1सबै सङ्कष्टमा परमेश्वर शरणस्थान [1] परमप्रभुमा धन्यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्छ, ⓤ उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
2परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनून्— जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर छुटाउनुभयो,
3तिनीहरू जसलाई देश-देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो।
4कोही मरुस्थलका उजाड-स्थान हुँदो अलमलिहिँड़े, र बसोबास गर्न पाउने कुनै सहरको मार्ग भेट्टाएनन्।
5भोक र प्यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो।
6तब तिनीहरूले आफ्नो दु:खमा परमप्रभुको दुहाई गरे, र उहाँले तिनीहरूलाई आपद्बाट छुटाउनुभयो।
7उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्याएर एउटा सहरमा पुर्याउनुभयो, जहाँ तिनीहरू बसोबास गर्न सके।
8तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्।
9किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ, र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ।
10कोही-कोही घोर अन्धकारमा बसे, कैदीहरू जो फलामका साङ्लाले बाँधिएर पीडामा थिए,
11किनभने तिनीहरूले परमेश्वरका वचनको विद्रोह गरेका थिए, र सर्वोच्चका सल्लाहको अवहेलना गरेका थिए।
12यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रममा पर्न दिनुभयो। तिनीहरू लोटे, तर तिनीहरूलाई गुहार गर्ने कोही भएन।
13तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो।
14उहाँले तिनीहरूलाई घोर अन्धकारबाट बाहिर ल्याउनुभयो, र उहाँले तिनीहरूका बन्धन टुक्रा-टुक्रा पारिदिनुभयो।
15तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्!
16किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्छ, र फलामे आग्लाहरू छिनालिदिनुहुन्छ।
17कोही-कोही आफ्नै विद्रोही चालले गर्दा मूर्ख बने, र आफ्नै अपराधको कारण विपत्तिमा परे।
18सब भोजनहरू तिनीहरूलाई अमन भयो, र तिनीहरू मृत्युको मुखसम्म पुगे।
19तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो।
20उहाँले आफ्नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्युको खाड़लबाट उकास्नुभयो।
21तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्।
22तिनीहरूले धन्यवाद बलि चढ़ाऊन्, र हर्षका गीतहरूमा उहाँका कार्यहरूको वर्णन गरून्।
23कोही-कोही जहाज चढ़ी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्यापारी थिए।
24तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरको गहिराइमा तिनीहरूले उहाँका आश्चर्य कार्यहरू देखे।
25किनभने उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चलाउनुभयो, जसले सागरका छालहरू उठाए।
26तिनीहरू आकाशसम्मै चढ़ेर गए, र फेरि सागरको गहिराइमा झरे, तिनीहरूको क्लेशमा तिनीहरूको साहस गलेर गयो।
27तिनीहरू मतवालाजस्तै रन्थनिएर धरमराउँदैथिए, र तिनीहरूको अक्कल गुम भयो।
28तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो।
29उहाँले आँधीलाई शान्त गराउनुभयो, र सागरका छालहरू स्थिर भए।
30आँधी शान्त भएपछि तिनीहरू खुशी भए, र उहाँले तिनीहरूले चाहेका बन्दरगाहमा पुर्याउनुभयो।
31तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्यका कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्।
32तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारीफ गरून्, र धर्म-गुरुहरूको सभामा उहाँको प्रशंसा गरून्।
33उहाँले नदीहरूलाई मरुभूमिमा बग्ने खोलालाई सुक्खा भूमिमा,
34र मलिलो भूमिलाई नूनको मरुस्थलमा परिवर्तन गरिदिनुभयो— त्यहाँ बस्ने मानिसहरूका दुष्टताको कारणले यसो भएको थियो।
35उहाँले मरुभूमिलाई तालहरूमा, र सुक्खा जमिनलाई बग्ने खोलाहरूमा परिवर्तन गरिदिनुभयो।
36परमप्रभुले भोकाएकाहरूलाई त्यहाँ बस्न ल्याउनुभयो, अनि तिनीहरूले आफू बस्नलाई एउटा सहर निर्माण गरे।
37तिनीहरूले खेतमा बीउ छरे र दाखबारी लगाए, जसले असल फसल उत्पादन गर्यो।
38उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, अनि तिनीहरूको सङ्ख्यामा धेरै वृद्धि भयो, र तिनीहरूका गाईबस्तुहरूलाई उहाँले घट्न दिनुभएन।
39अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको संख्या घट्यो र तिनीहरू होच्याइए।
40उहाँ जसले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्किहिँड्न दिनुभयो।
41तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपद्बाट उकास्नुभयो, र तिनका परिवारहरू भेड़ाका बथानझैँ बढ़ाउनुभयो।
42सोझाहरू यो देख्तछन्, र आनन्दित हुन्छन्, तर सबै दुष्टहरू आफ्ना मुख बन्द राख्छन्।
43जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र परमप्रभुको महान् करुणामाथि विचार गरोस्।