।

44तर उहाँले तिनीहरूको दुहाई सुनेर तिनीहरूको सङ्कष्‍टमा नजर फिराउनुभयो।

45तिनीहरूका खातिर आफ्‍नो करार उहाँले स्‍मरण गर्नुभयो, र आफ्‍नो प्रशस्‍त करुणाअनुसार दयालु हुनुभयो।

46तिनीहरूलाई कैद गर्नेहरू सबैका नजरमा तिनीहरूलाई दयाको पात्र बनाउनुभयो।

47हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌। तपाईंको पवित्र नाउँमा धन्‍यवाद चढ़ाऊन्‌, र तपाईंको प्रशंसामा गौरव गरून्‌ भनेर, हामीहरूलाई जातिहरूका बीचबाट एकत्र गर्नुहोस्‌।

48परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा अनादिदेखि अनन्‍तसम्‍मै भइरहोस्‌। र सबै मानिसहरूले भनून्‌, “आमेन।” परमप्रभुको प्रशंसा गर।

e>